४७ वर्षपछि लालपुर्जा
धनकुटा : गाउँ ब्लकको नाममा कायम भएको जग्गाको लालपुर्जा ४७ वर्षपछि जग्गाधनीले पाएका छन्। २०३२ सालमा नापजाँचका क्रममा जमिनको स्वामित्व गाउँ ब्लकको नाममा राखिएपछि जिल्लाका ८३ जना जग्गाधनी लालपुर्जा पाउनबाट वञ्चित भएका थिए।
गाउँ ब्लक भनेर लेखिएको जग्गालाई पुनः नाप नक्सा गरी पुर्जा वितरण गर्ने भनेर नापी विभागबाट निर्देशन भएपछि नापी कार्यालय धनकुटाले २ वर्षअघि २०७७ सालमा गाउँ ब्लकको जग्गा पुनः नापजाँच गरी जग्गाधनीहरूलाई लालपुर्जा वितरण गरेको हो। जग्गाको लालपुर्जा पाउनेमा चौविसे गाउँपालिका–२ मुढेवासका ५५ जना जग्गाधनी छन् भने साँगुरीगढी गाउँपालिका–५ ओख्रे र तुंखा गरी २ गाउँका २८ जग्गाधनी छन्। ८३ जग्गाधनीहरूले न्यून २ आनादेखि ८ आनासम्म जग्गा पाएका छन्।
८३ जना जग्गाधनीहरूलाई लालपुर्जा वितरणसँगै धनकुटामा गाउँ ब्लकको नाममा जग्गा नभएको नापी कार्यालय धनकुटाका प्रमुख मिथिलेश यादवले बताए। उनका अनुसार चौविसे गाउँपालिका–२ मुढेवास ५५ घरधनीका ११ रोपनी १४ आना २ पैसा क्षेत्रफलको जग्गा र साँगुरीगढी गाउँपालिका ५ ओख्रे र तुंखाका २८ घरपरिवारको जग्गा गाउँ ब्लकको नाममा रहेको थियो।
पुस्तौंदेखि भोगचलन गर्दै आइरहे पनि आफ्नो नाममा लालपुर्जा नहुँदा विभिन्न समस्या भोग्दै आएका थिए। तर, अहिले जग्गाधनीको लालपुर्जा प्राप्त भएसँगै खुसी लागेको चौविसे गाउँपालिका–२ मुढेवासका मनमाया मगरले बताइन्। पहिले नै जमिनको स्वामित्व जग्गाधनीको नाममा हुनुपर्नेमा बल्ल आफ्नो नाममा हात पर्दा निकै खुसी लागेको साँगुरीगढी गाउँपालिका–५ का स्थानीय बलिकुमार याखाले बताए। आफू ५२ वर्षको हुँदा लालपुर्जा पाएको उनले बताए।
नापी कार्यालय धनकुटाले दुई चरणमा ८३ जना जग्गाधनीलाई लालपुर्जा वितरण गरेको हो। गत असार ३२ गते पहिलो चरणमा साँगुरीगढी गाउँपालिका–५ डाँडाबजारमा तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले २८ जना जग्गाधनीहरूलाई लालपुर्जा वितरण गरेकी थिइन्। त्यस्तै दोस्रो चरणमा पुस २० गते चौबिसे गाउँपालिका–२ मुढेवासमा आयोजित कार्यक्रममा ५५ जना जग्गाधनीहरूलाई लालपुर्जा वितरण गरिएको थियो।
२०२१ सालदेखि जग्गा हदबन्दी कायम गरिएसँगै नापजाँच कार्य सुरु गरिएको र २०३२ सालमा नापनक्सा सुरु गरिएपनि सिंगो बस्तीलाई नै गाउँ ब्लकको क्षेत्र कायम गरिँदा लालपुर्जा नपाएर स्थानीयलाई समस्या भएको थियो।
दुई वर्षअघि नापी कार्यालय धनकुटामा कार्यालय प्रमुख भए आइसकेपछि वर्तमान राष्ट्रिय भूमि आयोगका अध्यक्ष बलबहादुर राईमार्फत गाउँ ब्लकको जग्गा खोजतलास गरेको उनले बताए। उनका अनुसार जग्गा खोज्ने क्रममा स्थानीय जनप्रतिनिधि मार्फत चौविसे गाउँपालिकाको मुढेवास र साँगुरीगढी गाउँपालिकाका ओख्रे र तुंखामा कित्ता फेला परेको थियो। त्यसपछि खोजविनका लागि टोली गठन गरिएको थियो। त्यसपछि नियन्त्रण बिन्दु पत्ता लगाएर एक हप्ताभन्दा वढी स्थलगत रुपमा खटेर पहिलो चरणको काम सम्पन्न गरिएको थियो। उनका अनुसार त्यसपछि फिल्ड बुक कायम गर्दै नक्सा बनाइयो, श्रेस्तासँगै लालपुर्जा बनाइएको थियो। सबै काम सम्पन्न भइसकेपछि नापी विभागबाट चेकजाँच गराइ पुर्जा वितरण गर्न सफल भएको उनले बताए।