थरीथरी जातजाति र समुदायले नै नेपालको वैभव बढाएका हुन्। थरीथरी संस्कृति र परम्पराले मुलुकलाई सांस्कृतिक रूपमा समृद्ध बनाएका हुन्। तसर्थ कुनै जातजातिको महत्व कुनैको पनि दाँजोमा कम हुँदैन, बरु लोपोन्मुख संस्कृतिका धनी समुदायको महत्व झन् धेरै हुन्छ।
राउटे नेपालमा मात्रै भएको दक्षिण एसियाकै फिरन्ते समुदाय हो, जुन लोपोन्मुख छ, तसर्थ यसको अस्तित्व रक्षा आवश्यक छ। वनमा आ िश्रत र एकै ठाउँ स्थिरतापूर्वक नबस्ने यो समुदाय कर्णाली प्रदेशका सल्यान, सुर्खेत, जाजरकोट र दैलेखमा केन्द्रित छ। अकालमा ज्यान जाने प्रवृत्तिले यो समुदाय अस्तित्वको खतरामा देखिन्छ।
पछिल्लो अध्ययनअनुसार राउटे युवादेखि वृद्धवृद्धासम्मले अकालमा ज्यान गुमाइरहेका छन्। एक त एकै ठाउँ नबस्ने र खेतीपाती वा नियमित इलम या रोजगारी नगर्ने हुँदा राउटेहरूको खानेबस्ने नै ठेगान हुँदैन। तसर्थ नै उनीहरूको खानापान पोषणयुक्त छैन। त्यसमाथि नवजात शिशु, सुत्केरी, बिरामी वा वृद्धवृद्धाको गतिलो हेरचाह हुँदैन र अकालमा ज्यान जान्छ। युवाहरूचाहिँ अत्यधिक कमसल मदिराका लतमा छन्। त्यही उनीहरूको असामयिक मृत्युको कारण बनिरहेको छ। पछिल्लो पाँच वर्षमा राउटे समुदायका २९ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा १९ जना बालबालिका र १० जना वयस्क उमेरका छन्। बालमृत्युदर ५० प्रतिशत छ। यो डरलाग्दो तथ्यांक हो।
सरकारले हरेक राउटेलाई प्रतिव्यक्ति मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँछ। तर त्यही भत्ता उनीहरूले आत्मघाती रुपमा प्रयोग गरेको अध्ययनले देखाएको छ। त्यो पैसा उनीहरूले कमसल मदिरामा सक्ने गरेका छन्। लोपोन्मुख समुदायको रक्षार्थ पैसा बाँडेर हुँदैन र पैसा नै सबै समस्याको हल हो भन्ने शिक्षा यसले दिएको छ। वास्तवमा पैसा हुँदैमा, सबैले त्यसको सदुपयोगै गर्छन् वा गर्न सक्छन् भन्ने हुँदैन, यो त इतिहासले पटकपटक सिद्ध गरेको तथ्य हो। त्यसैलाई ख्याल गरी सरकारले राउटेलाई शिक्षा, स्वास्थ्य र इलमसँग जोड्नुपर्छ। तर, मूलप्रवाहीकरणका नाममा उनीहरूको मौलिकता भने मासिन दिनु हुँदैन। राउटेको रक्षार्थ त्यही उपायको खोजी आजको आवश्यकता हो।