५२ वर्षको उमेरमा नै बितेका रहेछन् पृथ्वीनारायण शाह त !’
४० काटेको म। अवचेतन मनभित्र रहेको ‘युवा उमेर अनि त्यस समयमा हासिल गर्न सक्नुपर्ने लक्ष्य, त्यो बेलामा देश अनि समाजप्रतिको कर्तव्य’ आदि विषयप्रतिको द्वन्द्वभाव। हृदयभित्र रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रतिको सम्मानभावको संयुक्त अभिव्यक्ति थिए सायद ती शब्द। हुन पनि हो, १७७९ मा जन्मिएका पृथ्वीले १८३१ सालमै धर्तीबाट बिदा लिइसके। २० वर्षको उमेरमा राजा बनेका उनले ३२ वर्षको छोटो शासनकालमा हासिल गरेका उपलब्धि अनि गरेका योगदानलाई कदापि नजरअन्दाज गर्न मिल्दैन।
स्वास्थ्य विज्ञानले ठूल्ठूला उपलब्धि अनि प्रगति हासिल गरिसकेको आजको समयमा ५२ वर्ष भनौं या आधा शताब्दीको आयु त निक्कै नै छोटो हो। तर त्यत्ति छोटो जीवनकालमा उनले लिएको शत्संकल्प अनि सुरुआत गरेर आधाभन्दा बढी नै पूर्णतामा पुर्याइसकेको अभियानलाई कम आँक्न मिल्दैन। अहिले हामीले पाएको ‘नेपाल’रूपी राष्ट्र नै त्यही आधा शताब्दी जीवनको तपस्याको प्रतिफल नै हो।
हुन त कतिपय क्रान्तिकारी विद्वान्हरू उनलाई राष्ट्रनिर्माता मान्न अझै तयार छैनन्। उनलाई राज्यविस्तारक, क्रूरशासक या आततायीका रूपमा अवतरित गर्न खोज्नेहरू पनि नभएका होइनन्। तर त्यस समयको ऐतिहासिक परिस्थितिको वस्तुगत यथार्थतर्फ आँखा चिम्लिएर कुनै निचोडमा पुग्न सकिँंदैन। अनि खालि त्यो बेलाका राजाहरूले अवलम्बन गर्ने प्रक्रियामा रुमल्लिएर त्यो संघर्षबाट आजको समयमा प्राप्त यो महान् प्रतिफल बेवास्ता गर्न पनि त मिल्दैन।
विश्वको इतिहासलाई हेर्दा नै कुनै पनि राष्ट्रको निर्माण युद्ध नभइकन अनि बिनारक्तपात भएको उदाहरण नै छैन भने पनि हुन्छ। फेरि, तीन सय वर्षअघिको परिवेशलाई आजको समयसँग तुलना गर्न खोज्दा कत्तिको वस्तुपरक होला ? आज पनि आफ्नो राष्ट्र बनाउने या जोगाउने भनेर युद्ध नै त भइरहेका छन्। युक्रेन, प्यालेस्टाइन आदिको उदाहरण हाम्रै आँखाअगाडि नै छैनन् र ? दैनिक टेलिभिजन अनि पल—प्रतिपल अनलाइनमा तिनै दृश्य झुल्किने गरेका छैनन् र ? ती युद्ध सफल भएर ‘राष्ट्र’ बन्न सके भने ती देशका इतिहासहरूले ती युद्धवीरलाई सम्मान गर्न कञ्जुस्याइँ गर्लान् त ?
अनि हामी नेपालीमात्र किन यति बिघ्न कृतघ्न बन्ने ? पृथ्वीनारायणलाई उनको भागको सम्मान किन नदिने ? उनकै शब्दमा ‘साना दुःखले आर्जेको मुलुक होइन’ यो। पिता नरभूपालले हार खाएको नुवाकोट दोस्रो प्रयासमामात्र गाभ्न सके उनले गोरखामा। उनले तीनपटकको कठिन प्रयासमा कीर्तिपुर, थुप्रै कूटनीतिक अभियान चालेपछि मात्र मकवानपुर, साम—दाम—दण्ड—भेद सबै लगाए। चौकोट, पनौती, बनेपा, नाला, खड्पु, साँगा आदि काठमाडौं वरिपरिका ससाना राज्य जिते उनले।
पृथ्वीनारायणले थालेका एकीकरणको महाअभियानको आधारमा उनलाई ‘राष्ट्रनिर्माता’को रूपमा सम्मान गर्नु नेपालीको परम कर्तव्य हो।
भादगाउँ, पाटन, कान्तिपुरजस्ता मल्ल राजाको भाइभाइमा बाँडिएका काठमाडौंका राज्य अन्ततोगत्वा एउटै देशमा जोडे उनले। १८२५ सालमा ४६ वर्षको उमेरमा काठमाडौंलाई बृहत् देशको राजधानीका रूपमा स्थापित गरे उनले। जन्मभूमि भनौं या साबिक देशभन्दा आफूले कष्टसाथ युद्धमा जितेको राज्यलाई राजधानी मानेर त्यहीँको नेवा संस्कृतिलाई बिना हिच्किचाहट अंगीकार गर्ने पृथ्वीलाई विस्तारवादी या सामन्ती भन्न कसरी मिल्ला ? अलिकति चिन्तन गर्नुपर्ने विषय होइन र ?
पृथ्वीनारायणले त्यो एकीकरण अभियान नचालेका भए के हुन सक्थ्यो त ? तत्कालीन क्षेत्रीय परिवेशका आधारमा सम्भावित परिदृश्यहरूको आकलन गरौं त। इस्ट इन्डिया कम्पनी खोलेर भारत छिरेका बेलायती साम्राज्यवादी भारतलाई आफ्नो उपनिवेश बनाउन तम्तयार थिए। तिनले नेपालका बाइसे, चौबिसे आदिका रूपमा छरिएका करिब ५४ राज्यलाई एकएक गरी निल्ने नै थिए। इसाई, इस्लामी धार्मिक कट्टरपन्थीहरू धर्मप्रचार भनौं या जबर्जस्ती धर्मान्तरणको अभियानमा लागिरहेको समय थियो त्यो। सनातन धर्मावलम्बी हिमवत्खण्डको प्राचीनभूमि नेपाल पृथ्वीनारायणको अभियानमा एउटै देशरूपी मालाका रूपमा उनिन सकेको भए हाम्रो प्राचीन सभ्यता, सनातन संस्कृति अनि हिन्दू राष्ट्रको परिचय उहिले नै खोसिइसकेको हुने थियो।
पृथ्वीनारायणले थालेका एकीकरणको महाअभियानको आधारमा उनलाई ‘राष्ट्रनिर्माता’को रूपमा सम्मान गर्नु नेपालीको परम कर्तव्य हो। उनलाई त्यस कार्यका लागि प्रोत्साहित गर्ने गुरु गोरखनाथ, त्यस अभियानमा उनलाई साथ दिने कालु पाँडेजस्ता सेनापति, बिसे नगर्चीजस्ता नागरिक पनि सम्मानका बराबर हकदार हुन्। उनले दिएका दिव्योपदेशको संग्रह त आजपर्यन्त सान्दर्भिक नै छ। अतः उनको ५२ वर्षे जीवनचरित्र नेता÷युवाका लागि अवश्य नै प्रेरणादायी हुनेछ।