सोलुखुम्बुका होटल, पसल मूल्यसूचीविहीन, ठगिंदै उपभोक्ता
सोलुखुम्बु : सोलुखुम्बुमा सञ्चालित अधिकांश होटल पसलमा मूल्यसूची नहुँदा उपभोक्ता ठगिने सम्भावना बढेको छ । जिल्लामा सञ्चालित अधिकांश होटल पसलहरुले मूल्यसूचीबिना नै आफूखुसी समाग्रीहरु बिक्री गर्दा उपभोक्ता ठगिने क्रम बढेको हो ।
उभोक्ता हित संरक्षण ऐन व्यवस्था भए पनि यहाँका अधिकांश होटल पसलहरुमा मुल्य सुची नहुँदा व्यापारीहरुले मनोमानी मूल्य लिने गरेका छन् । जसले उपभोक्ता हित संरक्षण ऐन नै कुण्ठित भएको उपभोक्ताहरुको गुनासो छ । जिल्लाको उद्योग वाणिज्य संघले मुल्य सुची निर्धारण गरी सबै साना उधोग, खाद्य स्टोर, किराना पसल, फेन्सी तथा कपडा पसल र होटलहरुमा वितरण गर्नुपर्ने भए पनि जिल्लामा उद्योग वाणिज्य संघ निस्कृय हुँदा लामो समयदेखि मुल्य सुची कायम गर्न नसकिएको हो ।
हाल सदरमुकाम सल्लेरी बजार क्षेत्रका पसलहरुमा समेत बिना मूल्यसूची खाद्यन्न तथा अन्य सामाग्रीहरु बिक्री भइरहेका छन् भने ग्रामीण भेगका सबै पसलहरुमा समेत मनोमानी रुपमा सामाग्री बिक्री भइरहेका छन् । जसले गर्दा एउटै सामानको मूल्य पसलपिच्छे फरक पर्न गएको उपभोक्ताको गुनासो छ ।
पछिल्लो समय खाद्यन्नदेखि अन्य किराना समाग्रीहरुको मुल्य घटबढ् भइरहे पनि मूल्य सुची कायम गराउने सवालमा उद्योग वाणिज्य संघ निरिह हुँदा उपभोक्ता मारमा छन् । जिल्लाको उद्योग वाणिज्य संघ निस्कृय हुँदा आफूहरुले लामो समयदेखि मूल्यसूची कायम गर्न नसकेको संघका सहसचिव महेश खालिङ राईले स्वीकार गरे ।
जिल्ला सदरमुकाममा पर्ने सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा समेत मूल्यसूची छैन भने थुलुङ दुधकोशी, नेचासल्यान, माप्दुधकोशी, सोताङ, महाकुलुङ, लिखुपिके र खुम्बु पासाङ ल्हामु गाउँपालिका क्षेत्रको पसल तथा होटलहरुमा मूल्यसूची नभएको सम्बन्धीत पालिकाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार अनुगमन गर्दा मूल्यसूची जिल्लाको कुनै पनि होटल पसलहमा मुल्य सुची नभएको पाइएपछि तत्काल मूल्यसूची राख्न व्यवसायीहरुलाई निर्देशन दिइएको छ ।
यदि निर्देशनको अवज्ञा गरे उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही गरिने सहयाक प्रमुख जिल्ला अधिकारी सिता अधिकारीले बताइन् । प्रशासन उपभोक्ता हित संरक्षण गराउने सवाललमा निर्मम ढंगले अघि बढेकाले अटेर गर्ने व्यवसायी उपर चुप लागेर नबस्ने चेतावनी समेत दिइएको छ ।