चिसोका कारण सोलुखुम्बुका ४१ प्रतिशत विद्यालय बन्द
सोलुखुम्बु : सोलुखुम्बुमा चिसोका कारण ४१ प्रतिशतभन्दा बढी सामुदायिक विद्यालय बन्द भएका छन्।
अत्यधिक चिसोका कारण जिल्लाको कुल २७८ वटा सामुदायिक विद्यालयमध्ये ११० वटा विद्यालय बन्द भएका हुन्। आठवटा पालिका रहेको जिल्लाको सोताङ गाउँपालिकाबाहेक अन्य सबै पालिकाको केही विद्यालय बन्द छन्।
खुम्बु पासाङल्हामु गाउँपलिकाको १७ वटा विद्यालयमध्ये १४ वटा बन्द छन्। सोलुदूधकुण्ड नगरपालिकाको ६२ वटा विद्यालय मध्ये ५८ वटा बन्द रहेको शिक्षा शाखा संयोजक सन्तोष कुमार राउतले बताए।
खुम्बुमा पुस दोस्रो साताबाट ४० दिनसम्मका लागि विद्यालय बन्द गरेको गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए। नगरपालिका भित्रका विद्यालय माघ २५ पछि मात्रै खुल्नेछ। थुलुङ दूधकोशी गाउँपालिकाको ५२ वटा विद्यालयमध्ये १२ वटा बन्द भएको प्रवक्ता भोजराज कार्कीले बताए।
यस्तै महाकुलुङ गाउँपालिकाका २० वटामध्ये ७ विद्यालय बन्द रहेको पालिकाको शिक्षा शाखा संयोजक झमक कटवालको भनाइ छ। लिखुपिके गाउँपालिकाको २२ वटा सामुदायिक विद्यालयमध्ये सात बन्द रहेको शिक्षा शाखा प्रमुख गोमादेवी खड्काले बताईन्।
नेचासल्यानको ३४ विद्यालय मध्ये ३ विद्यालय बन्द रहेको गाउँपालिका उपाध्यक्ष विना राईले बताइन्। माप्यदूधकोशी गाउँपालिकाको ३९ विद्यालय मध्ये ४ वटा बन्द रहेको शिक्षा शाखा संयोजक गजेन्द्र भट्टराईले बताए।
तर सोताङ गाउँपालिकाको भने २२ वटा विद्यालयमध्ये कुनै पनि बन्द नरहेको गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले बताए। हिमाली भेगमा चिसो अत्यधिक हुने भएको धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस माघमा जाडो बिदा दिने गरेका छन् भने केहीले वर्षे बिदा दिने गरेको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले बताए।