प्रचण्डको दलबल : पहिलाभन्दा महिला बढी, १५ नयाँ अनुहार

सहरी विकासमन्त्री विक्रम पाण्डे विवादास्पद ठेकेदार हुन्।

प्रचण्डको दलबल : पहिलाभन्दा महिला बढी, १५ नयाँ अनुहार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सातापछि मन्त्रिपरिषद् विस्तार गरी २३ सदस्यीय बनाएका छन्। जसमध्ये १५ जना नयाँ छन्। उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ। पहिलाको तुलनामा महिला सहभागिता बढी अर्थात् २६ प्रतिशत देखिएको छ। यद्यपि ३३ प्रतिशत भने टेकेको छैन।

एमालेबाट ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी विकासमन्त्री, डा. विमला राई पौडेल परराष्ट्रमन्त्री र भगवती चौधरी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनेका छन्। माओवादीबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री, सुशीला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेकी छन्। रास्वपाबाट डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी छन्। यीमध्ये परराष्ट्रमन्त्री डा. पौडेल, पर्यटन राज्यमन्त्री ठकुरी र स्वास्थ्य राज्यमन्त्री डा. कार्की नयाँ अनुहार हुन्। 

यसअघि शेरबहादुर देउवाको कार्यकालमा ६ जना नै महिला मन्त्री भएका थिए। उक्त मन्त्रिपरिषद् २५ सदस्यीय थियो। प्रतिशतका हिसाबले यसपटक महिला सहभागिता बढी देखिन्छ। त्यसअघि केपी शर्मा ओलीका पालामा चार जना महिला सरकारमा गएका थिए। 

यसपटक २३ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री दाहालसहित उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री विक्रम पाण्डे र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पुराना अनुहार हुन्। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्का उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङदेनसहित मन्त्री नयाँ छन्। अन्य मन्त्रीमा राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अब्दुल खान खानेपानी, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, हरिप्रसाद उप्रेती रक्षा, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन छन्। यस्तै अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, शिशिर खनाल शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, ध्रुवबहादुर प्रधान कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका छन्। दीपकबहादुर सिंह ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनेका छन्। 

प्रधानमन्त्री दाहालले सुरुमा मन्त्रिपरिषद् ८ सदस्यीय बनाएका थिए। त्यही बेला तीन उपप्रधानमन्त्री पौडेल, श्रेष्ठ र लामिछानेले कार्यभार सम्हालेका थिए। त्यसबेला नियुक्त चार मन्त्री ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खानलाई कार्यभार तोकिएको थिएन। 

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी हुन्। नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरूले मंगलबार नै राष्ट्रपतिसमक्ष शपथ लिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमा जनाएका छन्। दुई राज्यमन्त्री डा. कार्की र सिंहले प्रधानमन्त्रीसमक्ष शपथ लिएका थिए। 

विवादास्पद ठेकेदार पनि मन्त्री 

सहरी विकासमन्त्री विक्रम पाण्डे विवादास्पद ठेकेदार हुन्। उनले ठेक्का लिएका कामको गुणस्तर नहुनेसमस्या देखिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित २१ जनाविरुद्ध २०७५ मंसिर २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यद्वय रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले गत असार ५ गते उनीहरूलाई सफाइ दियो। उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी रहेको अख्तियार स्रोत बताउँछ।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको नहर कम गुणस्तरको बनाएको पाइएको भन्दै अख्तियारले मुद्दा चलाएको थियो। अहिले भौतिक निर्माणसँग सम्बन्धित सहरी विकास मन्त्रालय नै पाण्डेको जिम्मामा परेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.