काठमाडौंले पनि बचाउन सकेन आगोमा परेका राउटेलाई

दुःखै दुःखमा राउटे जाति

काठमाडौंले पनि बचाउन सकेन आगोमा परेका राउटेलाई

काठमाडौं : बुधबार दिउँसोको २ बज्न लागेको थियो। राष्ट्रिय ट्रमा सेन्टरबाट साइरन बजाउँदै एउटा एम्बुलेन्स निस्कियो। सो एम्बुलेन्समा अन्तिम श्वास फेर्दै थिए राउटे समुदायका ३३ वर्षीय नारायण शाही। उनैलाई लिएर एम्बुलेन्स दैलेखतर्फ हुइँकियो। नारायणका बुबा मैनबहादुर भन्दै थिए, ‘छोरोले बोलेको मेरा कानले सुन्याँ छैन। यसो गरी अस्पताल बसी के गर्नु र ? काठमाडौंमा खतम भयो भन्या त उसको ममी दुनिलेले छोरो हेर्नै पाउँदैन। त्यही भएर लिएर घर हिँडेको।’ 

अस्पतालबाट निस्किएको केही समयमा नै नारायणले अन्तिम श्वास फेरे। नागढुंगा नपुग्दै उनको निधन भएको थियो। दैलेखबाट छोरा बचाउन काठमाडौं आएका बुबा मैनबहादुरको न सपना पूरा भयो, न त नारायणलाई जीवित भट्ने आमाको इच्छा नै। छोरा बचाउन जंगलको सानो झुप्रोबाट सहरको ठूलो अस्पताल आउँदा पनि मैनबहादुरले सकेनन्। मन गरुँगो पार्दै उनले छोराको शव लिएर गाउँसम्मको यात्रा गरे। 

राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानका सचिवकुमार ओझा भन्छन्, ‘नारायणलाई बचाउन जहाजबाट हतार हतार गरेर ल्यायौं। तर, सकिएन। शरीरका मुख्य भागमा धेरै असर गरेकाले उपचार गर्न गाह्रो भएको थियो।’ अस्पतालबाट निकालेको एक घण्टा पनि नहुँदै उनको निधन भएको उनले बताए। 

पुस २१ गते नारायणलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको थियो। मध्यरातमा सुतेको ओछ्यानमै अचानक आगलागी हुँदा उनी जलेर सख्त घाइते भएका थिए। उपचारका लागि राम्रो ठाउँमा पनि ल्याइयो। तर, शरीरको ३० प्रतिशत भाग गहिरो रूपमा जलेकाले उनलाई बचाउन समस्या भएको उपचारमा संलग्न चिकित्सक बताउँछन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डीन तथा बोर्न एन्ड प्लास्टिक सर्जरी वाडका एचओडी डा. पीयूष दाहाल चिकित्सकले सके जति प्रयास गर्दा पनि बचाउन गाह्रो भएको बताउँछन्। भन्छन्, ‘अन्तिम समयसम्म आफ्नो ज्ञान, बुद्धि र विवेकले भ्याएसम्म उपचार गरेको हो। शरीरको २०–३० प्रतिशत भाग गहिरो रूपमा जलेको थियो। छातीको अगाडिकै भाग त भित्रसम्म जलेको थियो। पछाडिको भाग पनि जलेको थियो। एक चरणको सर्जरी पूरा गरेका थियौं। अगाडिको भागका छाला प्रत्यारोपन गरेका थियौं। एक्कासि फोक्सोमा समस्या भयो। चार दिन आईसीयूमा राखेर उपचार गरिराखेका थियौं। उहाँ गम्भीर अवस्थाममै भर्ना हुनुभएको थियो।’

राष्ट्रिय ट्रमा सेन्टरमा ११ दिनसम्म उपचार गराउँदा पनि छोरो निको नहुने भएपछि एम्बुलेन्समा राखेर घर लैजान लाग्दै दैलेखका राउटे समुदायका अगुवा मैनबहादुर शाही । अस्पतालबाट हिँडेको १ घण्टापछि छोरा नारायणको निधन भएको थियो । तस्बिर : सुनिता डंगोल

यसरी अकालमै ज्यान गुमाउने यो समुदायमा नारायण एक प्रतिनिधि पात्र मात्रै हुन्। यसरी जलेर बर्सेनि धेरै यो समुदायका नागरिकले ज्यान गुमाउँछन्। अव्यवस्थित बसोबास, जाडोको समयमा लगाउने र ओड्ने–ओछ्याउने लुगा तातो नहुँदा आगो बालेर सुत्नुपर्ने उनीहरूको बाध्यता छ। अनि, राति नै आगो सल्किएर धेरैले ज्यान गुमाउँछन् भने कति अंग, भंग नै हुन्छन्। यो जातिको विकास, व्यवस्थापन र जनचेताना कमीकै कारण लोप हुने अवस्था आएको यो जातिलाई नजिकबाट नियालिरहेकाहरू बताउँछन्। भन्छन्, ‘यो समुदायको रक्षाका लागि सरकारले विशेष व्यवस्थापन समयमा नै गर्नुपर्छ।’

एउटै परिवारमा पनि बालबच्चालाई बचाउन नसकेर धेरै आमा–बुबा छोरा–छोरीविहीन अवस्थामा पुगेका छन्। केही जन्मदै त केही बढ्दै जाँदा पनि मृत्युको मुखमा पुगेका छन्। मैनबहादुरकी भाञ्जी सत्यादेवी खड्का अनुसार ८ वर्ष अगाडि मैनबहादुरले सुत्केरी छोरी पनि गुमाएका थिए। उनले घरमै नातिको जन्म दिएकी थिइन्। कोरोना संक्रमणको समयमा उनको कान्छो छोरो शिवराजको पेटको समस्याको कारण ज्यान गएको थियो। अहिले जेठो छोरोको आगोमा जलेर मृत्युभयो। मैनबहादुरका ११ सन्तान थिए। कोसैको आमाकै कोखमा त कसैको विभिन्न कारणले मृत्यु भएको खड्का बताउँछिन्। अहिले ७८ वर्षको उमेरसम्म आइपुग्दा मैनबहादुरले सबै सन्तान गुमाएका छन्। उनको साथमा अब श्रीमती, बुहारी र सानी नातिनी मात्रै बाँकी छिन्।

सबै छोराछोरी गुमाएका मैनबहादुर डाँडापारीको घाम जस्तै छन्। उमेर ढल्कँदै गएको छ। बुढेसकालमा टेक्ने लठ्ठी गुमाउनुको पीडा उनलाई थपिएको छ। बुधबार पनि अब छोराले छाड्छ भन्दै अस्पतालबाट रुँदै छोरोलाई एम्बुलेन्समा हालेर घर हिँडेका थिए। माघ १९ गते राति नारायण परिवारसहित पालमा सुतेका थिए। मध्यरातमा अचानक आगलागी भयो। नारायणले थाहा पाएका थिएनन्। जलेर सख्त घाइते भए। उनकी श्रीमतीको खुट्टाको केही भाग जल्यो। आगोले छोरो मात्रै जलाएन। उनको परिवारमा सधैंका लागि दुःख थप्यो। ‘छोरो जलेर गम्भीर भयो। छोरा बुहारीको २४ हजार सामाजिक सुरक्षा पनि जलेर खतम भयो। पाल पनि जल्यो। खानेकुरा पनि जल्यो’, मैनबहादुर पीडा पोख्दै भन्छन्, ‘सरकारले पठाएको सबै आगोले खरानी भइसक्यो।’

  •     जलेर बर्सेनि राउटे जातिका धेरै नागरिकले ज्यान गुमाउँछन्।
  •     विकास, व्यवस्थापन र जनचेताना कमीकै कारण राउटे जाति लोप हुने अवस्थामा पुगेको विज्ञको भनाइ।
  •     २०६२ मा राउटेहरूको जनसंख्या २ सय ६८ थियो, अहिले घटेर १ सय ४५ मा झरेको छ।

मध्यरातमा चकमन्न थियो। ओछ्याउनमै कसरी आगो लाग्यो। कसरी नारायण र उनकी श्रीमती जलिन्। पीडित परिवारलाई थाहा छैन। ‘कसोरी यस्तो भयो भने आगोलागीले भयो। सप्पै पोल्यो। ढाडदेखि मुखसम्म पोल्यो। जति दबाई हाले पनि लाग्दैन। हुँदैन’,  अस्पतालबाट छोरालाई लैजानु अघि अन्नपूर्णसँग मैनबहादुरले भनेका थिए, ‘छोरो लान्छौं। सास पनि घरमा पुग्यो भने पनि भयो। नभए मरेकै भए पनि लैजानुपर्‍यो। यही खतम हुन्छ त बसाँलेपछि। यही खतम नगराउने। आफ्नो घर पुर्‍याउने भनिकन आजै लैजाने भनेको।’

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डीन डा. पीयूष दाहालका अनुसार नारायणलाई बचाउनका लागि ट्रमा सेन्टरले ३ लाख ४ हजार बढीको निःशुल्क उपचार गरेको थियो। दाहालले भने, ‘हाम्रो अस्पातलको सबै टोली उहाँको उपचारमा खटिएको थियो। हामीले सबै प्रकारका सकेको सहयोग गर्‍यौं। तर, बचाउने सम्भावना नभएपछि परिवारको जिम्मा लगायौं।’ 

आगोले जलेपछि नारायणलाई सुरुमा स्थानीय अस्पताल लगिएको थियो। ‘आगोले सप्पै जलेपछि दैलेखको हस्पिटल ल्याँको। त्यहाँ भएन। सुर्खेत लैजानु भन्यो। सुर्खेत उपचार गर्न लाग्यो। त्यहाँ भएन। त्यहाँबाट सार्दै सार्दै काठमाडौं पुर्‍याइदियो यति टाढा,’ मैनबहादुरले सुनाएका थिए।

राउटे जाति एउटै ठाउँमा बस्दैनन्। उनीहरू जंगल भएको खोला किनारतिर बस्ने गर्छन्। उनीहरूको काठको भाँडाकुँडा बनाएर जीवन चलाउँदै आएका छन्। उनीहरू दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, कालिकोटलगायत जिल्लाहरूमा घुम्ते जीवन बाँच्दै आएका छन्। अहिले राउटेहरू दैलेखको चुप्रा बजार नजिकैको डाँडामा बसिरहेका छन्। उनीहरू स्याउलाको झाँडीले झुप्राहरू बनाएर बस्छन्। यसै ठाउँमा पाल बनाएर बसिहरेको अवस्थामा आगलागी हुँदा नारायण जलेका थिए।

यता सरकारले राउटे जातिको संख्या घट्नुको कारण पत्ता लगाउन अहिलेसम्म ध्यान दिएको पाइँदैन। राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानका अनुसार २०६२ मा राउटेहरूको जनसंख्या २ सय ६८ थियो। अहिले घटेर १ सय ४५ मा झरेको छ। विभिन्न कारणले मृत्यु हुनेको संख्या बढे पनि यसलाई रोक्न हालसम्म तीनै तहका सरकारले कुनै कदम चालेको पाइँदैन। 

दुःखै दुःखमा राउटे जाति

राउटे समुदाय पुस्तौंदेखि जंगलमै बास बस्छन्। वर्षातको समयमा छाप्रो चुहिन्छ। हिउँद लागेपछि हावाहुण्डरीले चुलोको आगो सल्किएर आगलागी भएर ज्यानै लिने डर हुन्छ। पुस माघको चिसो छल्न आगोको सहारा लिन्छन्। झुपडी अगाडि न्यानोका लागि धुँनी लगाउँछन्। त्यहीबाट आगो सल्किएर ज्यानै लिने जोखिम हुन्छ। 

यस्तै जोखिममा परेका थिए २०७६ सालमा कान्छाराम शाही। सुतेकै बेला उनको हात र खुट्टा पालेको थियो। पोलाइको जल्नले उनलाई मन मात्रै पोलेनन् लामो समय पीडा भोग्नु पर्‍यो। २०७२ सालमा आगोले पोलेर घाइते भएका आछामका कपिल शाहीको जलनको पीडाले पाँच वर्षपछि उनलाई मृत्युको मुखमा पुर्‍यायो। 

घुम्ते जीवन बाँच्ने राउटेहरू आफूलाई जंगलको राजा ठन्छन्। उनीहरूले बाँदरको सिकार गर्छन्। कन्दमूल खाएर जीउने उनीहरूले धार्मिक, सांस्कृतिक र मौसमअनुसार बसाई सरिरहन्छ। हरेक ठाउँमा नयाँ छाप्रो बनाउँछन्। पछिल्लो समय आगलागीले ज्यान जान थालेपछि खरपत्ता, स्यालाको छाप्रो उनीहरूका लागि मृत्युको कारण बन्न पुगेको छ।


‘एकीकृत बस्ती बनाएर राख्नुपर्छ’
सत्यदेवी खड्का- अध्यक्ष, राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान

राउटेको अन्य जाति जस्तो विकास भएको छैन। यो समुदायमा जनचेतना कम छ। यस्तै समस्याका कारण राउटे जातिले विभिन्न समस्या भोग्ने र अकालमै निधन हुने क्रम बढेको बताउँछिन् राउटे जातिको उत्थानमा काम गर्दै आएको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्का। ‘एनजीओ र आईएनजीओ राउटे जातिको दुःख देखाएर ठगी खाने भाँडो बने। उनीहरूले यो समुदायको विकासमा ध्यान दिएनन्,’ उनले भनिन्, ‘त्यस्ता संस्थाले बस्तीमा गएर चकलेट खान दिन्छन्। उनीहरूको भिडियो र फोटो खिचेर विदेश पठाएर राउटेका नाममा डलर खान्छन्। यसरी ती संस्थाको विकास भयो। तर, राउटेको विकास भएन।’ 

अध्यक्ष खड्काका अनुसार यो जातिको विकासका लागि धेरै काम गर्न बाँकी छ। राउटे जातिको उत्थानका लागि सरकारले एकीकृत बस्ती निर्माण गरेर स्थायी बासको व्यवस्था गर्नुपर्छ। छाप्रो बनाएर बस्दा आगलागी हुन्छ। जाडोमा उनीहरू न्यायो लुगाको अभावमा आगो तापेर सुत्छन्। कहिलेकाहीँ आगो सल्किएर ज्यानै जान्छ। सरकारले गाँस, बास, कपासको व्यवस्था गर्नुपर्छ। उनीहरूलाई मासिक रूपमै सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्नुपर्छ।

राउटेहरूको जनसंख्या घट्दो क्रममा रहेको तथ्यांकले देखाउँछ। सरकारले राउटेको व्यवस्थापन नगर्ने हो भने राउटे जाति नै लोप भएर जन सक्ने खड्का तर्क गर्छिन्। ‘यस्तै अवस्था रहे उनीहरूको नाम इतिहासको पानामा सीमित हुन्छ। त्यसैले सरकारले समय अनुसारको आवश्यकता पूरा गर्न तिर ध्यान दिनुपर्छ’, अध्यक्ष खड्काले भनिन्, ‘राउटेहरूका लागि घरसहित शिक्षा, स्वास्थ्य, खानेपानी र सुरक्षाको प्रबन्ध मिलाउनुपर्छ।’ 

जलवायु परिवर्तनले जंगल क्षेत्रका पानीको मुहान सुक्दै गएको छ। उनीहरूले खाने कन्दमूल हराउँदै गएको छ। राउटेहरूलाई जीवन बाँच्न कठिन भएको छ। ‘कतिपय संस्थाहरूले राउटेहरूलाई रक्सी खुवाएर मताउँछन्। अनि फोटो र भिडियो खिचेर लैजान्छन्। उनीहरूको अवस्था दैयनीय देखाएर खान्छन्। अहिले राउटेहरू कुलतमा फस्दै गएका छन्’, अध्यक्ष खड्काले भनिन्, ‘सरकारले राउटे समुदायको संरक्षणका लागि ठोस योजना ल्याउनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.