भेडेटारमा कोसेली घर निर्माण हुँदै
धनकुटा : साँगुरीगढी गाउँपालिकाले पर्यटकीय स्थल भेडेटारमा कोसेली घर निर्माण गर्ने भएको छ।
गाउँपालिकामा उत्पादन हुने कृषिजन्य तथा हस्तकला उत्पादनलाई बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्यले भेडेटारमा कोसेली घर निर्माण गर्न लागिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए।
पर्यटकीय स्थल भेडेटार साँगुरीगढी गाउँपालिकाको केन्द्र हो। गाउँपालिकाको २२ लाख रुपैयाँको लगानीमा निर्माण हुने कोसेली घरका लागि जग्गा प्राप्त भइसकेको उनले बताए।
भूकम्प प्रतिरोधात्मक कोसेली घर निर्माण हुने इन्जिनियर दिपक राईले बताए। दुई तल्लाको हुने भवनमा माथिल्लो तलामा पालिकाभरि उत्पादन हस्तकलाका सामग्री तथा कृषिजन्य वस्तुलाई मिनिमाटको बिक्री राखिनेछ।
त्यस्तै गाउँपालिका भरिका विभिन्न पर्यटकीय स्थलहरूको बारे जानकारी दिने उद्देश्यले सूचना केन्द्रको समेत स्थापना गरिनेछ।
अगाडि बिक्री कक्ष भएपनि पछाडिको भागमा चिया तथा कफी क्याफे हुनेछ। कोसेली घरमा आउने पाहुनाहरूले गाउँपालिका भरि उत्पादन हुने कफी तथा चियाको स्वाद लिन पाउनेछन्।
आगामी तिन महिनाभित्र निर्माण सम्पन्न गरी चालु आर्थिक वर्षभित्र कोसेली घर सञ्चालनमा आउने गाउँपालिका अध्यक्ष राईले बताए।