टेलिकमका टेलिफोन अवरुद्ध, बिलिङ प्रणाली कारक

टेलिकमका टेलिफोन अवरुद्ध, बिलिङ प्रणाली कारक

काठमाडौं : नेपाल टेलिकमका टेलिफोन मंगलबार डेढ घण्टा पूरै अवरुद्ध भए। फोन नलाग्ने, डेटा नचल्ने, एसएमएस नजाने, रिचार्ज नहुने, ब्यालेन्स हेर्न नमिल्ने, भ्वाइस प्याक लिन नमिल्नेलगायत समस्या दिनभरजसो नै सेवाग्राहीले भोग्नुपर्‍यो। बिलिङ प्रणालीको म्याद सकिएका कारण यस्ता समस्या आएको टेलिकम स्रोत बताउँछ। ती स्रोतका अनुसार यसले गर्दा विलिङ प्रणाली नै ‘कोल्याप्स’ हुन सक्ने संकेत गरेको छ। जसले टेलिकममा करोडौं घाटा भएको छ।  

टेलिकमका एक प्राविधिकले बिलिङ प्रणाली वा अन्य कुनै प्रणालीमा गडबडीले समस्या आएको हुन सक्ने बताए। उनका अनुसार यस विषयमा आन्तरिक रूपमा प्राविधिक जाँच भइरहेको छ।  टेलिकमबाट अन्य कम्पनीका नेटवर्कमा फोन जाने–आउने भए पनि आन्तरिक फोनमा ठूलो समस्या देखिएको हो। मोबाइल नेटवर्क सिस्टममा समस्या आए पनि टेलिकमका पदाधिकारीले के हो भनेर कारण खुलाउन चाहेनन्। 

टेलिकमका प्रवक्ता शोभन अधिकारीले नेटवर्कमा समस्या देखिए पनि १५ मिनेटमा समाधान भएको दाबी गरे। मोबाइल प्रयोगकर्ताले भने दिनभर नै समस्या व्यहोरे। टेलिकममा मध्याह्न १२ बजेदेखि समस्या आएको थियो। बेलुकीसम्म पनि फोन नलाग्ने, नबुझिनेलगायत समस्या भोग्नुपरेको गुनासो प्रयोगकर्ताको थियो। प्रवक्ता अधिकारीले छिट्टै समस्या समाधान गरे पनि टेलिकममा ट्राफिक जाम भएका कारण दिनभरजसो समस्या देखिएको बताए।  

टेलिकमको सिस्टममा समस्या रहेको उनी स्वीकार गर्छन्। ‘यो प्राविधिक गतिविधिमा कहिलेकाहीँ आउने समस्या हो’, उनले भने, ‘सिष्टममा समस्या छ, कहिलेकाहीँ त्यस्तो हुन्छ।’ समस्या आउँदा कलको संख्या धेरै बढेकाले मोबाइल नेटवर्कमा समस्या आएको प्रवक्ता अधिकारीले बताए। ‘प्राविधिक समस्यापछि कल लाग्न गाह्रो हुन्छ। एउटा सिष्टममा भएको हुन्छ, अर्कोमा आउँदा जाम हुन्छ’, उनले भने। कलको संख्या बढेकाले पौने २ बजेसम्म समस्या रहेको उनले बताए। 

‘फाट्टफुट्ट ठाउँ तथा क्षेत्रमा नेटवर्कभन्दा बाहिर हिँडेको हुन सक्छ। केहीबेर समस्या रहे पनि समाधान भइसक्यो’, उनले भने, ‘प्राविधिक समस्या जति बेला पनि हुन सक्छ। कल लागेन भने फेरि कल गरिरहने प्रवृत्ति भएकाले पनि समस्या भएको हो।’ 

टेलिकमको कलसँगै सिस्टमले अटोमेटिक बिल बनाउँछ। कन्भर्जेन्ट रियल टाइम बिलिङ (सीआरटीबी) मा १० प्रतिशतसम्म बिलिङ लस हुने गरेको तथ्य बाहिरिएको थियो। धेरैले मंगलबारको समस्या यसैसँग सम्बन्धित रहेको अथ्र्याएका छन्। टेलिकमको कलबाट दैनिक औसत ९ करोडको कारोबार हुन्छ। मंगलबार कलको भोलुम ह्वात्तै बढेको थियो। 

नयाँ बिलिङ प्रणाली खरिद गर्न टेलिकम सञ्चालक समितिले २०७८ साउन ४ मा नै बोलपत्र आह्वान गर्ने निर्णय गरेको थियो। तर, त्यसको अवज्ञा गर्दै टेलिकम नेतृत्व अद्यावधिक (अपग्रेड) गर्नतिर लागेको थियो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ बिलिङ प्रणाली लागू गर्न निर्देशन दिएको थियो। नयाँ प्रणालीमा नगए विद्यमान बिलिङ प्रणाली कुनै समय ध्वस्त (कोल्याप्स) हुन सक्ने जोखिम रहेको जानकार बताउँछन्। तर, टेलिकमले कुनै प्रक्रिया गरेको छैन। टेलिकमका प्रवक्ता शोभन अधिकारीले अख्तियारको निर्देशन टेलिकमले मान्ने बताए। तर, प्रक्रिया सुरु भए नभएको स्पष्ट बताउन चाहेनन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.