‘मिटरब्याजीविरुद्ध न्याय माग्दा सरकारले टाउको फुटायो’
प्रस्तुति : राजकरण महतो
सन्चै हुनुहुन्छ ?
ठीकै छ। हामी नवलपरासीमा मिटरब्याजीविरुद्ध निरन्तर आन्दोलन चलाइरहेका छौं। साहुले हड्पेर कब्जा गरेको हाम्रो जग्गामा हामी झण्डा गाडेका थियौ। प्रहरीले उखेलेको छ। हामी फेरि झण्डा गाड्न हिंडेका छौं।
तपाईंहरूसँग सरकारले पाँचबुँदे गरेको सम्झौता कार्यान्वयन भयो त ?
भएकै छैन। हामी जिल्लामा आन्दोलन गरिनै रहेका छौं। शनिबार आन्दोलनका लागि काठमाडौं आउने तयारीमा छौं। हाम्रो माग र मुद्दाको विषयमा गृहमन्त्री रवि लामिछानेलाई भेट गर्छौं। प्रधानमन्त्री र सरकारको न्यायाधिवक्तालाई पनि भेट्छौं।
सरकारसँग केके सम्झौता भएको थियो ?
नक्कली तमसुक सबै च्यात्ने, दृष्टिबन्धकमा राखेर साहुले कब्जा गरेको जग्गा किसानलाई फर्काउने, साहुले हामीसँग लिएको बढी पैसा पीडितलाई दिलाउने भनेर सरकारले सम्झौता गरेको थियो। मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाका कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउन पनि भनिएको थियो। तर, केही लागू भएन अहिलेसम्म। सरकारले गठन गरेको कार्यदलले मिटरब्याजीहरूलाई कारबाही गर्न कानुनको मस्यौदा तयार गरेर सरकारलाई बुझाएको सुनें। तर, यो हाम्रो पक्षमा छ कि फेरि साहुमहाजनको पक्षमा कानुन बन्दैछ। त्यसको हामी अध्ययन गर्छौं।
आन्दोलनमा तपाईंको त टाउको पनि फुटेको थियो नि है ?
भदौंको महिना। मिटरब्याजीविरुद्धको हाम्रो धर्ना कार्यक्रम ४३औं दिनमा पुगेको थियो। हाम्रो बसाइ कीर्तिपुरमा तर आन्दोलन गर्ने ठाउँ माइतीघर। आन्दोलनको ४१औं दिनमा चीनका भीआईपी आउँदै थिए। माइतीघर आउन नदिन बिहानै हामी बसेको ठाउँलाई प्रहरीले घेरा हालिसकेको थियो। हामी घेरा तोडेर अघि बढ्दा प्रहरी हामी माथि कुटपिट र बुट बजा¥यो। त्यसमा मेरो ठाउँको फुट्यो धेरै साथी घाइते भए। मेरो ठाउँकोमा पाँच टाँकासमेत लाग्यो।
- नवलपरासीको बर्दघाट–१४ सुस्ता पश्चिमका ३७ वर्षीय कुलबहादुर थापाको परिवारले काठमाडौंका साहु लालबहादुर खड्कासँग ७ वर्षअघि ४ लाख ऋण लिएका थिए।
- मिटरब्याजी खड्काले दृष्टिबन्धकको नाममा झुक्याएर पीडित थापा परिवारको ८० लाख पर्ने जग्गा पास गराए।
- थापाले ऋणको साँवा र ब्याज तिर्दै थिए तर मिटरब्याजी खड्काले सो जग्गा अर्को साहु अखलेशकुमार अग्रहरिलाई दृष्टिबन्धक गरी ७ लाख लिए।
- खड्काले अग्रहरिलाई तिरेनन्। त्यसपछि उनले अदालतमा मुद्दा हाले। र, साबिक थापा परिवारको जग्गा आफ्नो नाममा पारे।
- विदेशमा रहेका कुलबहादुर घर फर्किएपछि आफ्नो जग्गा मिटरब्याजीले झुक्याएर खोसेपछि उनी न्यायका लागि आन्दोलन गर्दै गाउँदेखि सिंहदरबारसम्म आइपुगे।
- ४५ दिनसम्म न्यायका लागि माइतीघरमा धर्ना बसे। तर, न्याय पाउनुको सट्टा सरकारले उनको टाउको फुटाएर पठायो।
- उनीजस्ता देशैभरिका मिटरब्याजी पीडितसँग सरकारले पाँच महिनाअघि पाँचबुँदे सहमति गर्यो तर कार्यान्वयन भएका छैन।
आन्दोलनमा दमन भएको थियो ?
प्रहरीको दमन भनौं या सरकारको दमन। जे होस् हामीमाथि दमन भएकै हो। हामी गरिब किसान, मजदुरका माग सरकारले सुनेको हो या नसुनेको हो ? हामीलाई त बस सरकारसँग आशा थियो। पीडित किसानलाई न्याय दिलाउँछन् कि भनेर हामी गाउँबाट राजधानी आएका थियौं। तर, सरकारले हाम्रो आशालाई निराशा बनाइदियो। सरकारले हाम्रो अभिभावकत्व निभाएन। उहाँहरूकै आशामा हामी गाउँबाट काठमाडौं आएका थियौं। पछि हामीसँग माग सम्बोधनका लागि सम्झौता ग¥यो। त्यो पनि लागू भएको छैन।
त्यसो भए संघर्षको कार्यक्रम चलिरहन्छ ?
अहिले हामी गाउँमा आन्दोलन गरिरहेका छौं। सरकारले हाम्रो माग पूरा नगरे गाउँदेखि सिंहदरबारसम्म फेरि आन्दोलन चर्काउँछौं। जबसम्म साहु (मिटरब्याजी)ले हामीसँग खोसेर लगेको हाम्रो जग्गाको लालपूर्जा फिर्ता दिँदैनन् तबसम्म हामी आन्दोलनबाट पछि हट्दैनौं। सरकारले अझै अटेरी गर्छ भने सरकारलाई हामी शान्तिपूर्ण आन्दोलन गरेर घुँडा टेकाउँछौं।
नयाँ आन्दोलन कस्तो हुन्छ ? सरकारसँग कस्तो माग छ ?
एकपटक सरकारलाई माग सम्बोधनका आग्रह गछौं। पूरा गरेन भने काठमाडौंको संसद् भवन अगाडि मार्च पास गर्छौं। सिंहदरबार पनि घेराउ गर्छाैं। साहुहरूले किसान मजदुरसँग खोसेको जमिन र हामीबाट बढी लिएको रुपैयाँ फिर्ता गराउनुपर्छ। झुक्याएर साहुले हामीबाट गराएको नक्कली सबै तमसुक च्यात्नुपर्छ। हाम्रा यी माग ठीक होइन् भने सरकारले छानबिन गरोस्। तर, मिटरब्याजीलाई सरकारले कानुनी कठघारामा उभ्यानै पर्छ।
तपाईको परिवार मिटरब्याजीको जालमा कसरी फस्यो ?
घरको आर्थिक स्थित निकै कमजोर थियो। आर्थिक स्थिति सबल हुन्छ कि भनेर कमाउन सन् २००६—२०१७ सम्म आउजाउ गरें। जब मेरो मिटरब्याजी साहुले सन् २०१७ मा साहुले जग्गा हड्पेपछि म विदेशबाट फर्किन बाध्य भएको थिएँ।
विदेश जाँदा ऋण लिनुभएको थियो ?
हामी गरिब मान्छे ऋणै लिएर जाने हो। पहिला ऋण लिएको सबै तिरिसकेको थिएँ। २०७२ तिरको कुरा हो, म विदेशमा रहँदा बुवाआमाले घर नजिकै रहेको १० धुर घडेरी किन्ने भन्नुभयो। घर भएको ३ कटठा घडेरी र खेत भाइले व्यपार गर्न बैंकमा राखेर ऋण लिइसकेको थियो। ससुरालीको ७ कट्ठाको लालपूर्जा बैंकमा राखेर ऋण निकाल्ने र घर नजिकैको घडेरी किन्ने परिवारिक सल्लाह भयो। पछि विदेशबाट कमाएर तिर्ने योजना बनाए। तर, जग्गा राखेर बैंकले ऋण दिएन।
अनि जग्गा किन्न कसरी रकम जुटाउनुभयो ?
घरकाले काठमाडौंको चन्द्रागिरीका लालबहादुर खड्कासँग ४ लाख ऋण लिए। उसले झुक्याएर १५ लाखको तमसुक गरायो। ९० लाखको ७ कट्ठा जग्गा दृष्टिबन्धक गरायो।
अनपढ ससुरा, बुवाआमालाई झुक्याएर उसले ल्यापचे लगायो। साहुले आफ्नो नाममा छिनुवा पास गरायो।
यो कुरा मलाई थाहा थिएन। मैले विदेशमा रातदिन पसिना बगाएर साँवा र ब्याज गरेर लगातार साहुलाई ३ लाख ९५ हजार तिरिसकेको थिएँ। दुई वर्षको भाका थियो। एक दिन श्रीमतीले फोन गरेर भनिन्, ‘साहुले त दृष्टिबन्धक भनेर बुवाआमासँग छिनुवा पास गराइसक्यो रे।’ म त झस्किएँ।
अनि के भयो ?
म घर फर्किने मनसाय बनाए। सन् २०१७ मा बिदा मिलाएर ससुरालीको जग्गा फिर्ता गराउन घर फर्किए। मालपोतमा गएर हेर्दा साहु लालबहादुरले अर्को साहु अखलेशकुमार अग्रहरिसँग ससुरालीको त्यो जग्गा दृष्टिबन्धक गरेर ७ लाख ऋण लिइसकेको रहेछ। उसले पनि ऋण नतिरेपछि साहु अखलेशले अदालतमा मुद्दा हालेर आफ्नो नाममा जग्गा ल्याएर असुल उपर गरेको सकेको थियो। त्यसपछि साहु लालबहादुरलाई फोन गरेर तपाईंको साँवा ब्याज कति भयो लिन आउनुस् भनें।
अनि साहुले के भन्यो त ?
केही जवाफ फर्काएन। साहुले आजभोलि भन्दाभन्दै एकाएक सम्पर्कविहीन भयो। बुवाआमाले ससुरालीको जग्गा निकालेर मात्रै विदेश जान भन्यो। इज्जतको सवाल छ। हामी फस्यौं, जसरी नै लालपूर्जा निकालेर दिनुपर्छ। म चार महिनाको बिदा मिलाएर आएको थिएँ। मैले साहुको खोजी गर्दै गर्दा विदेश फर्किन पाइनँ।
मिटरब्याजीविरुद्धको आन्दोलन कसरी सुरु भयो ?
२०७५ सालतिर साहुले फोन गरेर १७ लाख दिए मात्रै जग्गा फर्काउछु नत्र फर्काउदिनँ भन्यो। ‘म गरिब मान्छे त्यत्रो तिर्न सक्दिनँ’ भन्दा उसले ‘उसो भए तेरो जग्गा काठमाडौं बसीबसी बेचिदिन्छु। तैँले केही गर्न सक्दैनस्’ भन्यो। मैले भनें, ‘तपाईंले जे गर्नुहुन्छ गर्नुस्। म पनि गर्न सकेको गरौंला। जग्गा त हाम्रै हो पूर्जा मात्रै छैन’ यसैगरी जवाफ दिएँ। ठगी गर्ने साहुहरूको उपचार खोज्न थाल्यौं। हामी पीडितहरू एक भएर मिटरब्याजीविरुद्ध संगठित हुन थाल्यौं। अन्तः संघर्ष समिति बनायौं। पीडितहरूको बैठकले मलाई उपाध्य बनाइदियो। हामीले आन्दोलन गर्न थालेपछि जे होस् साहुलाई प्रहरीले पक्रेको छ। तर, जिल्लाबाट काठमाडौं गयौं। फेरि जिल्ला आयौं । तर, न्याय पाइएका छैनौं।
अब विदेशका कुरा गरौं, तपाईं विदेश जाँदा के काम लगायो ?
म खासमा लेवर क्लासमा साउदी गएको थिएँ। तर, त्यहाँ काम गर्दै जाँदा स्काफोल्डरको काम सिकें। सुरु–सुरुमा ग्यास प्लान्टमा काम गर्थें। साह्रै दुःख थियो। हेर्दै डर लाग्दो। ग्यास लिक हुँदा ज्यानको जोखिम। पछि स्काफोल्डिङमा पनि दुःख भयो। ५०÷६० मिटर माथि–माथि चढ्नुपर्ने।
श्रमिकसँग कस्तो व्यवहार गरिन्छ ? धेरै दुःख छ है ?
हामीलाई काम गर्न लान्छ। काम गर्न सकिएन भने नेपाल फर्कादिन्छ। कहिले धेरै गहिरो खाल्टोमा पसेर काम गर्नुपर्ने हुन्थ्यो। पहिरो गएर किचेर मरिन्छ कि भन्ने मनमा डर हुन्थ्यो। दुःखको त कुरै नगर्नुस्। श्रमिक भएर अर्काको देशमा गइसकेपछि कुकुरको व्यहार गर्छ। तर, के गर्ने मान्छेलाई बाध्यताले सब थोक गराउँछ। लेवरमा गएपछि जे काम पनि गराउँछ। गर्नैपर्छ। दुःख धेरै हुन्छ।
सरकारले देशमै रोजगारी दिएको भन्छ त ?
कहाँ हुनु। कुरा मात्रै हो। सबै सुविधा नेपालमा पाउने हो भने को मूर्ख जान्छ देश छोडेर ? सरकारले स्वदेशमा रोजगारी पनि दिँदैन। गाउँमा मर्दापर्दा सहजै गरिबले बैंकबाट कर्जा पाइँदैन। मिटरब्याजी साहुसँग ऋण लिए साँवाब्याजसँगै घरबार, जगाजमिन सबै खोसिदिन्छ। ताल परे जेल पनि हालिदिन्छ। उल्टै पुलिस, प्रशासन अदालत, नेता सब मिटरब्याजीको पछाडि लागेर ढाँकछोप गर्छन्। मिटरब्याजीविरुद्धको हाम्रो शान्तिपूर्ण संघर्षमा सरकारले पुलिस लगाएर दमन गरायो टाउको फुटायो। झण्डै ज्यान गएन। अब भन्नुस्, गरिब, मजदुरका लागि कहाँ छ न्याय ?
गाउँमा गरिब कसरी ठगिन्छ ?
साहुहरूसँग जुन बेला हामीले ऋण लियौं। त्यो बेला बैंक तथा वित्तीय संस्थाले हामीलाई लगानी नगरेको अवस्था थियो। त्यसपछि हामी साहुहरूसँग जानुपर्ने अवस्था थियो। साहुहरूले पनि मिठो बोलेर गाउँको चलनचल्ती ब्याजदरमा ऋण दिन्छौं भन्यो। तमसुक बनाउँदा निरक्षर बुवाआमालाई छलेर २ लाख लिएको ठाउँमा ८—१० लाखको तमसुक बनायो। ऋण लिएको भन्दा धेरैको नक्कली तमसुक बनायो। यसैगरी ठूलाठालुले गरिबलाई मारिरहेका छन्।
साहुहरूले कस्तो व्यवहार देखाउँछन् ?
अलिकति म्याद नाघ्यो कि धम्क्याउने, डर देखाउने, घरमा महिला दिदीबहिनीहरू मात्रै छन् भने यौन शोषण गर्न खोज्ने जस्ता काम गर्छन्। कति साहुले गरिबहरूलाईे निःशुल्क रूपमा खेतमा खेताला लगाउने, घरमा जे छ त्यही उठाएर लगिदिने, ऋण चुक्दा गर्दा पनि तेरो पैसा चुक्ता भएको छैन भन्दै सताउँछन्।
यसले कस्तो असर परेको छ ?
मेरै कुरा गर्नुस् न कमाउने मान्छे वर्ष दिन भयो न्यायका लागि भौतारिरहेको छु। गाउँदेखि काठमाडौंसम्म पुगेर संघर्ष गर्नुपरेको छ। बुवाआमा, छोराछोरीलाई बिहान बेलुकाको छाँक जुटाउन मुस्किल छ। मलाई दुःख छ। चारैतिरबाट व्यवहारले च्यापिसक्यो। यस्तो दुःख सबैलाई छ। जग्गाको लालपूर्जा फर्काकाउन नसक्दा ससुरालीले राम्रोसँग व्यवहार गर्दैन। पहिला जस्तो इज्जत पाइँदैन। सालोले मसँग राम्रोसँग नबोलेको ५-७ वर्ष नै भइसक्यो। खाएर, बेचेर उसलाई लथालिंग पारिदिएको पनि होइन, बाध्यताले यस्तो भयो। कतिले त साहुले धनमाल कब्जा गरेपछि पीडा थेग्न नसकेर आत्महत्यासमेत गरेका छन्। मिटरब्याजीले गरिबको जीवनै लुटिरहेको छ।
गरिबले ऋण किन लिन्छन् ?
धेरै जसो तराई भेगमा विदेश जानका लागि लिन्छन्। खेतीकिसानी गर्न अलि–अलि लिन्छन् छोराको विवाह गर्न अनि बच्चाहरूको पढाइका लागि कर्जा लिन्छन्। बिमार हुँदा ऋण लिन साहु कहाँ जान्छन्।
बैंकसँग ऋण लिँदा भइहाल्यो नि ?
निम्न वर्गीय किसान मजदुरहरूलाई बैंकले पत्याउँदैन। धितो दिँदा पनि ऋण दिनलाई गाह्रो मान्छ। तर, साहुमहाजनलाई सजिलै दिन्छ। साहुले हामीलाई ठगेर मिटरब्याजमा ऋण दिन्छन्। बैंक तथा वित्तीय संस्था र साहु मोटाउँछन्, गरिबहरूको उठिबास नै हुन्छ।
यस्तालाई कानुनले कारबाही गर्छ नि ?
भन्न त भन्छन् कानुन, अदालत प्रहरी, प्रशासन, सरकार छन्। तर, हामीलाई उनीहरूले चिन्दैनन्। भएर पनि के गर्नु धनीमानीकै कुरा सुन्छन्। अड्डा अदालत सबै बिकाउ हो। धनी पूँजीपतिहरूका लागि मात्रै हो, हामी गरिब किसानहरूका लागि होइन। हामी लड्दै जान्छौं । अदालतले जित अरुको (साहु) नै गराइदिन्छन्। हामीलाई यसै पनि पीडा दिन्छ। साहु महाजनलाई नै न्याय दिन्छ। यस्ता घटनाहरू भएको गाउँमा कति देखिसेका छौं।
अन्तमा तपाईंलाई केही भन्नु छ ?
न्याय प्राप्तिको आन्दोलनमा हाम्रो रगतको खोला बगिसकेको छ। सरकारले अनाहकमा हाम्रो रगत बगाएको संसारले देखेको छ। यो रगतको मूल्य त सरकारले एक दिन देख्ला नि। न्याय पाइन्छ भन्ने अझै पनि आशा छ। हेर्दै जाउँ कहिलेसम्म न्याय पाइन्छ। प्रहरीले हाम्रो टाउको फुटायो तर, त्यही मिटरब्याजीसँग जिल्लाका एसपी, डीएसपी, जनप्रतिनिधिसँग आनन्दले चिया, कफी खाएर बसिरहेका छन्। तर, हामी पीडितलाई जहिले पनि तल पार्न खोजिरहेका हुन्छ। हेरौं उहाँहरूले कहिलेसम्म हाम्रो आवाज दबाउनुहुन्छ। हामी यसै मरेका छौं, त्यसै मरेका छौं। न्याय निसाफ सरकारले नदिएसम्म आन्दोलन रोक्दैनौं।