कर्णाली राजमार्गको स्तरोन्नति कहिले

कर्णाली राजमार्गको स्तरोन्नति कहिले

कालीकोट : कर्णाली राजमार्गअन्तर्गत जुम्लाको तिला–३ त्रिवेणीमा बिहीबार अटो दुर्घटना हुँदा दुई जना यात्रीको मृत्यु भएको छ। अटो राजमार्गबाट १५ मिटर तल तीला नदीको छेउमा खस्दा एक जनाको घटनास्थलमै र अर्का यात्रीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भयो। 

२ चैत २०७१ मा सुर्खेत र जुम्लाबाट कालिकोटका लागि छुटेको ना४ख ४९७० नम्बरको बस राजमार्गको जुम्लाको रारालिहीमा दुर्घटना हुँदा १८ जना यात्रीको ज्यान गयो। १५ यात्री घाइते भए। कालीकोटको खाँडाचक्र नगरपालिकास्थित सेरावाडानजिक पर्ने बिर्तामोडमा भएको दुर्घटनामा चालकसहित २८ जनाको ज्यान गएको थियो। जुम्लाको रारालिहीमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जना दूधे बालकसहित १८ जनाको मृत्यु भएको थियो। जुम्ला सदरमुकामदेखि झन्डै २४ किलोमिटर पर रारालिहीमा ना ४ ख ४९७० नम्बरको यात्रुवाहक बस पल्टिएको थियो। 

५ चैत २०६६ मा कर्णाली राजमार्गको दैलेख जिल्लामा पर्ने किटुभीरमा अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटना भयो। कालिकोटको शुभकालिका गाउँपालिकास्थित जीते बजारबाट सुर्खेत जाँदै गरेको काक्रेविहार यातायात व्यवसायी समितिको ना ३ ख ५८६८ नं को यात्रुबाहक बस सडकबाट चट्टानमा ठोक्किएर कर्णाली नदीमा खस्दा ४१ जनाको घटनास्थलमै ज्यान गयो। ३७ जनाको शव भेटियो। ४ जना अझै बेपत्ता छन्। १० जना घाइते भए। 

कर्णाली राजमार्गमा दुर्घटना र यात्री मृत्युका यी त प्रतिनिधिमूलक घटना मात्र हुन्। २०६२ सालमा नेपाली सेनाले कर्णाली राजमार्गको दैलेख साइगाउँदेखि कालिकोटको राचुली छिडेनासम्म करिब ८८ किलोमिटर निर्माण गरेको थियो। सुर्खेतदेखि दैलेख खिड्कीज्यूलासम्मको १२६ किलोमिटर सडक विश्व बैंकको सहयोगमा सडक विभागले निर्माण गरेको हो। कर्णाली प्रदेश राजधानी सुर्खेतबाट साविकको कर्णाली अञ्चलका जिल्ला जोड्ने कर्णाली राजमार्ग निर्माणको दुई दशकमा यात्रीलाई सुविधाभन्दा बढी सास्ती बनेको छ। बर्सेनि हुने दुर्घटनाले राजमार्गलाई मृत्युमार्गका रूपमा चित्रण गर्न थालिएको छ। 

जिल्ला ट्राफिक कार्यालय कालिकोटका हवल्दार दलबहादुर बस्यालका अनुसार राजमार्ग सञ्चालन भएदेखि हालसम्म यात्रुबाहक बस, ट्याक्ट्र, मिनी टाटा, मिनी ट्रक, जीपलगायत साना ठूला गरी २ सयभन्दा बढी दुर्घटना भएका छन्। १ सयभन्दा बढी दुर्घटना कालिकोट खण्डमा मात्र भएका छन्। 

दैलेखमा र जुम्लामा पनि झन्डै १ सय दुर्घटना भएका छन्। हवल्दार बस्यालका अनुसार दुर्घटनामा २ सय ९ जनाभन्दा बढीले ज्यान गुमाएका छन्। २ सय ४३ जना घाइते भएका छन्। साँघुरो बाटो, मर्मत सुधारको अभाव, अत्याधिक मोड र पुराना गाडी र चालकको लापरबाही जस्ता कारणले धेरै दुर्घटना हुने गरेको ट्राफिक प्रहरीहरू बताउँछन्। १५ वर्षदेखि कर्णाली राजमार्गमा ट्रक चलाउँदै आएका चालक रमेश थापा सुर्खेतको कल्याणदेखि कालिकोट र जुम्लाको सिमाना नाग्म बजार नपुग्दासम्मको सडक निकै जोखिमयुक्त भएको बताउँछन्। जुन सडकमा दर्जनौं ठाउँहरूमा साँघुरा मोड, ठूल्ठूला पहिरो, 

चट्टानी भीरमा साँघुरो सडक, सडकमा परेका खाल्डाखुल्डी, हिलाम्मे सडक लगायतका कारण कर्णाली राजमार्गमा बढी दुर्घटना हुो अनुभव सुनाउँछन्। दैलेखको खिड्कीज्यूला यता दैलेखमा ९ किलोमिटर, कालिकोट खण्डमा पर्ने ७६ किलोमिटर र जुम्लामा पर्ने ३० किलोमिटर सडक खण्डको स्तरोन्नति नहुँदा यात्री जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

जुम्लादेखि कालिकोटको दही खोलासम्म डिभिजन सडक कार्यालय जुम्ला र सुर्खेतदेखि दही खोलासम्म डिभिजन कार्यालय सडक सुर्खेतको क्षेत्राधिकारमा पर्छ। सडक बिग्रेका ठाउँमा मर्मत गर्ने, पहिरो हटाउने र सानातिना काम गर्ने बाहेक यी कार्यालयहरूले ठोस काम केही गर्न सकेका छैनन्। 

राजमार्गको स्तरवृद्धि नभएकै कारण कर्णालीको आर्थिक, सामाजिक तथा पर्यटन विकास हुन नसकेको कालिकोटका पर्यटन व्यवसायी मनराज सिंखाडाले बताए। उनले भने, ‘सुन्दर त्रिवेणी पाटन, बढीमालिका, नेपालकै अग्लो पचालझरना लगायतका कालिकोटका पर्यटकीय स्थलहरू भ्रमण गराउन हामीहरूले सिम्रिक एयरको साथमा हवाई अवलोकन गराउने गरेका छौं। यहाँको नेतृत्वको पहुँच संघीय सरकारसम्म नपुग्दा कर्णाली राजमार्गको स्तरोन्नतिको कार्य ओझेलमा परेको छ।’

कर्णाली राजमार्गमा प्रायः ओभर लोडका कारण दुर्घटना बढी रहेको प्रदेश ट्राफिक कार्यालय सुर्खेतका इन्सपेक्टर भीमबहादुर खड्काले बताए। उनले भने, ‘साँघुरो सडक, ओभरलोड बोक्दा ब्रेक फेल हुने, ट्राफिकलाई छलेर ट्राफिक नियम उल्लंघन गर्ने, तीव्र गतिमा सवारी चलाउने, पुराना गाडीहरू कन्डिशन जाँच नगरी गुडाउने जस्ता कारण यो राजमार्गमा बढी दुर्घटना भएका छन्। यसलाई रोक्न ट्राफिक प्रहरीले सचेतना, निगरानी जस्ता कार्यहरू गर्दै आइरहेको छ।’ यातायातसँग सम्बन्धित सबै पक्षहरूले सचेत भएर ट्राफिक नियमको पूर्ण पालना गरी गाडी चढ्ने र चलाउने गर्ने हो भने दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ। 

कर्णाली प्रदेशसभा सदस्य यशोधा न्यौपाने पूर्णिमाको दुई लेनको कर्णाली राजमार्ग जतिसक्दो छिटो स्तरोन्नति गर्नुपर्ने सुझाव छ। अहिले कालिकोटदेखि नाग्मासम्मको सडक दुई लेनको बनाउन थालिएको छ। यो सडकसँगै मोड सुधार गर्नुपर्ने आवश्यक छ। सडक चौडा गर्न राष्ट्रियस्तरबाट बजेट प्राप्त गरी बहुवर्षीय ठेक्का लगाउनु पर्ने सम्बद्ध सरोकारवालाको जोड छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.