छात्राको मृत्युपछि शिक्षक पक्राउ

छात्राको मृत्युपछि शिक्षक पक्राउ

सिरहा : शुक्रबार मिर्चैया ६ स्थित सगरमाथा सेकेन्डरी स्कुलकी कक्षा ८ मा अध्ययनरत सिर्जना महरालाई कक्षामा पढाइ चलिरहेकै बेला पेट दुख्यो। शिक्षिका अम्बिका लम्साललाई पीडा सुनाइन्। शिक्षिकाले विद्यालयकै औषधिको बाकसमा रहेको सिटामोल दिइन्। सिर्जनाले औषधि खान पानी पनि मागिन्। नजिकै रहेको डिउको बोतल शिक्षिकाले हातमा थमाइन्। तर, खाएको केही समयमै सिर्जनालाई झनै गाह्रो भयो।

शिक्षिकाले पानी हो भनेको बोतलबाट फरक गन्ध आएको थियो। उक्त बोतल पानीको नभई स्प्रिटको भएकाले सिर्जनालाई झनै गाह्रो भएको र समयमा उपचार नपाउँदा निधन भएको उनका सहपाठी बताउँछन्। भन्छन्, ‘पानीको साटो स्प्रीट दिएकाले सिर्जनाको निधन भयो। समयमा अस्पताल पनि स्कुलले लगेन।’ सिर्जनाको अवस्था झनै बिग्रिन थालेपछि विद्यालयले अभिभावकलाई खबर गरेको थियो।

स्कुलबाट अभिभावकलाई केही हुँदैन पेट दुखेर औषधि दिएको भन्दै स्कुलकै गाडीमा सिरहा नगरपालिका ११ स्थित घर पुर्‍याइयो। त्यतिबेलासम्म साँझ परिसकेको थियो। 

सिर्जनाको अवस्था झन् खराब हुँदै गएपछि मिर्चैयास्थित एक क्लिनिकमा उपचारको लागि लगियो। त्यहाँ स्कुलका शिक्षकहरूलाई बोलाउँदा नआएको सिर्जनाका बुवा धर्मेन्द्र महरा बताउँछन्। त्यहाँबाट फेरी तत्कालै कर्जन्हाको फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचारका लागि लगियो। त्यहाँ सिर्जनाको उपचारकै क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

‘अस्पतालमा ल्याउँदा बिरामीको अवस्था नाजुक भइसकेको थियो। उनको आँखाको नानी स्थिर थियो। मुखबाट फिँज आइरहेको थियो। फोक्सो ह्वाइट आउट लङ भएको थियो,’ मेमोरियल अस्पतालका प्रमुख डा. श्याम साहले भने, ‘बिरामीमा अक्सिजन पनि पास भएन। हामीले भ्याएसम्मको प्रयास गर्दा पनि बचाउन सकेनौं।’ 

सिर्जनाका परिवारले शिक्षिका र विद्यालयको लापरबाहीका कारण छोरीको ज्यान गरेकाले दोषीलाई कारबाहीको माग गरेका छन्। मृतक सिर्जनाका बुबा धर्मेन्द्रले भन्छन्, ‘हामीलाई न्याय चाहिन्छ।’ यता प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ। 

‘घटनाबारे जानकारी पाउनासाथ सिर्जनाको उपचार भइरहेको अस्पतालमै प्रहरी पठाएर छानबिन गरिरहेका थियौं। उपचारका क्रममा उनको ज्यान गएको छ,’ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी सुवास बुढाथोकीले भने, ‘पीडित पक्षले कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराएको छ।’ 

मुद्दामा ५ जना आरोपितमध्ये प्रिन्सिपल प्रदीप तिवारी र शिक्षिका अम्बिका लम्साललाई पक्राउ गरिसकेको उनले जानकारी गराए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले सुनाए। सिर्जनाले सेवन गरेको तरल पदार्थ जाँचका लागि ल्याब पठाइएको छ। शवलाई पोस्टमार्टम गरी दाहसंस्कारका लागि परिवारजनलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ। 

विद्यालयको लापरबाहीका कारण सिर्जनाको मृत्यु भएको भन्दै आइतबार मिर्चैया बजार तनावग्रस्त थियो। उग्र भएका आन्दोलनकारीले टायर बालेर केही घण्टा पूर्व–पश्चिम राजमार्ग बन्द गराएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.