जसले ३ महिना हिँडेरै भोट मागे

उसबेलाका कुरा

जसले ३ महिना हिँडेरै भोट मागे

उमेरले ९ दशक पार गरे पनि उपेन्द्रप्रसाद पराजुली ठेट्ना मकै मजाले चपाउन सक्छन्। श्रीमद्भागवतगीता, वेदलगायत धर्मग्रन्ध पढ्न चस्मा चाहिँदैन। पात्रोको अक्षर सानु भएकाले मात्रै यो उमेरमा चस्माको सहारा लिन्छन् उनी। कुराकानी सुन्न र कुरा बुझ्न तन्नेरी युवासँग अझै पनि प्रतिस्पर्धा गर्नपरे पछि पर्दैनन्। भन्छन्, ‘९५ वर्ष पुगे पनि मेरो स्वास्थ्यमा खासै समस्या छैन।’

१९८४ कात्तिक २२ गते शुक्रबार राति ९ बजे आफू जन्मिएको मिति ठ्याक्कै याद छ उनलाई। यहाँसम्म आइपुग्दा आफूले भोगेका कुरा कुनै मधुरो छैन दिमागमा। साथीका नामदेखि घुमेका ठाउँसम्म मात्रै होइन, कुन समय कहाँ पुगे र कसलाई भेटे ? अनि, त्यसले के भन्यो ? अहिले पनि फररर बताउन सक्ने पराजुलीका जीवनकथा सुन्दा लाग्छ, ‘ए त्यो समय त्यस्तो पनि थियो र ?’

भक्तपुर नालाछापा (चाँगुनारायण नगरपालिका–९, ताथली) मा ९५ वर्षअघि जन्मिएका उनले बाल्यकालमा विनाशकारी १९९० सालको भूकम्प मात्रै भोगेनन्, सानै उमेरमा मन्दिरमा पुजारीका रूपमा रहेर काम गर्दै दरबार हाइस्कुलमा शिक्षा लिए। भारतका विभिन्न ठाउँमा १४ वर्षको कलिलै उमेर गएर काम गर्दै पैसाको जोहो कसरी गर्नुपर्छ भन्ने पनि राम्ररी बुझे। राणाशासन, राजाशासन, लोकतन्त्र र गणतन्त्र सबै बुझेका उनी अहिलेको राजनीतिक तरंगलाई पनि मज्जाले केलाउन सक्छन्। राणाशासन हुँदै राजसंस्था र त्यसपछिका व्यवस्थाले क्रमशः नागरिकलाई स्वतन्त्र बनाउँदै लगे पनि विचारमा नेता र जनतालाई स्वच्छ कम देख्छन्, पराजुली। भन्छन्, ‘नेता स्वार्थी भए, जनताले दुःख पाए। जुन नेता आए पनि सत्ताकै दौड चल्यो।’

राजाका अघि आन्दोलन

त्यो समय हाल चाँगुनारायण नगरपालिका—९ ताथली भक्तपुरलाई नालाछाप भनिन्थ्यो। ‘भक्तपुर जिल्लाको विष्णु साहुको कोठी हुँदै हलल गाउँमा पहुँचे’ भनेर पत्र पठाउँथे। त्यहाँ रहेको मन्दिरदेखि उत्तरपछि ठुलो कोठी थियो विष्णु साहुको। सबैले विष्णु साहुलाई धेरैले मान्थे। त्यसैले उनलाई चिन्ने धेरै भएकाले पत्रमा विष्णु साहुको कोठी हुँदै हलल गाउँमा पहुँचे भनेर लेखिन्थ्यो भन्छन् पराजुली। उनको यहाँ पुख्र्यौली थलो भने होइन। अहिले नातिसहित गन्दा ७ पुस्ता भएछ बस्न थालेको।

सिन्धुपाल्चोकको ज्याम्दीबाट पुर्खा यहाँ आएर बसेको इतिहास छ उनको। ज्याम्दी दोलालघाट नजिकै पर्छ। ‘हाम्रा पुर्खाको एक सन्तान यहाँ आएर बसेकाले हामी यतै जन्मेका रहेछौं। त्यो समय यहाँ वन थिएन’, घरको पेटीमा बसेका उनी वनतर्फ आँखा तन्काउँदै भन्छन्, ‘ऊ त्यो वन पछि रोपेको राजा महेन्द्रको पालामा, पहिले त पाखोमात्रै थियो।’ राजा महेन्द्रको कुरा आउनासाथ उनी त्रिभुवनको निधन र महेन्द्रको राज्यरोहणलाई झलझली सम्झन्छन्। ‘त्रिभुवनको निधन हुँदा गौचरनमा जहाजले ल्यायो। काका र म पनि हेर्न गएका थियौं। सबै रुँदै आएका थिए त्रिभुवनलाई अन्तिम बिदाइ गर्न। त्यसपछि महेन्द्र राजा बनिहाले। यस्तो जानकारी हामीले कसैले भनेर हल्लैहल्लामा सुन्नुपथ्र्यो। राजाका त बुवाको निधन हुँदा पनि काजकिरियामा बस्नु नपर्ने रहेछ। महेन्द्र राजा हुँदा नेपाल (त्यो समय काठमाडौं, भक्तपुर र ललितपुर)मा पैसा छर्दै हात्तीमा चढेर हिँडेका थिए।’

शेर्पाले त हाम्रो माझ्ने चलन छैन, अघि डोकोमा राख्यौं भने। अनि त ती शेर्पाले खुकुरी निकालेर हिँड् भने। हामी त डरायौं। अनि उनीहरूले भनेअनुसार हिँड्यौं। बाँसझ्याङमा लगे र बाँसको ढुंग्रो काटे। हामी त बा मार्ला कि भनेर डरायौं पनि। तर, उनीहरूले त सहयोग गरेका रहेछन्।

जब महेन्द्र राजा भए, नागरिकका कुरा पनि सुन्न थाले। त्यो २०११ सालको कुरा हो। काठमाडौंमा घना बस्ती थिएन। भक्तपुरसम्म राजाको बग्गी गुडाउँथे। सानो कच्ची बाटो थियो। हामीलाई काठमाडौं पुग्न चार घण्टा लाग्थ्यो हिँडेर। 
‘त्रिभुवनको निधन भएको जिल्ला सभापतिबाट थाहा पाएँ। गोविन्द दुवाल भन्ने जिल्ला सभापतिलाई धेरै कुरा थाहा हुन्थ्यो। उनी मजदुर किसान पार्टीका नेता थिए। अनि म पनि त्यही पार्टीमा लागें। अनि सुरु भयो मेरो राजनीतिक यात्रा। कर्ण हैंजू पनि त्यसपछिका नेता थिए। उनलाई मारे रे। त्यसपछि मात्र नारायणमान बिजुक्छे यो पार्टीको अध्यक्ष बनेका हुन्। त्यो समय राजाले मन्त्री बनाउँछु भन्दा पनि यो पार्टीका नेता मान्दैनथिए। अहिले त घुमाइफिराई सत्ताको स्वाद भने त लिन्छन् नि,’ उनी सम्झन्छन्।

२०११ सालमा छोटो समय उनी मजदुर किसान पार्टीमा सदस्य बनेर काम गरे। विभिन्न माग राखेर आन्दोलन पनि गरे। झण्डा बोकेर नै विरोध गरेका थियौं। हामीले गुठीबिर्ता खारेज होस्, नेपाल बैंक खडा होस्, सहकारी खडा होस्, किसानको माग पूरा होस्, चाँडै नापी होस् भन्ने नारा लागएका थियौं। महेन्द्र राजा भएपछि यस्तो माग गरेका थियौं। पदमबहादुर बुढाथोकी राजाको निसानको जागिर छाडेर मजदुर किसान पार्टीमा लागेका थिए। हँसिया, खुर्पा कोदालोको निसान भएको झन्डा लिएर जुलुस गर्दै थियौं। हाम्रो आन्दोलन थाहा पाएपछि राजा भक्तपुर सल्लाघारीको उकालोमा आइपुगे। हामीले बाटो छेक्यौं। उनी बग्गीमा आएका थिए। अघिपछि निसान घोडा थिए। लरी चल्ने कच्ची बाटो थियो भक्तपुरसम्म। राजाले ‘तपाईंहरूको माग के हो ?’ हामीले ६ वटा माग सुनायौं। ‘तपाईंहरूको माग पूरा हुन्छ सिंहदरबारको बैठकमा आउनू’ भने। त्यसपछि मुख्य, मुख्य मान्छे गए। अनि मात्रै यहाँ नापी लागू भयो। २०११ सालदेखि माग गरेको २०२१ सालमा मात्रै माग पूरा भयो। अनि यो क्षेत्रमा नापी भएको हो। उनी सुनाउँछन्।

मजदुर किसान पार्टीमा उनी २०११ सालसम्म मात्रै रहे। त्यसपछि के.आई. सिंहको विचार उनलाई मन पर्‍यो र उनको सारथि बने। देशका विभिन्न स्थानमा पुगेर उनको पार्टीको प्रचार गरेका थिए पराजुलीले। भन्छन्, ‘त्यसपछि के.आई. सिंहको पार्टीमा लागें। २०१५ सालको चुनावको तयारीका लागि सिंहले २०१४ मा भक्तपुरको पाँचतले मन्दिरमा आएर भाषण गरे। र, भने, ‘नेपालको भ्यागुताले मुतेको पानी खाएर मेरो दिमागले काम गरेको छैन। म डोटी गएर स्वच्छ पानी खाएर आउँछु र नेपाल बनाउँछु।’ इनारको पानीलाई उनले त्यसो भनेका रहेछन्।

‘म मन्त्री बन्छु र नेपाल बनाउँछु। मेरो साथमा कार्यकर्ता बनेर हिँड्न चाहने को को हुनुहुन्छ ?’ भनेर सिंहले भाषणकै क्रममा सोधेपछि उनले हात उठाएका थिए रे। भन्छन्, ‘म चञ्चले मान्छे मैले पनि हात उठाएँ। त्यसपछि सुँडालका एकजना हरि श्रेष्ठ र जितपुरका एकजना खड्काले हात उठाए। नाम सोधेर केन्द्रीय कार्यालयमा आउनु भने। त्यहाँ भोलिपल्ट गयौं। त्यो २०१५ सालका लागि चुनावको भोट माग्न हिँड्नुपर्ने समय थियो। हामी पार्टी कार्यालयमा गएपछि पार्टीको कागजपत्र, विधान, घोषणापत्र, नारा लेखिएका कागजपत्र, एउटा माइक, सानो टर्चलाइट, झण्डा र सानो सिरुपाते खुकुरी पनि हामीलाई दिए। हाम्रो काम विभिन्न जिल्लामा पुगेर भोट माग्नुपर्ने थियो। हामीलाई दिनको ५ रुपैयाँको दरले भत्ता दिइएको थियो। त्यो 
समय त ५ रुपैयाँ ठूलो हो नि। हामीले त सबै पैसा बचायौं। सबै ठाउँमा खाना खुवाई हाल्थे सित्तैमा।’

पराजुलीसहित अन्य दुईजनाको काम विभिन्न ठाउँमा पुगेर नागरिकको तथ्यांक संकलन गर्नुपर्ने र पार्टीका लागि भोट माग्नुपर्ने हुन्थ्यो। ‘हामीले जनना र मर्दना गन्नुपथ्र्यो। जनना भनेको महिला र मर्दना भनेको पुरुष हो। हामी गाउँको जमिनदारकोमा गएर त्यो सबै विवरण लिन्थ्यौं। त्यहाँ गाउँको जमिनदारसँग सबै तथ्यांक हुन्थ्यो। त्यो समय जनगणना भएको थिएन। मालपोत जमिनदारलाई बुझाउनुपर्ने भएकाले ऊसँग सबै तथ्यांक हुन्थ्यो। त्यो समय मालपोत कार्यालय हुँदैनथियो। जमिनदारले त्यहाँ औंठाछाप लगाएर राख्थ्यो र एउटा रसिद तिरो (कर) बुझाउनेलाई दिन्थ्यो। जमिनदारले सरकारले तोकेको केही प्रतिशत राखेर अन्य सरकारलाई बुझाउँथ्यो,’ त्यो समयको प्रशासनिक काम सम्झँदै उनी सुनाउँछन्।

गाउँको सबै तथ्यांक जमिनदारकोमा हुँदा मतदाता गन्न सहज थियो। थप्छन्, ‘हामी नजिकैको बुथ कहाँ राख्ने ? कहाँ सेन्टर पर्छ भनेर पनि तोक्दै हिँड्थ्यौं। हाम्रो मुख्य काम भनेकै २०१५ सालको चुनावका लागि भोट माग्ने र बुथ तोक्ने थियो। बनेपाबाट पश्चिम हाम्रो जिम्मा थियो। बनेपा, सानुदोलुङ, ठुलोदोलुङ, कट्वा, बैदिँगे, अध्येरी, फापरबारी, पाथीभरा, सालघारी, सल्यानी, माझीगाउँ, राईगाउँ, डाँडागाउँ हुँदै सिन्धुली निस्कियौं। त्यहाँबाट रामेछापलगायत धेरै ठाउँमा तीन महिना हिँडेर नै भोट मागेका थियौं। हामी त्यो समय पहाड घुमेर झापासम्म पुगेका थियौं। पुसको ७ गते हिँडेको फागुन १५ गते चुनाव थियो। जमिनदारकोमा बसेकाले खानेकुरा किनेर खानु परेन। भत्ता जोगाइयो।

अकस्मात चुरेको ओडारमा बस्नुपर्दा ...

भोट माग्न जिल्ला हिँड्दा पराजुलीले पाएका दुःख कम छैनन्। भन्छन्, ‘अहिले पनि सम्झँदा मन सिरिङ हुन्छ। हरि श्रेष्ठ, म र अर्को खड्का मात्रै थियौं। सिन्धुलीको चुरे जंगलमा रात पर्‍यो। नहिँडेको बाटोमा अलपत्र पर्‍यौं। झ्याउँकिरी कराउँदै थियो। संयोग भन्नुपर्छ, दुई सयजना अट्ने ओडार भेट्यौं। त्यहाँ पहाडबाट नुन साट्न झर्नेहरू बस्दा रहेछन्। त्यहाँ हामीभन्दा पहिले तीनजना भोटेहरू पुगेर बसेका रहेछन्। उनीहरू कोदोको ढिँडो पकाउँदै थिए। हामीले पनि चामल, नुन, खुर्सानी र गुन्द्रुक पनि बोकेका थियौं। तर, भाँडो थिएन।’ 

पकाउने चामल मात्रै भएर के गर्नु ? उनी प्रश्न गर्दै विगत सुनाउँछन्, ‘शेर्पाहरूले खाइसके। मैले पनि उनीहरूलाई भाँडो मागेको। शेर्पाले त हाम्रो माझ्ने चलन छैन, अघि डोकोमा राख्यौं भने। अनि त ती शेर्पाले खुकुरी निकालेर हिँड् भने। हामी त डरायौं। अनि उनीहरूले भनेअनुसार हिँड्यौं। बाँसझ्याङमा लगे र बाँसको ढुंग्रो काटे। हामी त बा मार्ला कि भनेर डरायौं पनि। तर, उनीहरूले त सहयोग गरेका रहेछन्।’

‘सेतो सुकिलो भएर राजाको गाउँले भैखाका हामी’ उनी राजाको गाउँले भनेको प्रसंग कोट्याउँदै कथालाई मोड्छन्, ‘एकपटक हामीलाई एकजना बूढी महिलाले तिमीहरू राजाका गाउँले भनेकी थिइन्। उनको छोरो जमिनदार रहेछन्। दाहाल थरका थिए तिनीहरू। रामेछापको सिरान हो गाउँ। हामीले त्यहाँ पुगेर तपाईंका छोरा जमिनदार रहेछन् नि, कता हुनुहुन्छ ? हामी भेट्न आएको भनेपछि ती बूढीले ‘ए जेठा, राजाका गाउँले आइरान्। झट्ट घर आइजो’ भनेर बोलाइन्। त्यो छोरो पारिपट्टि रहेछ। हिँडेर घर आउँदा दुई/तीन घण्टा लागेको थियो। छोरो आएपछि गाउँको लगत फलैंचामा बसेर हेर्‍यौं। हामी त्यो रात त्यही बसेका थियौं। नौनी पगालेर मकैको पिठो भुटेर रातो पुवा बनाएर दूधसँग खुवाइन् ती घरधनी बूढीआमैले। दूध पनि काठको डाँडुले उघाएर दिन्थिन्। एक माना जति नै हुन्थ्यो। सागको तरकारी खुवाएकी थिइन्। त्यो निकै स्वादिलो थियो। अहिले पनि मेरो मुखमा झुन्डिरहेको छ। सारै मिठो थियो।’

दाहालकोमा बसेर हिँडेको दिन नै उनीहरूको रातको बसाइ चुरेको जंगलमा भएको रहेछ। पुनः शेर्पाले बाँसको ढुंग्रो काटेको प्रसंग जोड्दै उनी अघि थप्छन्, ‘शेर्पाले हामीलाई भात पकाउन बाँसका ढुंग्रो बनाइदिएका रहेछन्। त्यो पनि दुई वटा। त्यहाँ पानी पाइँदैनथ्यो। शेर्पालाई केमा पानी हुन्छ थाहा रहेछ। एउटा पानी लहरो भन्ने हुँदो रहेछ। काटेर ढुंग्रो थापे। धारामा खोले जसरी तुरुरुरु पानी आउँदो रहेछ। त्यहीँ पानी हालेर ढुंगोमा चामल हाल्यौं। र, सालको पातले बेरेर र बुझो लगाएर आगोको कोइलामा घुसारेपछि त त्यो भित्रभित्रै पाक्दो रहेछ। त्यहाँ धुनी लगाएको थियो। पुसको दिन जाडोमा दाउरा धेरै हालेर आगो बालेको थियो। जंगलमा दाउराको दुःख हुँदैन। त्यो बाँसमा हालेको चामल पाकेपछि बाँसको आँख्ला प्याट्ट फुट्यो पट्किएर। त्यसैलाई बाँडेर सालको पातमा खाँदै त्यो रात त्यहीँ ओडारमा कटाएका थियौं।’

तोप चलेको भरमा काममा लाग्नुपथ्यो राणाशासनमा। बेलुका ९ बजेबाट हिँड्न पाइँदैनथियो। अहिले पार्टीका नेताले पनि आफ्नालाई मात्रै हेरे। अझै पनि नागरिक धेरै गरिब छन्। पालमुनि पनि छन् नागरिक। तर, यो विषयमा कसैले सोचेनन्।

एकातिर के.आई. सिंहलाई जिताउने, अर्कोतर्फ भत्ता जोगाउने सुरु। केही पैसा मात्रै बोकेर हिँडेका उनीहरू सीमित ठाउँमा खर्च गर्थे रे। ‘पैसा पनि अलिअलि बोकेका थियौं। कहीँ आपत् परेको समयमा खर्च गथ्र्यौं। त्यसपछि सिन्धुलीको दरबार हेर्दै बर्दिबास गएर भोट माग्यौं। गढीमा आर्मी नै राखेको थियो। त्यो समय बर्दिबासमा सानो गाडा हिँड्ने बाटो थियो। त्यहाँ पुग्दा खाजा खाने समय भयो। १० पैसा मानो दही र ८ पैसा मानो चिउरा किनेर तीनजनाले खायौं र झापातर्फ लाग्यौं।’

त्यो समय पनि गीत गाएर भोट माग्ने चलन रहेछ पराजुलीका कुरा सुन्दा। ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो, पेटभरि खान पाए सबैलाई रमाइलो’ भन्दै गीत गएर र अन्य कुरा भनेर भोट माग्थ्यौं। सबैले मान्छे पठाएर भोट मागेका थिए। त्यो समय कांगे्रसका मान्छे र हाम्रो झगडा पनि परेको थियो, झापामा। उनीहरूले हामीलाई नयाँ पार्टी खोलेर तिमीहरूले के गरेका भने। हामीले पनि नेताले खोलेको यो पार्टी भन्ने कुरा गर्‍र्याैं’, उनी पार्टी र प्रचारको कुरा सम्झन्छन्।

  •  राजाका अघि उभिएर आन्दोलन गर्‍र्यौं, अनि मात्रै भक्तपुरमा नापी भयो।
  •     २०१५ सालको चुनावमा भोट माग्न हिँडेर नै झापासम्म पुगें। ३ महिनामा घर फर्किएँ।
  •     के.आई सिंहले भोट माग्न जाँदा ५ रुपैयाँ भत्ताा दिएका थिए। जम्मा गरेर जग्गा किनें।
  •     १४ वर्षमा विवाह भयो। विवाह भएको ५ महिनामा भागेर भारत गएँ। ८ वर्षपछि फर्किएँ।
  •     दरबार हाइस्कुलमा पढ्दा राणाका छोराछोरी माथि बसेर पढ्थे, हामी सुकुलमा।
  •     अहिलेका नेता स्वार्थमा लागे, सत्ताादेखि अरू केही सम्झेनन्। 

झापाको बुधबारे, गौरीगन्ज, माइधार हुँदै पुनः फर्किए उनी। काठमाडौंबाट धेरै ठाउँ हिँडेरै पुगेको अनुभव छ उनीसँग। ‘हामी सबै ठाउँ हिँडेरै गयौं। झापाबाट रौतहट आयौं। त्यहाँ के.आई. सिंहको झण्डा गाडेर बसेका एक व्यक्ति थिए। ए ! हाम्रो पार्टी रहेछ भन्ने लाग्यो र त्यहाँ पुगेर चिया खायौं। कुरा गर्दै जाँदा उहाँ त मेरो फुपाजु हुनुहुँदो रहेछ। अनि पारिवारिक कुरा भयो। सानैमा देखेकाले चिनिनँ। म रुद्रप्रसादको छोरा भनेपछि छक्क पर्नु भयो। त्यहाँबाट मकवानपुर आयौं, त्यहाँबाट चितवन आयौं। त्यो समय नारायणीको पुल थिएन। गाडी पनि डुंगामा ल्याउँथे। डुंगामा पारी तरेर अर्को जिल्ला गयौं। चुनाव हुने दुई दिनअघि मात्र काठमाडौं आइपुग्यौं।’

२०१५ सालमा चुनाव भयो तर के.आई. सिंहले हारे। कांग्रेसले दुई तिहाइ बहुमत ल्याएर जित्यो। तर, पराजुलीले उनीबाट पाउने भत्ता बुझिसकेका थिए। अहिले उनलाई सम्झँदै भन्छन्, ‘उनको इतिहास लामो छ। मैले मजदुर किसान पार्टीको खासै लक्षित काम देखिनँ अनि छाडेको थिएँ। पछि सिंंह हारेपछि २०१७ सालबाट त्यति चर्चामा रहेनन्। महेन्द्रको नजिक भएर काम गरे र भन्ने सुनेको थिएँ।’

९० सालको भूकम्प सम्झँदा

‘१९९० सालको भूकम्पमा सानै थिएँ,’ पराजुली भूकम्पको दिन सम्झँदै भन्छन्, ‘मामाघर सिस्नेरीमा थिएँ। ललितपुरको गोदावरी जाने बाटोमा पर्छ यो। आमा बहिनी जन्मिएपछि माइत जानु भएको थियो। हामी मावलको चोटामा बसेका थियौं। भुइँचालो आयो भनेपछि भागेर पर खुल्ला ठाउँमा गएर बस्यौं। हेर्दै थियौं क्रमशः धेरै घरहरू ढले। पूरा माटोको धुवाँजस्तो उडेको थियो काठमाडौंमा। यहाँ हाम्रो घर भत्किएन। तर, गोठ ढलेर बाच्छो मरेछ। बुवा आर्मीमा हुनुहुन्थ्यो त्यो समय। तर, आर्मी भन्दैनन्थिए, सिपाइँ भन्थे। १६ वर्षमै जागिर खानुभएको थियो बुबाले। डेरामा बसेर कवच खेल्नुपथ्र्यो रे। ५ सुका भाडा तिर्नुपथ्र्यो। तलब ९ रुपैयाँ थियो रे। घरबाट लगेर खानुपथ्र्यो। भूकम्प गएको समय बुवा हेटौंडा सवारी जानुभएको थियो रे। ‘ल पल्टन फिर्ता होऊ, नेपालमा तीनै सहर भष्म भएको छ, उद्धारमा आउनुपर्छ’ भनेर बोलाएछन्। अनि त्यो समयमा एक रुपैयाँ बढाएर १० रुपैयाँ तलब बनाइदिएछन्। तर, बुवाले पेन्सन नपाकी छाड्नु भएछ।’

के.आई. सिंहले दिएको पैसाले जग्गा

२०१७ सालमा पैसा साह्रै महँगो थियो। भन्छन्, ‘जग्गा थियो तर पैसा थिएन।’ उनी पैसाका लागि गरेको संघर्षका दिन सम्झन्छन्, ‘केही पैसा जम्मा गरेको थिएँ। पहिले फुपाजु भेटिएको रौतहटको चन्द्रनिगाहपुरमा गएर २५ कठ्ठा जग्गा किनें। सडक नबने पनि गाडा कुदाउने ठाउँ थियो। २०१८ सालमा जेठो छोरा जन्मिएको थियो। श्रीमती र छोरालाई लिएर गएँ र त्यहाँ २०३६ सालसम्म त्यहीँ खेती गरेर बसें। पहिले भारत गएर कमाएको पैसा जोगाएर राखेको थिएँ। त्यो पैसा पनि त्यहीँ खर्च गरे। छोराहरूलाई पढाएँ। उनीहरूले राम्रो पढे। सल्लाघारीमा जेठो छोरोले सबैभन्दा बढी नम्बर ल्याएर त्यो समय शिक्षक पनि भयो। कान्छो छोरो समाजसेवामा छ। विद्यालय सञ्चालन गर्छ। सबैलाई शिक्षा बाँडिरहेको छ। दामभन्दा पनि नाम ठूलो हो नि।’

दरबार स्कुलमा सुकुलमा बसेर पढ्दा

‘८ वर्षमा व्रतबन्ध गरिदिनुभयो। म जहाँ गए पनि धर्म छाडेको छैन। ब्राह्मणको जात भएपछि न्यासध्यान र अध्ययन गर्नुपर्छ। अहिले पनि म गीता र भागवत् पढ्छु’, उनी यसरी पढाइको कुरा अघि बढाउँदै भन्छन्, ‘९ वर्षको हुँदा थापाथलीको पुलछेउको सेतो दरबारको मन्दिरमा मलाई बुवाले काममा लगाइदिनुभयो। त्यहाँ मन्दिरमा पूजा गर्दै दरबार स्कुल गएर पढ्न पाउँथे। बुवा आर्मी हुँदा त्यहाँ चिनजान रहेछ। त्यहाँ एकजना पूजा गर्ने ब्राह्मण चाहियो भनेपछि बुवाले लगेर राखिदिनु भएको हो। बाहुनी बजै थिइन्। खाना पकाउँथिन्। बिहान–बेलुका मन्दिरमा पूजा र आरती गर्थें। मलाई तलब पनि दिइएको थियो। दिउँसो दरबार हाइस्कुल पढ्न जान्थें। एउटा गाई पनि दिएका थिए मलाई। त्यो गाई म स्कुल जाँदा सानो टुँडिखेलमा छाडिदिन्थें र पढ्न जान्थे। चर्दै, चर्दै ठुलो टुँडिखेल पुग्थ्यो र बेलुका लिएर फर्कन्थें। १० देखि ४ बजेसम्म पढाइ हुन्थ्यो। दरबार स्कुलमा पढ्दा राणा र पावरवाला राणाका पक्षका मान्छे माथि बसेर पठ्थे। हामी तल सुकुलमा बसेर पढ्नुपथ्र्याे। उनीहरू 
अंग्रेजी पढ्न पाउँथे। हामी पाउँदैनथियौं। चन्द्रशमशेरले पछि त्रिचन्द्र कलेज पनि बनाए।

त्यो टुँडिखेलमा सबैले गाई चराउँथे। १/२ सय जति गाई त्यहाँ चरिरहेका हुन्थे। ९ वर्षदेखि १४ वर्षसम्म त्यहाँ पढें। कात्तिकमा १४ वर्ष लागें। मंसिरमा बुवाले बिहे गर्नुपर्छ भन्नुभयो। घरमा गर्ने मान्छे पनि छैन भन्नुभयो। मलाई बिहे के हो के भन्ने लाग्थ्यो। कटुन्जे, तीनधारे भन्ने ठाउँमा लिएर जानुभयो र केटीको कुरा छिन्नुभयो। कुरा छिन्दा केटीका बुवाले जनैसुपारी हातमा राखेर टीका लगाइदिँदै ‘ल पाले पुण्य, मारे पाप, अब मेरी छोरी तपाईंकी भई’ भनेका थिए। पछि बिहे भयो। म १४ वर्षको थिएँ, उनी ११ वर्षकी।’

अनि १४ वर्षकै उमेरमा घरबाट भागे उनी

मंसिरमा विवाह भयो। वैशाखमै उनी घर परिवार छाडेर निस्किए। कसैले पनि थाहा पाएन भन्छन् पराजुली। ‘त्यो समय बुवा, आमा मकै छर्न जानु भएको थियो। मलाई के भयो थाहा छैन। मनमा के कुरा आयो, किताब र केही कपडा बोकेर घरबाट हिँडें। कता हिँडेको मैलाई थाहा थिएन। भक्तपुर झरें। ‘ल रत्नपार्क, रत्नपार्क’ भन्दै लरीको मान्छे करायो। अनि २ पैसा तिरेर रत्नपार्क झरें र कालीमाटी हुँदै थानकोट गएँ। अहिलेको चेकपोस्टबाट चित्लाङ जाने बाटो थियो। त्यहाँबाट चित्लाङ हुँदै ओरालो झरें र बेलुका मार्खुमा गएर बास बसें।

त्यहाँबाट चिसापानी गढी भन्ने ठाउँ आउँछ। त्यो समय पनि बाहिर जान पास (अहिलेको भिसा जस्तै) चाहिन्थ्यो। तर, म केही नलिकन गएको थिएँ। मन्त्रालयले अहिलेको पासपोर्ट जस्तै पास दिन्थ्यो। नेपालकै एक ठाउँबाट अर्को ठाउँ जाँदा पनि त्यो चाहिन्थ्यो। म गढी पुगेपछि सिमानामा एउटा सेना देखें। एकछिन लुकेर बसें। पिसाब लागेछ क्यारे उसले राइफल अडेस लगाएर अलि पर गयो। म त्यहीँ समय लुकेर लुक्वा बाटो हुँदै भीमफेदी गएर बसें। त्यहाँ होटेलहरू थिए।

मसँग पैसा थिएन। पहिले मन्दिरमा बस्दाको पैसा पनि बुवालाई बुझाउनुपथ्यो। मसँगै घरबाट हिँड्दा ७ पैसा थियो। पहिले लरीलाई २ पैसा दिएकाले त्यहाँ पुग्दा ५ पैसा मात्रै बाँकी थियो। एउटा होटलमा बसिरहेको थिएँ। त्यहाँको साहुनीले तपाईं ज्योतिष हेर्नुहुन्छ ? भनेर सोधिन्। मैले हेर्दिनँ अलि अलि पढ्छु मात्रै भनें। मसँग वेद, कौमुदी र अर्को आँखा चिम्लिएर अंक छुने र त्यो अंक भएको ठाउँमा लेखेको कुरा पढ्दा आफ्नोबारे थाहा हुने पुस्तक थियो। ती साहुनीलाई पनि ५ रुपैयाँ र दूबो राखेर त्यसरी छुन लगाएँ र त्यहाँ लेखेका कुरा भनेको ठ्याक्कै मिलेछ। उनी खुसी भइन्।

संयोगवश त्यहाँ इन्डियन आर्मीमा काम गर्ने पाँच जना सिपाही पनि आएका रहेछन्। उनीहरूले पनि मलाई  हेराए। मलाई १०/१० रुपैयाँ दिए। मसँग ५५ रुपैयाँ भयो। बेलुका रोटी खाएँ र सुते। भोलिपल्ट ७ बजे अमलेखगन्जबाट गाडी आउँथ्यो। त्यहाँ चुरेमा सुरुङ हुँदै मिनीबस आउँथ्यो। म पनि त्यही गाडी चढेर अमलेखगन्ज र त्यहाँबाट नेपाल रेल चढेर वीरगन्ज गएँ। त्यहाँ पारि रक्सौल पर्छ त्यो बाटो हुँदै समस्तीपुर गएँ। त्यहाँबाट गोरखपुर जाने गाडीमा चढेंछु। म कहाँ जाने टुंगो पनि छैन। जहाँ गाडी भेट्यो त्यही चढ्थें। त्यहाँ त टिकट काट्ने मात्रै चढ्दा रहेछन्। मलाई कन्टेक्टरले ‘कहाँ से आया ?’ भन्दै टिकट माग्यो। छैन भनें। त्यत्तिकै छाड्यो।

त्यहाँबाट गोरखपुर पुगें र त्यहाँ पुलमा बसिरहेको थिएँ। त्यहाँ एउटा नेपाली आएर सोधे। जुद्धशमसेरजस्तै जुँगा पालेको मोटो मान्छे थिए। कहाँबाट आएको भनेर सोधे। मैले नेपालबाट भनें। यसरी हिँड्नु हुँदैन भनेर घरमा लिएर गए। मलाई पालेर राखे। उनी नेपालबाट पहिले नै भारत गएर उतैको नागरिक भइसकेका रहेछन्। कति पढेको भनेर सोधे। मैले नढाँटी भनें। मलाईं अंग्रेजी पढाउने भनेर भर्ना गरे। मैले त्यहाँ ७ महिना पढें।

अंग्रेजी विषय ब्राह्मणले पढ्नु हुँदैन भन्ने थियो त्यसबेला नेपालमा। त्यसपछि म बनारसमा गएर एक वर्ष बसें। त्यहाँबाट पनि हिँडें। कलकत्ता हाउडा पुगें र त्यहाँ ६ वर्ष बसें। त्यहाँ चटरर्जी भन्ने भारतीय ब्राह्मणलाई भेटें। एउटा कार्यालयमा गेटपाले बनाए अनि मलाई उनले काम लगाए। कुरियरजस्तो ठाउँ हो त्यो। त्यहाँ नेपालीलाई खुबै मान्थे। काम अलिअलि अंग्रेजी लेख्ने र हस्ताक्षर गर्न जान्ने भएकाले काम पाएको हुँ। मलाई ५० रुपैयाँ तलब दिएको थियो। त्यसपछि २००७ सालमा घर फर्किएर आएँ। यता घरमा जमिनको दुःख थिएन। पैसाको दुःख थियो। मैले यतै आएर ११ सयमा ५ रोपनी खेत लिएँ पहिले।

म त्यत्तिकै घरबाट हिँडेपछि केही समय त खोजेछन्। मैले पत्र पनि पठाएको थिएँ। तर, त्यो आइपुगेनछ। पछि आउँदा घरमा धेरै सामान लिएर एउटा मान्छेलाई बोकाएर आएको थिएँ। म फर्किएर आएको थाहा पाएपछि गाउँभरिका मान्छे हेर्न आए। त्यतिञ्जेल श्रीमती कुरेर बसेकी थिइन्, म आउने आशामा। त्यसपछि यतै जजमानी गरें। राजनीति गरिनँ। राजनीतिलाई नजिकबाट हेरिरहेकै छु। यसो विचार गर्छु, पहिलेभन्दा अहिले धेरै परिवर्तन भएको छ। खुल्ला रूपमा हिँडडुल गर्न पाएका छन्।
तोप चलेको भरमा काममा लाग्नुपथ्र्यो राणाशासनमा। बेलुका ९ बजेबाट हिँड्न पाइँदैनथियो। अहिले त सबै फ्रि भएर पनि स्वच्छ रूपमा काम गरेनन्। पार्टीका नेताले पनि आफ्नालाई मात्रै हेरे। अझै पनि नागरिक धेरै गरिब छन्। जंगलमा बसेका छन्। अहिले पनि पालमुनि छन् नागरिक। तर, यो विषयमा कसैले सोचेनन्। म त यो विषयमा जहिले पनि बोल्छु। पहिले टेलिभिजनमा पनि यो नेताहरूले सद्दे कुरा गरेनन्। धाक लगाउँछन् तर काम गर्दैनन् भनेर पनि भनिदिएको थिएँ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.