सिनेमाको यात्रा मुकदेखि डिजिटलसम्म
अहिले सिनेमा डिजिटलको भाषा मात्र बुझ्छ, अन्य कुरा नेपथ्यमा गइसके। तर सिनेमाले कथा बोक्न र कथा बाँच्ने परम्परा पुरानै छ।
नेपालमा सिनेमा प्रदर्शन भएको ७३ वर्ष पूरा भयो। २००६ मंसिर पहिलो सातादेखि नेपालमा जनता जनार्दनलाई सिनेमा हेर्ने वातावरण बनेको थियो। नेपालमा सिनेमा प्रदर्शन हुनुभन्दा ५५ वर्षअघि संसारमा पहिलोपटक पृथ्वीमा पहिलोपटक सिनेमा देखाइएको थियो। त्यो फ्रान्सको पेरिसस्थित ग्र्यान्ड क्याफेको बेसमेन्टमा।
पृथ्वीतलमा सिनेमा देखाइएको पहिलो घटना यही डिसेम्बर महिनाको २८ तारिखमा भएको थियो। डिसेम्बर महिनाका यी दुई घटनाले हामीलाई सिनेमाको अद्वितीय इतिहाससित जोड्छ।
यो फरक कुरा हो।
फ्रान्समा प्रदर्शन भएको पहिलो फिल्म लुमाएर बन्धुको ‘अ ट्रेन अराइभल टु स्टेसन’ हाम्रो छिमेकी मुलुक भारतको मुम्बईमा प्रदर्शन हुने साइत एक वर्षपछि जुर्यो। मुम्बईको वाट्सन होटलमा देखाइएको त्यो विश्वको पहिलो सिनेमा हेर्न नेपालका राणा कुलका केही धनाढ्य पनि भारत पुगेका थिए तर को को गएका थिए त्यसको लिखत भेटिँदैन।
विश्वको पहिलो सिनेमा
अगस्टे लुमाएर र उनका भाइ लुई लुमाएरले बनाएको पहिलो सिनेमा ५८ सेकेन्डको थियो। यसमा रेलबाट मान्छे ओर्लेर कामकाजतिर जाँदै गरेको दृश्य थियो। यो गुड्दै गरेको रेल आएर स्टेशनमा रोकिने दृश्य खिच्न लुमाएर बन्धुले इटालीको एउटा चिप्लोढुंगा भएको पहाड छानेका थिए। किनकि रेल खरर गुडेर त्यहाँ पुग्नुपर्ने थियो।
विशाल रेललाई खिच्न त्यतिबेलाको किनेटोस्टोको (क्यामेरा) राखिएको थियो। यो दृश्यपछि कार्टुनको रूपमा पत्रिकामा पनि छापियो, सानो बिरालोले ठूलो बाघलाई ताक्दै भनेर। लुमाएर बन्धुले इटालीको डाँडामा खिचेको त्यो सिनेमालाई पछि अ ट्रेन अराइभल इन स्टेसन नाम दिइयो।
एक मिनेट पनि लामो नभएको त्यो सिनेमा मूक चलचित्र थियो। यसको प्रथम प्रदर्शन फ्रान्सको पेरिसस्थित ग्य्रान्ड क्याफेको बेसमेन्टमा देखाइएको थियो। यो सिनेमाको प्रदर्शन भएपछि विश्वभरि तहल्का मच्चियो। त्यो तहल्काले नेपाललाई त्यति छोएन, जति अन्य संसारलाई छोयो।
बेलायत, अमेरिका, जर्मनी, रूस, इटाली, हंगेरी आदि मुलुकलाई घच्घच्यायो। विश्वको पहिलो सिनेमा प्रदर्शन भएलगत्तै अमेरिकामा सिनेमाको सम्भावनाबारे काम गरिरहेका एडिसन कम्पनीले आफ्नो नयाँ प्रविधि आविष्कार गरेर त्यसलाई किनेटोस्कोपबाट नयाँ ढंगमा लग्यो। एडिसन कम्पनी पछिबाट एबीसी नामबाट प्रख्यात भयो। यसका स्वामी थोमस एल्बा एडिसनले अमेरिकन बायोग्राफ कम्पनी नाम राखेर सुरु गरेको यो कम्पनीले विविध विधाका छोटाछोटा सिनेमा बनाउन थाले।
यसै कम्पनीबाट थोमस एच इन्क, मार्क सिनेटजस्ता चलचित्रकर्मी अगाडि आए। मार्क सिनेटकै अग्रसरतामा पछि चार्ली च्याप्लिनजस्ता सिनेकर्मीले आफ्नो अभिनय र निर्देशनलाई अघि बढाए। लुमाएर बन्धुको फिल्म प्रदर्शनपछि फ्रान्समै जर्ज मेलिये आए, उनले सन् १९०२ मा विभिन्न रहस्यमय फिल्म बनाए।
सन् १९१० सम्म आइपुग्दा सिनेमाको बजार कहाँ हुने हो निश्चित थिएन। त्यो रूस, फ्रान्स, जर्मनी, अमेरिकाको वरिपरि नै घुम्दै थियो। यतिबेलासम्म सिनेमाले भाषाको मान्यता पाइसकेको थिएन, सिनेमा मूक थियो।
सिनेमामा भाषाको प्रयोग हुने कुराले रूस त्रसित थियो भने आवाज राम्रो नभएका कलाकारहरू काम नपाउने डरले आत्तिन थालेका थिए। यसै क्रममा सन् १९२६ मा सिनेमामा ध्वनि प्रयोग सुरु भयो।
पहिलो बाइस्कोप
सिनेमामा ध्वनिको प्रयोग सन् १९२६ मा एलन क्रसल्यान्डको द ज्याज सिंगरमार्फत भयो। उनैले पहिलो पटक १०६ टुक्रा फिलामोर्निक ध्वनि प्रयोग गरेर मूक चलचित्रलाई ‘सवाक’ चलचित्र बनाए।
सिनेमामा भ्वाइस अर्थात् ध्वनिको प्रयोग भएपछि यो अझै थप रोचक विषय भयो।
नेपालबाट युद्धमा गएका सेनाका जवानहरूले भ्वाइस भएको सिनेमालाई नेपालीकरण गरेर भाइस्कोप नामकरण गरे। जिभ्रोमा बोकेर ल्याए। अहिले पनि पहाडघरतिर सिनेमालाई त्यही कारण बाइस्कोप भन्ने चलन छ।
क्रसल्यान्डको द ज्याज सिंगरले दृश्य र ध्वनिलाई जोडेपछि स्वतः सिनेमामा अंग्रेजी भाषाको दबदबा बढ्यो। सिनेमाको बजार स्वतः अमेरिकाको लस एन्जेल्समा सर्यो। जहाँ पछि हलिउड बन्यो।
हलिउड सिनेमा उद्योग आएपछि फिल्महरू लामो लामो समयको, ठूल्ठूला कलाकारको, घना बजेटको आकारमा बन्न थाल्यो। फिल्म विस्तारै फर्मुुलामा बाधिँदै गयो, सबै काम स्टुडिओभित्र हुन थाल्यो। कलाकारलाई स्टुडिओ बाहिर ल्याउन धेरै गाह्रो पर्यो। यो परम्परा पछि इटालीका रोबर्ट रोजिलिनीले तोडे।
रोजिलिनीले सन् १९२० मा रोम ओपन सिटी बनाएर नवयथार्थवादी सिनेमाको धार ल्याए। त्यसपछि यसै धारलाई पछ्याउँदै जर्मनीले सिनेमामा अभिव्यक्तिवाद भिœयाए। सिनेमामा नयाँनयाँ काम भइरहेको बेला सन् १९४५ मा फ्रान्सका पाँचजना फिल्म पत्रकारले फिल्मलाई गाली गर्दै कहिअर्स दु सिनेमा भन्ने पत्रिका निकाले।
यही पत्रिकाका चारजना समीक्षक पछि विश्व सिनेउद्योगलाई बदल्ने निर्देशक भए। तीमध्ये फ्रान्सुआ त्रुफो, ज्याँ लुक गोदार, एरिक रोहमर र शावाराल रहे। त्रुफो र गोदारका फिल्मले एसियाको भारत र जापानलाई पनि प्रभाव पार्यो भन्न सकिन्छ।
सन् १९५० मा विश्व सिनेबजारमा नौलो धार अर्थात् न्यु वेभको आन्दोलन चल्दै गर्दा बल्ल सन् १९४९ डिसेम्बर ११ का दिन नेपालमा नेपालीले सार्वजनिक रूपमा सिनेमा मनोरञ्जनका लागि हेर्न पाए।
नेपालको पहिलो सिनेमा हल
नेपालमा राजधानीस्थित नयाँ सडकमा काठमाडौं टाउन हल बन्यो। जहाँ पहिलो पटक राणा शासनकालमा मनोरञ्जनका लागि सिनेमा प्रदर्शन भयो। यो सिनेमा हलमा करिब तीन महिना पुरुषले मात्र सिनेमा हेर्न पाएपछि महिलाले पनि हेर्न पाओस् भनेर हप्तामा एकदिन बुधबार महिलाका निम्ति मात्र हलमा सिनेमा देखाउन थालियो।
२००६ माघ १८ गतेका दिनदेखि महिलाकै व्यवस्थापनमा महिलाले मात्र फिल्म हेर्न पाउने सुविधा सुरु भयो। काठमाडौं टाउन हलमा सिनेमा देखाउन अघि नेपालमा सिनेमा नआएको होइन तर त्यो सिनेमा शक्तिसम्पन्न परिवार विशेष गरेर राजपरिवार अनि राणा परिवारलाई मात्र सिंहदरबारभित्र नाचघरमा देखाइन्थ्यो।
कुञ्जर शमशेरका अनुसार काठमाडौं टाउन हल बन्नु १६ वर्षअघि सिंहदरबारमा भद्रकालिनी कृपा राख्यो रे भन्ने एउटा युद्धसम्बन्धी वृत्तचित्र देखाइएको थियो। लेखक कपिल लोहनीका अनुसार १९९० देखि २००७ सालसम्म राणा शासकहरूले आफ्ना परिवारका लागि सञ्चालन गरेको सिंहदरबारको नाचघर तथा सिनेमा हलमा सहरका पढेलेखेका युवा सरकार विपक्षमा नलागुन् भनेर उनीहरूलाई बोलाएर सिनेमा देखाउने गर्दथे।
यो क्रम राणाहरूले १९९७ सालमा सहिदहरूलाई मारेपछि झनै तीव्र भएको थियो। त्यहाँ सिनेमा हेर्ने युवामध्ये नै अधिकांश युवा राणाविरोधी भएर निस्के। २००७ सालको क्रान्तिमा तिनै युवा सक्रिय भएको देखिन्छ।
काठमाडौं टाउन हलपछि कृष्णभाइ चित्रकार र दयारामभक्त माथेमाले किनेपछि जनसेवा हल नामकरण गरेर चलाइयो। करिब १२ वर्ष निरन्तर सेवा दिएर नेपालको पहिलो सिनेमा हल भनिएको जनसेवा हल २०१७ सालमा अग्निकाण्डमा ध्वस्त भयो। नेपालको पहिलो सिनेमा हलको इतिहास यत्ति नै।
हलहरूको हल नहुने कथा
जनसेवा हलको प्रचारप्रसार र व्यापकता पछि काठमाडौं उपत्यकामा अन्य केही हल विस्तारै फैलिए, काठमाडौं थँबही (हालको ठमेल) स्थित सात घुम्तीमा चलचित्र भवन, जमलमाश्री हल (जहाँ अहिले चेम्बर भवन छ) र प्रभा हल, थापाथलीको डाँडामा मुुनलाइट यी सबै हलले अंग्रेजी र हिन्दी फिल्म नै बढी देखाउने गर्थे।
जमलमा रहेको प्रभा हलमा सांगीतिक सांस्कृतिक कार्यक्रम हुने गर्थे भने थापाथलीको मुनलाइटमा राजनीतिक सभा सम्मेलन पनि भएको पाइन्थ्यो। जनसेवाको नजिकै अर्का हल व्यवसायीले यही बेला रञ्जना सिनेमा हल खाले भने जमलमा प्रभाको नजिकै विश्वज्योति हल बन्यो।
देवेन्द्रशमसेर राणाले बनाएको विश्वज्योति हलको नामकरण नै सो हलको उद्घाटनमा आएका महाकवि लक्ष्मीप्रसाद देवकोटाले राखिदिएका थिए। २०२१ सालसम्ममा नेपालमा धेरै नयाँ हल बने पनि भत्काइए पनि। त्यसमध्ये पाटनको अशोक सिनेमा हल र भक्तपुरको नवदुर्गासँगै काठमाडौं नक्सालको जय नेपाल प्रमुख मान्नुपर्छ।
सन् १९६० मा नेपालमा पञ्चायती व्यवस्था लागू हुनुभन्दा अगाडिसम्म पनि थापाथलीस्थित डाँडामा रहेको मुुनलाइट हल अस्तित्वमा थियो भन्ने बुझिन्छ। जहाँ त्यतिबेला तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले गिरफ्तार हुनु अघिसम्म भाषण गर्दै थिए। उनी त्यही हलबाट गिरफ्तार भएका थिए भन्ने बुझिन्छ।
त्यो हल त्यसको पाँच वर्षपछि भत्काइएको थियो। यसबारे चलचित्र निर्माता रमेश रघुवंशी भन्छन्, ‘मुनलाइट भत्काउने ठेक्का मेरा बुवाले पाउनु भएको थियो। करिब पाँच महिना लगाएर २०२२ सालमा मेरोे बुवाले थापाथलीको हल भत्काउनु भएको हो।’
रमेश रघुवंशीले यो सम्झना व्यक्त गर्दै गर्दा ठमेलको चलचित्र भवनको छेवमा काठमाडौं गेस्ट हाउस बनिसकेको छ। भक्तपुरको नवदुर्गा हल भत्काएर द्रव्यरत्न हाडाका नातिद्वय रवि हाडा र राजेश हाडाले त्यहाँ एफएम भवन र पार्टी प्यालेस सञ्चालन गर्दै आएका छन्। भक्तपुरको नवदुर्गा हलले पाटनको अशोक हलसित बार्टरसिपमा दर्शक र बसको साझेदारी गरेको थियो। आज ललितपुरको अशोक हल पनि साहु सुनन्दबहादुर जोशीको हातबाट ज्ञानकाजी श्रेष्ठले पार्टी प्यालेसको रूपमा चलाउँदै आएका छन्।
अशोक हलका साहु जोशीका ससुरा हरिप्रसाद श्रेष्ठको रञ्जना हल जसको आफ्नै गौरवशाली इतिहास थियो र छ। आज त्यो हल सपिङ मलमा परिणत भएर त्यहाँ मल्टिप्लेक्सको अवधारणमा अघि बढेको छ।
काठमाडौंको मुटु नयाँ सडकको बीचमा रहेको रञ्जना हल जनसेवा हल आगलागी हुँदा पनि साक्षीकै रूपमा थियो। नेपालमा बलिउडका नायक धर्मेन्द्रको फिल्म प्रतिबन्धित हुँदा उनले अभिनय गरेको फिल्म त्यो कठिन अवस्थामा रिलिज गर्ने यो पहिलो हल थियो।
रञ्जना हलको निम्तामा बलिउडबाट फिल्म निर्देशक राजकपुर अनि देव आनन्द पनि हलमा आएको इतिहास पाइन्छ। पुराना हलमा अहिले काठमाडौंमा विश्वज्योति र जय नेपाल चित्रघरले आफ्नो अस्तित्व कायमै राखेको छ तर यसको स्वरूममा चैं परिवर्तन आएको छ। प्रभा हल भएको ठाउँमा अहिले अमेरिकी कूटनीतिज्ञ कार्यालय
बनेको विदितै छ।
जनसेवा ः अग्निको कथा
भन्नलाई नेपालको पहिलो सिनेमा हल जनसेवा हल भनिन्छ। तर नेपालको पहिलो सिनेमा हलको नाउँ काठमाडौं सिनेमा हल हो। यसका प्रथम सञ्चालक श्यामशंकर श्रेष्ठ हुन्। श्रेष्ठबाट यो हल दयारामभक्त माथेमाले किनेका हुन् भन्ने बुझिन्छ। पछि काठमाडौं सिनेमा हलको नाउँ जनसेवा राखियो।
जनसेवा हल नेपालको इतिहासमा एक अत्यन्त सुविधासम्पन्न हल मानिन्थ्यो। यहाँ सिट प्लान पनि नयाँ किसिमले गरिएको थियो भन्ने बुझिन्छ, फ्रन्ट क्लास र अप्पर क्लास। हलभित्र सबै सिटहरू सोफाका थिए, हरेक सिटको छेवमा गमला सजाइएको थियो भन्ने त्यतिबेलाका दर्शकको स्मरण छ।
काठमाडौंको नयाँ सडकको जुद्धशमशेरको सालिककै देब्रेपट्टि रहेको यो हल काठमाडौं टाउन हलबाट जनसेवा हलमा परिणत भएदेखि दुई पार्टनर काजी कृष्णलाल चित्रकार र दयारामभक्त माथेमाको द्वन्द्व जारी रह्यो।
बासु पाण्डेयका अनुसार यो हल जल्दा काजीकृष्णलाल चित्रकारले माथेमालाई बिक्री गरिसकेका थिए। बिक्री भएको केही समयपछि पनि हलबापतको पैसा माथेमाले कृष्णलाललाई बुझाउन अटेर गरेपछि केही दिन हल बन्द भएको थियो। हल बन्द गरेको भन्दै काजी कृष्णलालका विरुद्ध दयारामले श्री ५ समक्ष उजुरी दिन पुगेका माथेमालाई उल्टै श्री ५ बाट तुरुन्तै कृष्णलाललाई हल खरिद गरेबापतको रकम बुझाउन हुकुम भएको थियो।
जनसेवा हलपछि दयारामभक्त माथेमा र उनका भानिजभाइ (फुपूका छोरा) भुवनेश्वर अमात्यले संयुक्त रूपमा चलाए। र, यो हलमा त्यतिबेला दरबारबाट राजपरिवारसमेत आएर फिल्म हेर्न आउने कुरा उल्लेख छ।
त्यतिबेलाका शक्तिशाली राजा महेन्द्र यो हल आगलागी भएपछि विदेशबाट फर्केर आउँदा सीधै दरबार नगइकन हल हेर्न आएका थिए भन्ने त्यतिबेलाका समाचारहरूमा उल्लेख छ। गोविन्द शाहका अनुसार २०१७ असोजमा यो हल आगलागी हुँदा विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री थिए। उपत्यकाका एसपी नहकुलशमशेर थिए तत्कालीन राजाका भानिज नकुल जसलाई आगलागीपछि राम्रो काम गर्न नसकेको भनी जागिरबाट निकालिएका थिए।
हल आगलागी हुँदा प्रहरीका डीएसपी कृष्णप्रसाद धिताल उपत्यकाका कमिश्नर विष्णुमणि आचार्य चर्चामा रहे। इन्सपेक्टर रुद्रप्रसाद कारबाहीमा परे भने चन्द्रबहादुर थापा र थमबहादुरको नाम गोप्य राखियो। वरिष्ठ अधिवक्ता गणेशराज शर्माका अनुसार विष्णुमणि आचार्य दरबारका एक शक्तिशाली व्यक्ति थिए उनी एक चतुर वकिल भएका कारण मुद्दा उल्ट्याएर आफू बचें।
आगलागीका बारे अनेक कथा भए पनि गृह मन्त्रालयको निर्देशनमा छानबिन टोली बन्यो। न्यायाधीश पशुपति कोइराला, महान्यायाधिवक्ता शम्भुप्रसाद ज्ञवाली र गृहसचिव प्रेमनरसिंह प्रधानको नाममा तर रिपोर्टमा केही आएन। यो हल आगलागी हुँदा यसका अन्तिम म्यानेजर शंकर लामिछाने थिए भने अप्रेटर मुकुन्दबहादुर श्रेष्ठ थिए। यी दुईले पनि हल आगलागीका बारे कुनै कुरा उल्लेख गरेको पाइँदैन। लामिछाने आफैं एक साहित्यकार पनि हुन्।
हल आगलागी भएको घटनाका बारे फोटो पत्रकार विकास रौनियार लेख्छन्, मेरो हजुरबुवा शिवप्रसाद रौनियारले भन्नु भएअनुसार जनसेवा हल जलेको घटनामा त्यसबेला हाम्रो परिवार मखनटोलमा बस्थ्यो। नेपाली कांग्रेसका समर्थकहरूलाई त्यसबेलाका सरकारले छानीछानी थुनेको थियो। हाम्रा हजुरबुबा पनि थुनिनु भएको थियो।
जनसेवा हलका साहु दयारामभक्त माथेमाको आत्मकथा पछि प्रकाशित भयो। तर त्यसमा पनि आगलागीका बारे स्पष्ट उल्लेख छैन। बरु उनले त्यतिबेला दरबारभित्र पनि हल थियो भन्ने कुराको जानकारीसम्म दिएका छन्। जनसेवा हल बन्द भएपछि यसको इतिहास नयाँ सडकको विशाल बजारले छोपिदियो र हलको नाउँ त्यहाँको प्रहरी प्रभागले ग्रहण गर्यो।
नेपाली जनजीवनको आकर्षणको विषय बनेको जनसेवा हलको आगोको कथा त्यस हलका साहुकी पत्नी व्हाँगलामु अमात्यमाथि एक किसानले गरेको शारीरिक अभद्रता (ब्याड टच) सँग सम्बन्धित छ तर त्यो कथा कथामात्रै हो कि भन्ने भ्रम धेरैमा अझै छ।
हल र सिनेमा
नेपालमा हल बन्न सुरु भएसँगै सिनेमा पनि बन्न सुरु भए। नेपालको पहिलो सिनेमा (वृत्तचित्र) जनसेवा हल आगलागी भएकै साल बनेको थियो, श्री ५ महेन्द्रको जन्मोत्सव। यस वृत्तचित्रको गीत स्वराष्ट्रका हे नायक गायक नायक शिवशंकरले गाएका थिए, यो त्यतिवेलाको लोकप्रिय गीत थियो।
राजा ४२ वर्ष पुगेको उपलक्ष्यमा बनेको यो वृत्तचित्रका निर्देशकले २०२१ मा राष्ट्रिय निर्देशन मन्त्रालयको प्रचारप्रसार डिभिजनको लगानी आमा बनाए। आमाका कथाकार दुर्गाप्रसाद श्रेष्ठ थिए।
आमा बनेकै साल निजी क्षेत्रबाट पहिलो फिल्म माइतीघर बन्यो। सुमनाञ्जली फिल्म्सले बनाएको माइतीघरले थापाथलीस्थित फिब्व ख्यः को नाउँ नै परिवर्तन गरिदियो, माइतीघर। आजकल यस ठाउँलाई माइतीघर मण्डला भन्न थालियो।
सिनेमाले आफ्नो यात्रा तय गर्दै गर्दा यसले पनि कैयौं चरण पार गर्यो। पहिले मुक चलचित्र त्यसपछि सवाक चलचित्र। त्यसपछि रंगीन चलचित्र। २० को दशक अन्त्य नहुँदै यसले आफ्ना सारा प्रविधिलाई आत्महत्याको संघारमा राखेर डिजिटल युगमा प्रवेश गर्यो।
मा र माइतीघर बनेकै समय मथुरादास श्रेष्ठले हिन्दी फिल्म पहाडी जवान बनाए, मथुरादासको यो चलचित्र काठमाडौंको रञ्जना हलमा प्रदर्शन भएको थियो। मथुरादास नेपालबाट हिन्दी फिल्म बनाउने पहिलो निर्माता थिए भने भारतबाट के के प्रधानले आफ्ना छोरा श्याम प्रधानलाई नायकका रूपमा रोमियो इन् सिक्किम बनाएका थिए।
हरिकृष्ण कौल निर्देशित ‘रोमियो इन् सिक्किम’बाट व्यापारिक फाइदा केही नभए पनि यस फिल्मबाट दुई चलचित्रकर्मी जन्मिए, चन्द्रप्रकाश घिमिरे र तुलसी घिमिरे। नाताले हरिकृष्ण कौल चन्द्रप्रकाशका भिनाजु थिए। रोमियो इन् सिक्किम का नायक पछि चलचित्र निर्देशक भए, चन्द्रप्रकाश क्यामेराम्यान अनि तुलसी घिमिरे सम्पादक हुँदै निर्देशक अनि अभिनेता भए।
आमापछि हीरा सिंहले ‘हिजो, आज, भोलि’ र ‘परिवर्तन’ बनाए भने ‘माइतीघर’ पछि बीएस थापाले ‘कान्छी’, ‘मायाप्रीति’ बनाए। अहिले दुवै यो जगत्मा छैनन्। २०२८ सालमा शाही नेपाल चलचित्र संस्थानको स्थापना भएपछि २०३२ मा प्रकाश थापा ‘मनको बाँध’मार्फत निर्देशकका रूपमा आए।
थापाले नेपाली सिनेमामा व्यावसायिक धार कोरिदिए। उनले सिन्दूर, जीवन रेखा, सन्तान, कन्यादानजस्ता सफल चलचित्र बनाए। उनले नायिकामा मीनाक्षी आनन्द, सुषमा शाही, गौरी मल्ल, करिश्मा केसी अनि नायकमा शिव श्रेष्ठ, भुवन केसी, अर्जुनजंग शाहीलाई पर्दामा ल्याए।
शाही नेपाल चलचित्र संस्थान र प्रकाश थापाको सम्बन्ध जीवन रेखासम्म मात्र कायम भयो।
नेपालको सिनेमा हलमा ५२ हप्ता चलेको फिल्म सिन्दूरको निर्देशक प्रकाश थापा पनि हाम्रो माझ छैनन्। थापाको बाटोबाट फरक रूपमा दार्जिलिङबाट प्रताप सुब्बा आए, उनले गुरुप्रसाद मैनालीको कथामा परालको आगो बनाए जुन चलचित्र नेपाली माटोको सुगन्ध जोगाइराखेको छ।
आज विश्व सिनेमा उद्योग यही महिना १ सय २७ वर्ष पुग्दैछ। हाम्रो चलचित्र उद्योगको इतिहास ५८ वर्ष पुरानो छ। तर बालकृष्ण समको भाषामा भन्ने हो भने पहिले एउटा कुरा थियो अहिले कथा भएको छ। पहिले एउटा कथा थियो अहिले इतिहास भएको छ।
सिनेमाले आफ्नो यात्रा तय गर्दै गर्दा यसले पनि कैयौं चरण पार गर्यो। पहिले मुक चलचित्र त्यसपछि सवाक चलचित्र। त्यसपछि रंगीन चलचित्र। २० को दशक अन्त्य नहुँदै यसले आफ्ना सारा प्रविधिलाई आत्महत्याको संघारमा राखेर डिजिटल युगमा प्रवेश गर्यो। अहिले सिनेमा डिजिटलको भाषा मात्र बुझ्छ, अन्य कुरा नेपथ्यमा गइसके। तर सिनेमाले कथा बोक्न र कथा बाँच्ने परम्परा पुरानै छ।
विश्व सिनेमा उद्योग यही महिना १ सय २७ वर्ष पुग्दैछ। हाम्रो चलचित्र उद्योगको इतिहास ५८ वर्ष पुरानो छ। तर बालकृष्ण समको भाषामा भन्ने हो भने पहिले एउटा कुरा थियो अहिले कथा भएको छ। पहिले एउटा कथा थियो अहिले इतिहास भएको छ।