प्रदेश १ का मुख्यमन्त्रीले लिए विश्वासको मत
विराटनगर : प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
प्रदेश सभाको प्रथम अधिवेशनको शुक्रबार बसेको चौथो बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएका हुन्। नेपालको संविधान २०७२ को धारा १६८ (४) बमोजिम उनले विश्वासको मत लिएका हुन्।
प्रदेशसभामा उपस्थित ९२ सांसदमध्ये ५९ जना सांसदले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिएका छन्। विश्वासको मतका लागि मुख्यमन्त्रीले सदनमा पेश गरेको प्रस्तावको विपक्षमा भने ३२ मत प्राप्त भएको छ।
मुख्यमन्त्रीको कार्कीले पाएको विश्वासको मत प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत भएकाले उनले राखेको प्रस्ताव बहुमतले पारित भएको छ। प्रदेश सभाको अर्को बैठक भने पौष ३० गते दिनको ११ बजेका लागि बोलाइएको छ।