कर्णालीका खाद्यवस्तुको गुणस्तर कमजोर
सुर्खेत : कर्णालीमा खाद्यवस्तुहरूको गुणस्तर कमजोर पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले गरेको सर्वेक्षणमा कर्णालीका होटल तथा रेस्टुराँ र बजारमा पाइने खाद्यवस्तुहरूमा गुणस्तर कमजोर रहेको पाइएको हो।
खाद्य प्रविधि तथा गुणस्तर कार्यालय सुर्खेतले आयोजना गरेको दोस्रो त्रैमासिक समीक्षा गोष्ठीमा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो। कर्णाली प्रदेशका प्रमुख सचिव डा.गोपीकृष्ण खनालको प्रमुख आतिथ्यमा भएको गोष्ठीमा खाद्य प्रविधि तथा गुणस्तर कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, जुम्ला, हुम्ला, मुगु, डोल्पा जिल्लामा रहेका होटल, रेस्टुराँ र खाद्य बजारमा गरिएको अनुगमनमा अधिकांशमा न्यून गुणस्तर फेला परेको बताए। उनले भने, कर्णालीमा खाद्यवस्तुको प्रयोग गर्दा निकै ध्यान दिनुपर्छ। यहाँका अधिकांश होटल, पसलहरूमा पाइने खाद्य वस्तुहरू न्यून गुणस्तरको छ।’
खाद्य प्रविधि तथा गुणस्तर कार्यालय सुर्खेतले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म ३ सय ६२ वटा होटल, पसलमा अनुगमन गरेको छ। साथै २ सय ६६ वटा खाद्यवस्तुको नमुना विश्लेषण गरेको छ। जसमा अधिकांशमा गुणस्तर न्यून पाइएको छ। गुणस्तर परीक्षणबाटै हालसम्म जम्मा १ लाख ९२ हजार राजस्व पनि संकलन गरेको छ। कार्यालयका अनुसार कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूबाट अनुगमनका क्रममा फेला परेका ८ लाख २० हजारबराबरको अखाद्य वस्तु नष्ट पनि गरेको छ। सुर्खेतको भ्याली भ्यु होटललगायतका १० वटा होटल तथा पसलहरूलाई कारबाही पनि गरेको छ। कर्णालीमा उद्योग दर्ता र नवीकरणका लागि ४७ वटा सिफारिस पनि गरेको छ। पहिलो चरण ४७ वटा खाद्यवस्तुको नमुना परीक्षणको रिपोर्ट आउँदा १५ वटा प्रतिकूल र अधिकांश न्यून गुणस्तर आएको छ।
कार्यक्रममा सहभागी सरोकारवालहरूले दैनिक उपभोग्य वस्तुको गुणस्तर परीक्षणलाई व्यापक रूपमा गर्नुपर्नेमा जोड दिए। नियमित अनुगमन र गुणस्तर परीक्षणले बजारमा उत्पादन हुने खाद्यवस्तुको गुणस्तर सुधार हुने उनीहरूको थियो।