केन्द्रमा सहमति, प्रदेशमा मुख्यमन्त्री
काठमाडौं/विराटनगर : सत्ता साझेदार दलको केन्द्रमा भएको सहमतिअनुसार तीन प्रदेशले मुख्यमन्त्री पाइसकेको छ। प्रदेश १ मा एमालेका हिम्मतकुमार कार्की, बागमती प्रदेशमा माओवादी केन्द्रका सालिकराम जमकट्टेल र गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका छन्। कार्की आइतबार र जमकट्टेल र अधिकारी सोमबार चुनिएका हुन्।
सत्ता साझेदार दलका शीर्ष नेताको बैठकले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीसहित शक्ति बाँडफाँटमा सहमति थिए। सहमतिअनुसार एमालेले ४, माओवादीले २ र जसपा र जनमत पार्टीबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति गरेका छन्। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री एमालेको भागमा छ भने बागमती र कर्णालीको मुख्यमन्त्री माओवादी केन्द्रको भाग छ।
मधेस प्रदेशमा जसपा र जनमतबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति छ। प्रदेश १, गण्डकी र लुम्बिनीमा एमालेले ५ वर्ष मुख्यमन्त्री चलाउने छन्।कर्णालीमा माओवादीले पूरै कार्याकाल मुख्यमन्त्री लिने सहमति भएको छ । बागमती र सुदूरपश्चिममा भने एमाले र माओवादी केन्द्रले आलोपालो गर्ने सहमति छ। लुम्बिनीको संसदीय दलको नेता लीला गिरी छन्। पुस २७ मा उनी मुख्यमन्त्री बन्दैछन्। कर्णालीमा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा छन्। एमालेका कार्की, अधिकारी र गिरी तथा माओवादी केन्द्रका शर्मा पाँचै वर्ष मुख्यमन्त्री हुनेछन्।
बागमतीमा पहिलो कार्यकाल माओवादीले मुख्यमन्त्री पाएको छ। सुदूरपश्चिममा एमालेले पहिलो कार्याकाल नेतृत्व गर्नेछ। बागमतीमा जमकट्टेलको पहिलो कार्यकालको लागि मुख्यमन्त्री भएका छन्। एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया छन्। दोस्रो कार्यकाल थपलिया मुख्यमन्त्री हुने भएका छन्। सुदूरपश्चिममा एमालेका संसदीय दलका नेता राजेन्द्रकुमार रावल छन्। सुपका माओवादी केन्द्रका खगराज भट्ट संसदीय दलका नेता छन्।
सुपमा भने नागरिक उन्मुक्ति पार्टीले साथ नदिएमा वर्तमान सत्ता गठबन्धनको सरकार बन्न गाह्रो छ। मधेसमा पहिलो चरणमा जसपा र दोस्रो चरणमा जनमत पार्टी मुख्यमन्त्री पाउनेछन्। जसपाका सरोज यादव पहिलो कार्यकाल मुख्यमन्त्री हुनेछन्। सोमबार मात्रै यादव जसपाका संसदीय दलको नेता चयन भएका हुन्। दोस्रो कार्यकाल जनमतका महेशप्रसाद यादव हुनेछन्। मधेसमा एमालेको २३, कांग्रेसको २२, जसपा १६, जनमतको १३ सांसद छन्।
मुख्यमन्त्रीसँगै प्रदेशका सभामुख उपसभामुखको पनि भागबण्डा भइसकेको छ। जसमा माओवादीले चारवटा प्रदेशको सभामुख पाएको छ भने एमालेले २ वटा र राप्रपाले एउटा प्रदेशको सभामुख पाएको छ। एमालेले मधेस र कर्णालीमा, माओवादीले प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा सभामुख पाउने भएको छ। त्यसैगरी, बागमतीको सभामुख राप्रपाको भागमा परेको छ।
प्रदेश १ र गण्डकीको उपसभामुख एमालेको भागमा परेको छ। माओवादी केन्द्रले बागमती र कर्णालीमा उपसभामुख पाउँदा लुम्बिनीको उपसभामुख राप्रपाले पाउने भएको छ। मधेसको उपसभामुख जनमतले लिने र सुदूरपश्चिमको उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई दिने सहमति भएको छ।
प्रदेश १ मा ४ सदस्यीय मन्त्रिपरिषद् विस्तार
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बू सरकारमा सहभागी भएका छन् । मुख्यमन्त्रीको शपथपछि प्रदेश प्रमुख पर्शुराम खापुङले नै अन्य मन्त्रीहरूलाई पनि पद तथा गोपनियताको शपथ गराए। हाल उनीहरूलाई कुनै जिम्मेवारी हस्तान्तरण गरिएको छैन।
यस्तो छ भागबन्डा
मुख्यमन्त्री
प्रदेश १ – एमाले
मधेस – जसपा–जनमत आलोपालो
बागमती – माओवादी–एमाले आलोपालो
गण्डकी – एमाले
लुम्बिनी – एमाले
कर्णाली – माओवादी
सुदूरपश्चिम – एमाले–माओवादी आलोपालो
सभामुख
मधेस र कर्णाली – एमाले
प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम – माओवादी
बागमतीमा –राप्रपा
उपसभामुख
प्रदेश १ र गण्डकी– एमाले
बागमती र कर्णाली– माओवादी
लुम्बिनी– राप्रपा
मधेस– जनमत
सुदूरपश्चिम– नागरिक उन्मुक्तिलाई प्रस्ताव