कांग्रेसलाई समेट्ने प्रधानमन्त्रीको प्रस्ताव

दाहालले राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेससँग पनि प्रस्ताव गरेका थिए।

कांग्रेसलाई समेट्ने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति र सभामुखलगायत संवैधानिक पदमा कांग्रेसलाई पनि समेट्नुपर्ने प्रस्ताव गरेका छन्। तर, सत्ता गठबन्धनको सहमति पालनामा आफू दृढ रहेको उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले मंगलबार बसेको सर्वदलीय बैठकमा सरकार गठनदेखि विश्वासको मत प्राप्त गर्दासम्म राजनीतिक परिस्थितिमा फेरबदल आएको भन्दै अब के कसरी अगाडि बढ्न सकिएला भनेर सुझाव मागेका हुन्।

संवैधानिक पदको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्ने चासो उनले राखेका थिए। उनले आफू सत्ता साझेदार दलसँग गरिएको समझदारीमा दृढ रहेको बताएका थिए। त्यही समझदारीअनुसार नै मन्त्रिपरिषद्ले पूर्णता पाएको उनको भनाइ थियो। 

दाहालले राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेससँग पनि प्रस्ताव गरेका थिए। यो विषयमा छलफल गर्न कांग्रेस पनि तयार देखिएको छ।

प्रधानमन्त्रीले राष्ट्रपति र सभामुखको निर्वाचनमा पनि मिलेर जान प्रस्ताव गरेको कांग्रेस नेता एवं प्रमुख सचेतक रमेश लेखकले बताए। उनका अनुसार राष्ट्रपति, सभामुख, उपराष्ट्रपति र उपसभामुखको विषयमा समेत बैठकमा छलफल भएको थियो। प्रधानमन्त्रीले यी पदमा सहमति गर्न सकिने विषय बैठकमा राखेका थिए। ‘हामीले प्रमुख प्रतिपक्षी दलका रूपमा कायम रहने गरी यस विषयमा छलफल गरेर जान सकिन्छ भन्यौं’, कांग्रेस नेता लेखकले भने।

बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेताहरू रामचन्द्र पौडेल, रमेश लेखक, एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेताहरू ईश्वर पोखरेल र शंकर पोखरेल, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत उपस्थित थिए।  

प्रमुख प्रतिपक्ष को ? 

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि आफू नै प्रमुख प्रतिपक्ष भएको दाबी गरेको छ। प्रधानमन्त्रीलले बोलाएको बैठकमा कांग्रेस नै प्रमुख प्रतिपक्ष दल भएको जानकारी गराएको कांग्रेस प्रमुख सचेतक लेखकले बताए।

‘हामी प्रमुख प्रतिपक्ष दलको हैसियतले आएका छौं। प्रधानमन्त्रीले छलफल गर्न चाहनुभयो भने हामी तयार छौं नै भन्यौं’, लेखकले भने। कांग्रेस सभापति देउवाले आफू प्रमुख विपक्षी दलको नेताकै हैसियतमा आएको बताएका थिए।  

नेमकिपा नेता प्रेम सुवालले आफू नै प्रमुख प्रतिपक्ष भएको बताए। ‘प्रधानमन्त्रीलाई पनि समर्थन गर्ने अनि आफू प्रमुख प्रतिपक्ष हुँ भनेर भन्न कुन हैसियतले कांग्रेसलाई दिन्छ,’ उनले भने, ‘यसले देशमा अराजकता सिर्जना गर्छ।’ उनले ऐन कानुनबमोजिम आफूहरू नै प्रमुख प्रतिपक्ष दल भएको र त्यसको मान्यता प्रदान गर्नुपर्ने बताए। 

दाहाललाई विपक्षमा मत दिने जम्मा दुई दल नेमकिपा र राष्ट्रिय जनमोर्चाका दुई जना सांसद हुन्। नेमकिपाका प्रेम सुवाल र जनमोर्चाका चित्रबहादुर केसीले विपक्षमा मतदान गरेका थिए। त्यसमा नेमकिपाले समानुपातिकमा धेरै मत पाएको छ। त्यसले उसले आफू प्रमुख प्रतिपक्ष भएको दाबी गरेको हो।  

सविधानविद्का अनुसार उसको रणनीति, भूमिका र गतिविधिले कांग्रेस प्रमुख प्रतिपक्ष भएको देखिँदैन। संविधानविद् डा. विपिन अधिकारीले लोभ, लालसा, राणनीति र भूमिकामा प्रमुख प्रतिपक्ष भए नभएको स्पष्ट हुने बताए। विश्वासको मत दिँदैमा प्रमुख प्रतिपक्ष नहुने भन्नेचाँहि हुँदैन उनले भने, ‘प्रतिपक्षले विश्वासको मत दिनै हुँदैन भन्ने छैन। तर, उसको लोभ, लासला, रणनीतिको स्तर के हो त्यो स्पष्ट हुनुपर्छ।’ 

आफू प्रमुख प्रतिपक्ष हुँ भन्नु कांग्रेसका गतिविधिले भने अवसरवादका लागि गरिएको कुतर्क भएको उनको भनाइ छ।  ‘एक गोडामा सभामुख र अर्को गोडामा राष्ट्रपति राखेर प्रतिपक्ष हुँ भन्नु कुर्तक मात्रै हो,’ उनले भने, ‘नैतिक प्रश्न के हो, हिजो गठबन्धन गरेर चुनाव लडेँ, त्यो गठबन्धन छोडेर अर्को गठबन्धन बनाएर प्रचण्ड प्रधानमन्त्री भए, अब त्यसैपछि कांग्रेस लाग्यो उसलाई नै घाटा हुन्छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.