कर्णालीमा उपसभामुख निर्वाचन : न्यौपाने र शाहीबीच प्रतिस्पर्धा
सुर्खेत : कर्णाली प्रदेशमा बुधबार दिउँसो १ बजे हुने प्रदेश सभा उपसभामुखको निर्वाचनका लागि दुई जनाको उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) की सांसद यशोधा न्यौपाने (पूर्णीमा) र नेपाली कांग्रेस तर्फकी इन्द्राकुमारी शाहीले उम्मेदवारी दर्ता गराएका हुन्।
कालिकोटबाट प्रदेश सभा सदस्य समानुपातिक सांसद न्यौपानेले माओवादीकै सांसद कृष्ण जिसीको प्रस्तावक र नेकपा एमालेका सांसद विनोद कुमार शाहको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन्। कांग्रेसकी शाहीले संसदीय दलका नेता जीवनबहादुर शाहीको प्रस्ताव र जानकी सिंहको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन्।
यशोधा न्यौपाने (पूर्णीमा)
न्यौपाने र शाही दुवै जना समानुपातिक कोटाबाट निर्वाचित सांसद हुन्। कालिकोटकी न्यौपाने माओबादी केन्द्रकी केन्द्रीय सदस्य हुन् भने इन्द्रा शाही २०७४ मै पालिकामा उपप्रमुख पराजित नेतृ हुन्।
कांग्रेसले उपसभामुख जित्न सक्ने अवस्था नभए पनि उम्मेदवारी दर्ता गराएको छ। ४० प्रदेश सभा सदस्यमा कांग्रेससँग १४ मत छ भने नेकपा (एकीकृत समाजवादी)ले समर्थन गरेको खण्डमा १५ मत हुन्छ। न्यौपानलेलाई एमालेको ९, माओवादीको १३ र राप्रपाको १ गरी २३ मत प्राप्त हुने देखिन्छ। एमालेको १० मध्ये नन्दा गुरुङ सभामुख बनेकाले उनले मत हाल्न पाउँदैनन्।