प्रदेश १ का मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत आज लिने भएका छन्। प्रदेशसभाको दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्।
नेपालको संविधान २०७२ को धारा १६८ (४) मा मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। गएको पौष २४ गते ६० जना सांसदहरुको समर्थनमा उनी प्रदेश १ सरकारको मुख्यमन्त्री नियुक्त भएका थिए।
नेकपा एमाले संसदीय दलका नेता कार्कीलाई एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थन छ। ९३ सदस्यीय प्रदेश सभामा एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरि ६० सांसद छन्। प्रतिपक्षमा भने नेपाली काँग्रेसका २९ र एकीकृत समाजवादीका ४ सांसद छन्।