काठमाडौं : सेरेमोनियल भए पनि ऐन मौकामा शक्तिशाली बन्न सक्ने राष्ट्रपति पदमाथि ठूला दलको चासो बढेसँगै केही दिनयता राजनीतिमा नयाँ तरंग फैलिएको छ। कांग्रेसले भत्किएर एमालेतर्फ गठबन्धन गर्न गएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि यसमा सन्देहै सन्देह पैदा भएको छ। कतै त्यही राष्ट्रिपतिको तीव्र आकांक्षाले विश्वासको मतको बल्छी थापेको त होइन ? भन्ने प्रश्न पनि उब्जिएको छ।
नयाँ सत्ता गठबन्धनले सोमबार सरकारको भागबन्डा भने मिलाएको छ। यसले कांग्रेसको इच्छा पूर्ति नहुनेतर्फ राजनीति मोडिएको केही संकेत दिएको छ। तर, प्रधानमन्त्रीले मंगलबार बोलाउने भनिएको सर्वदलीय बैठकको औचित्य उत्तिकै प्रश्नवाचक छ।
माघ ५ मा सभामुखको निर्वाचन हुँदैछ। २८ गतेभित्र राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउँदा नै अर्को प्रमुख घटक एमालेले राष्ट्रपति र सभामुख लिने भद्र सहमति गरेको थियो। यही सहमतिका आधारमा ३ स्वतन्त्रसहित ७ दलका १ सय ६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री बने। त्यसपछि राजनीतिले नयाँ मोड लियो।
पुरानो गठबन्धन भत्किएपछि रन्थनिएको कांग्रेसले पुस २६ मा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दियो। यो मतले संसदलाई विपक्षीविहीन त बनायो नै, सत्ताबाहिर रहन नसक्ने चरित्र पनि प्रस्तुत गरेको राजनीतिक विश्लेषक बताउँछन्। ‘सभामुख र राष्ट्रपतिमा प्रयास गर्नु स्वाभाविक नै हो। तर, कांग्रेसले विश्वासको मत दिएर त्रुटि गरेको छ। लोकतन्त्रको हिमायती, लोकतन्त्रप्रति प्रतिबद्ध पार्टी लोभ र सम्भावना अल्झियो,’ राजनीतिक विश्लेषक नीलाम्बर आचार्य भन्छन्।
कांग्रेस जस्तो पुराना लोकतान्त्रिक पार्टी लोभ लालसामा फस्नु नै गलत भएको उनी बताउँछन्। कांग्रेसले विश्वासको मत नदिँदा कुनै फरक नपर्ने भए पनि मत दिनुले त्यहाँभित्र कुनै खेल भएको हुन सक्ने उनी आशंका गर्छन्।
प्रधानमन्त्री दाहालको अस्थिर स्वभावका बारेमा जानकार कांग्रेस संसदलाई विपक्षीविहीन बनाएर नयाँ गठबन्धनमा खेल्न खोजेको देखिन्छ। यो विषयमा सभापति शेरबहादुर देउवा, सभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौलाले चलखेल गरिरहेको कांग्रेस नेताकै कुराले पुष्टि गर्छ। कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी सभापति देउवाले सत्ता बाँडफाँटको विषयमा भएको गल्ती सच्याउने बताएकाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको बताउँछन्।
‘गठबन्धनबाट बहुमत ल्याउँछौं भनेर चुनावमा गयौं। सरकार बन्नाउने अवस्थामा थियौं। तर, आफ्नै गल्तीले सत्ताबाट बाहिनुपर्यो। राष्ट्रपति आफूले राखेर, प्रधानमन्त्री दाहाल लिएको भए गठबन्धन नै भत्किँदैन थियो,’ उनले भने, ‘त्यसलाई सभापतिले सच्याउँछु, विश्वासको मत दिनुहोस् भनेर भन्नुभयो। उहाँले भनेको कुरालार्ई विश्वास गरेर बिनासर्त हामीले मतदिएका हौं।’
भड्किएर गएका दाहाललाई किन दियो कांग्रेसले विश्वासको मत ? कतै यो राष्ट्रपति पदका लागि थापिएको च्याँखे त होइन ? परिवर्तित परिस्थितिमा त्यो कामयावी होला ?
विश्वासको मतअघि पुस १० मा एमालेको ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ र स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह, किरणकुमार साहले दाहाललाई समर्थन गरेका थिए। स्वतन्त्र सांसद किरणकुमार साह भने एमालेमा प्रवेश गरिसकेका छन्। यसरी सत्ता गठबन्धनमा एक भएका अन्य दलसँग विश्वासको मत दिएर कांग्रेसले ‘राजनीतिको च्याखे’ थापेको चर्चा हुन थालेको छ। कांग्रेसको यो दाउ पूरा होला या नहोला त्यो सभामुखको निर्वाचनदेखि राष्ट्रपति निर्वाचनसम्ममा देखिनेछ।
कांग्रेसको विश्वासको मतले सत्तापक्षलाई झस्काएको छ। मूलतः राष्ट्रपति र सभामुखको निर्वाचनमा कांग्रेस खेल्न खोजिरहेको छ। उता एमालेका उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल भने सत्ता साझेदार दल एक ठाउँमा भएको बताइरहेका छन्। प्रधानमन्त्री दाहालमा विश्वासको मत दिएर कांग्रेसले खेल्न खोजे पनि उनले कुनै समस्या नभएको बताए। भने, ‘सरकार जे जस्तो राजनीतिक दलहरूको सहमतिमा अगाडि बढेको छ। गतिका साथ द्रुत गतिमा अगाडि बढ्छ।’ उनले सरकारको आयुका बारेमा शंका गर्नुपर्ने ठाउँ नभएको प्रष्ट पारे।
जसरी एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस १० मध्याह्नमा कांग्रेससहितको गठबन्धन भत्काएर दाहाललाई प्रधानमन्त्री बनाएका थिए। त्यो घटनाले कांग्रेसलाई नराम्ररी चोट पर्यो। त्यसपछि एमाले नेतृत्वको सातदलीय गठबन्धनमा खेल्न कै लागि उसले विश्वासको मत दिएको सबैको आकलन छ। कांग्रेसभित्र देउवा पक्ष प्रचण्डलाई बिच्क्याउन चाहँदैन। देउवालाई छैटौंपटक प्रधानमन्त्री बन्ने ललासा उक्तिकै छ।
तर, कांग्रेसका नेता एवं सांसद भण्डारी पद र स्वार्थमा नेतृत्व केन्द्रित भएमा पार्टीलाई घाटा हुने बताउँछन्। कांग्रेसमा पछिल्लो समयमा त्यस्तै भइरहेको उनको भनाइ छ। सभामुखको निर्वाचनमा कांग्रेसलाई खेल्न गाह्रो भए पनि राष्ट्रपतिको निर्वाचनमा भने अलि सजिलो छ। राष्ट्रपति निर्वाचनमा माओवादी एक्लै निर्णायक छ। उसको समर्थन कांग्रेस वा एमाले जोसँग मिले पनि बहुमत हुन्छ।
प्रतिनिधिसभाको २ सय ७५, राष्ट्रियसभाका ५९, सातै प्रदेशसभाका ५ सय ५० को मतभारबाट राष्ट्रपति चुनिनेछ। कांग्रेसको मतभार १६ हजार २ सय २१ छ। एमालेको १५ हजार २ सय ३३ र माओवादी केन्द्रको ७ हजार ७ सय ४५ मतभार छ।
राजनीतिक विश्लेषक नीलाम्बर आचार्य भन्छन्, ‘यो सात दलीय गठबन्धनसँग स्पष्ट बहुमत छ। कांग्रेसले मत दिन जरुरी नै थिएन। उसले नदिँदैमा मुलुक अर्को चुनाव जाने स्थिति पनि होइन। तर, उसले विश्वासको मत दियो। त्यसभित्र केही भन्ने आशंका गर्न सकिन्छ।’ सात दलीय गठबन्धन नखल्बलिएसम्म कांग्रेसको प्रयासले केही नहुने उनको भनाइ छ। ‘सात दलीय गठबन्धन छ। त्यो गठबन्धन कायम रहेसम्म सभामुख र राष्ट्रपति चयन पनि त्यहीबाट हुन्छ। तर, पछिल्लो घटनाक्रमले स्थिति त्यति सहज भने छैन। निश्चित पनि छैन। आशंका पनि गर्न सकिन्छ,’ उनले भने, ‘सभामुखको निर्वाचनमा नै त्यसको लक्षण देखिन्छ। राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा के हुन्छ हेरौं।’
माघ ५ मा सभामुखको निर्वाचन
माघ ५ मा प्रतिनिधिसभाका सभामुखको निर्वाचन हुने मिति तोकिएको छ। त्यसका लागि मंगलबार सभामुखको निर्वाचन तालिका प्रकाशित हुनेछ। बुधबार सभामुखका लागि मनोनयन दर्ता हुनेछ। बुधबार नै संसद् सचिवालयले सभामुखका उम्मेदवारहरूको सूची टाँस गर्नेछ।
बिहीबार बिहान ११ बजे सभामुखका लागि निर्वाचन हुनेछ। प्रतिनिधिसभाको पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। २५ पुसमा पहिलो बैठक बसेकाले प्रतिनिधिसभाले १० माघभित्र सभामुख र उपसभामुख पाइसक्नुपर्छ। ५ माघमा सभामुख चयन भएपछि उपसभामुख भने ७ माघमा चयन गर्ने तयारी छ।
यसैबीच फागुन २८ गते वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल सकिँदैछ। भण्डारी २०७४ फागुन २९ गते राष्ट्रपति बनेकी हुन्। तर, राष्ट्रपतिको निर्वाचनको तालिका भने निर्वाचन आयोग सार्वजनिक गरेको छैन। माघ २५ मा राष्ट्रियको रिक्त सिटको निर्वाचन गरेर मात्रै राष्ट्रिपतिको निर्वाचन गर्ने तयारी आयोगको छ।
सरकार जे जस्तो राजनीतिक दलहरूको सहमतिमा अगाडि बढेको छ। गतिका साथ अब द्रुत गतिमा अगाडि बढ्छ। सरकारको आयुका बारेमा शंका गर्नुपर्ने ठाउँ छैन।
विष्णु पौडेल, उपप्रधान एवं अर्थमन्त्री तथा एमाले उपाध्यक्ष
गठबन्धनबाट बहुमत ल्याउँछौं भनेर चुनावमा गयौं। सरकार बन्नाउने अवस्थामा थियौं। तर, आफ्नै गल्तीले सत्ताबाट बाहिरिनुपर्यो। त्यसलाई सभापतिले सच्याउँछु, विश्वासको मत दिनुहोस् भनेर भन्नुभयो। अब केही होला नि !
चन्द्र भण्डारी, प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता
सभामुख र राष्ट्रपतिमा प्रयास गर्नु स्वाभाविक नै हो। तर, कांग्रेसले विश्वासको मत दिएर त्रुटि गरेको छ। लोकतन्त्रको हिमायती, लोकतन्त्रप्रति प्रतिबद्ध पार्टी लोभ र सम्भावना अल्झियो।
नीलाम्बर आचार्य, राजनीतिक विश्लेषक