बझाङको तपोवनमा स्नान गर्नेको घुइँचो
बझाङ : बझाङको धार्मिक तिर्थस्थल तपोवनमा पनि यसपाली माघे संक्रान्तिका दिन मेला लागेको छ। तपोवनमा जिल्लाभित्र र जिल्ला बाहिरका भक्तजन आएर पुजा र तातोपानीका कुण्डमा स्नान गरेका छन्।
तल्कोट गाउँपालिका-१ र मष्टा गाउँपालिका-४ को सिमाना सेती नदीमा रहेको धार्मिक स्थलमा आइतबार बिहानैदेखि घुइँचो लागेको छ। तातोपानी कुण्डको पानी उमाले जस्तो हुन्छ र वाफ आउने गर्दछ। कुण्डमा नुहाएमा चर्मरोग साथै अन्य मनोकामना पुरा हुने मान्यताले तिर्थयात्रु आउने गर्दछन्। यहाँ विवाह, ब्रतबन्ध जस्ता कर्मकाण्डका कार्य गर्दा पुण्य मिल्दछ भन्ने मान्यता रहेको छ।
६ बजेपछि स्नान गर्नेको घुइँचो लाग्ने गरेका कारण आफू बिहानै ४ बजे आएर तातोपानीमा स्नान गरि फर्किएको मष्टा ३ वीरबहादुर बाँनीयाले बताए।
तपोवन तिर्थस्थलसम्म अहिले तल्कोट गाँउपालिकाले गाडी जाने बाटो र नुहाउन कुण्डहरु महिला,पुरुषका लागि छुट्टाछुट्टै बनाएर सजिलो पारिएको छ। गत वर्ष कात्तिक पहिलो साता आएको सेती नदी नदीको बाढीले बगाएका कारण तल्कोट गाउँपालिका तर्फका लिफ्टिङ सिस्टम, ट्यांकीमा क्षति पुगेको छ।