सयौंकी ‘आमा’ उपसभामुख

सयौंकी ‘आमा’ उपसभामुख

काठमाडौं / झापा : रास्वपा सांसद इन्दिरा राना मगर १२औं उपसभामुख बनेकी छन्। प्रतिनिधिसभाको शनिबारको बैठकमा मतदान हुँदा सत्ता गठबन्धनकी उम्मेदवार मगर १ सय ६६ मत पाएर उक्त पदमा निर्वाचित भएकी हुन्। विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेस सांसद मुक्ताकुमारी यादवले ९७ मत पाइन्। 

प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये मतदानमा २ सय ६४ जना सहभागी थिए। नेमकिपाका प्रेम सुवाल तटस्थ बसे। मगरका प्रस्तावक रास्वपाकै सोबिता गौतम, समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन थिए। यादवका प्रस्तावक कांग्रेसका बद्रीप्रसाद पाण्डे, समर्थक एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला थिए।

नवनिर्वाचित उपसभामुख मगर सामाजिक सेवाबाट राजनीतिमा आएकी हुन्। उनलाई छोरी सुवानी आले मगरले मात्र होइन, ५ सयभन्दा धेरैले आमा भनेर बोलाउँछन्। उनको संस्था बन्दी सहायता नेपालअन्तर्गत विभिन्न ठाउँमा १ सय ९० बालबालिका आश्रित छन्। उनले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिएकी हुन्।

झापाको अर्जुनधारा नगरपालिका–११ देउनियाँ बस्ती सालबारी निवासी ५२ वर्षीया मगर संघर्षशील नारीका रूपमा परिचित छिन्। उनको जन्म झापाकै साबिक शनिश्चरे गाविस–६ मा २०२७ साल असार १८ गते मध्यमवर्गीय परिवारमा भएको हो। उनी प्रतापसिंह र मनमाया मगरकी कान्छी छोरी हुन्। 

पढ्न इच्छा हुँदाहुँदै पनि ११ वर्षको उमेरसम्म विद्यालय जान पाइनन्। आफू बुझ्न सक्ने भएपछि दाजुले पढेको देखेर वस्तु चराउन जाँदा झिँजाले लेख्न सिकिन्। अन्ततः एकै पटक कक्षा ५ मा भर्ना भई पहिलो पटकमै प्रथम भइन्। १६ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेपछि क्याम्पस पढ्न दमक गइन्। परिवारको कमजोर आर्थिक अवस्था बुझेर सरहरूले छात्रवृत्तिको व्यवस्था मिलाएका थिए। 

झापाबाट थप अध्ययन गर्न २०४७ सालमा काठमाडौंतर्फ लागिन्। काठमाडौं गएर पब्लिक युथ क्याम्पसमा भर्ना भइन्। खान र बस्न धौधौ भएपछि निजी कम्पनीमा काम गरिन्। स्नातकसम्मको अध्ययन २०५३ सालमा पूरा गरिन्। सन्तानलाई लालनपालन गर्नुपर्ने भएका कारण स्नातकोत्तर अध्ययन भने पूरा गर्न सकिनन्। 

अध्ययनकै क्रममा मानवअधिकारवादी संस्था हुरान उपाध्यक्षसमेत रहेकी साहित्यकार पारिजातसँग भेट भयो। त्यसपछि नै उनको जीवनले नयाँ मोड लियो। पारिजातसँगै केन्द्रीय कारागार आउजाउपछि कैदीबन्दीका नानीहरूलाई पढाउन थालिन्। अन्ततः कैदीबन्दीकै छोराछोरीको हेरचाह र पढाइलेखाइमा निरन्तर लागिरहिन्। 

पारिजातसँग स्वयंसेवकका रूपमा काम गरेर सामाजिक सेवामा लागेकी उनले सन् २००० मा बन्दी सहायता नेपाल स्थापना गरिन्। उनले काठमाडौंका नयाँ बजार, साँखु, पाल्पा र झापामा संस्थाको शाखा खोलिन्। जसमार्फत सयौं बालबालिकालाई निःशुल्क आवाससहित शिक्षादीक्षा प्रदान गरिन्। ७० भन्दा बढी कारागारमा रहेका कैदीबन्दीलाई सेवा दिइन्। आफ्नो संस्थामा आश्रित बालबालिकामध्ये ‘ठूला’लाई पेन्टिङ, सिलाइ, बुनाइ, कृषिजस्ता आयमूलक काम पनि सिकाइन्।

उनी विभिन्न प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत तथा सम्मानित भइसकेकी छन्। सन् २००५ मा अशोक फेलोबाट सम्मानित भइन्। त्यसबापतको रकम संस्थाको पूर्वाधार निर्माण, संस्था विस्तार र बालबालिकाको हितमा खर्च गरिन्। तीन वर्षलाई मासिक ३ सय डलर उनका लागि वरदान साबित भएको थियो। उनी सन् २०१४ मा स्विडेनकी महारानी सिल्भियाद्वारा विश्व बाल सम्मान पुरस्कारबाट सम्मानित भइन्। बीबीसीले उनलाई सन् २०१७ मा संसारका उत्कृष्ट १०० महिलाको सूचीमा राख्यो। 

सामाजिक कार्य गरिरहेकै बेला उनी पछिल्लो समय रास्वपामा आबद्ध भएकी थिइन्। उनी उक्त पार्टीबाट समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चयन भएकी हुन्। सभामुख देवराज घिमिरे र उनी दुवै जना झापा क्षेत्र नम्बर २ अन्तर्गत अर्जुनधारा नगरपालिकाका बासिन्दा हुन्।  उनले कैदीबन्दीका सन्तानको रेखदेख र पालनमै सन्तुष्टि मिलेको बताउँदै आएकी थिइन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.