कृषकलाई स्याउ खेती सिकाउँदै स्थानीय तह
जोमसोम : मुस्ताङका कृषकले बर्सेनि स्याउ बिक्री गरेर ५ लाखदेखि करोडसम्मको आम्दानी लिने गर्छन्। यहाँका पाँच स्थानीय तहका झन्डै २० वटा वडामा स्याउ खेती गरिएको छ।
मुस्ताङमा दुई वर्षअघि परम्परागत स्याउ खेती गरिएको भएपनि पछिल्लो समय यहाँका कृषकले छिटो/छरितो र गुणस्तरीय उत्पादन दिने इटालीबाट आयात गरिएको उच्च घनत्व प्रविधिमा आधारित स्याउ खेती गर्न थालेका छन्।
कृषक, समुह, सहकारी र फार्महरूले खेर गइरहेका बाझो जग्गा र नदीक्षेत्र खुल्ला बगरमा समेत स्याउ खेती सुरु गरेका हुन्।
चालु वर्ष मुस्ताङमा ६ हजार ५९७ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। औसतमा यसवर्ष ५९ करोडको स्याउ बिक्री भएको छ।
यसैलाई मध्यनजर गर्दै वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले शनिबारदेखि कृषकलाई एकहप्ते स्याउ खेती सम्बन्धी तालिम सुरु गरेको छ। यसमा पालिकाका ५ वटै वडाका कृषक सहभागी छन्।
तालिममा स्याउ बोट काँटछाँट, स्याउ ग्राफटिङ र बगैंचा व्यवस्थापन लगायतका कुरा सिकाइने छ।