तीन दशकपछि बल्यो ‘हंस ज्वाला’

तीन दशकपछि बल्यो ‘हंस ज्वाला’

दैलेख : दैलेखको पञ्चकोशी तीर्थस्थलमध्ये पादुकास्थित हंस ज्वाला बलेको छ। तीन दशकभन्दा धेरै समयदेखि निभेको पादुकास्थान क्षेत्रको हंस ज्वाला पुनः प्रज्वलित गरिएको हो। पाँच थान पञ्चकोशीको जिल्लाले परिचित दैलेखको पादुकास्थित दुल्लु नगरपालिका–९ पादुका मन्दिर क्षेत्रमा झन्डै तीन दशकपछि हंस ज्वाला पुनः प्रज्वलित गरिएको हो। 

पादुका खोलामा आएको बाढीले यहाँको दर्जनौं मन्दिर, पादुकास्थानको मूल ज्वालागृह रहेको मन्दिरसहित ज्वाला गृह बगाएको थियो। २०२८ मा पादुका खोलामा आएको बाढीले मुख्य ज्वाला पुरेको थियो। यो स्थानमा जमिनबाट निस्केको ग्यासका कारण निरन्तर ज्वाला बल्ने गर्दछ। प्रदेशसभा सांसद घनश्याम भण्डारी पादुका खोलामा बाढी आएपछि ज्वाला बल्न बन्द भएको बताउँछन्। 

भग्नावशेष बनेको मन्दिर परिसरमा उत्खनन् हुन सकेको थिएन। मूल मन्दिर क्षेत्रको करिब एक किलोमिटर उत्तरपूर्वी खेतको बिचमा रहेको हंस ज्वाला भने उत्खनन् पछि पुनः बल्न थालेको हो। उक्त ज्वालालाई हंस ज्वालाका रुपमा चिनिन्छ। चामुन्डाविन्द्रासैनी नगरपालिका–६ का नरबहादुर शाहीले ज्वालालाई हंस तीर्थ पनि भन्ने गरिएको जानकारी दिए। हंस तीर्थमा मानिस बितेको १०औं दिनमा दान गरेपछि सिधै स्वर्ग जान्छ भन्ने धार्मिक विश्वास रहेको शाहीले बताए।

दुल्लु नगरपालिकाको समन्वयमा संघीय सरकारले दिएको १० लाख बजेटमा मन्दिरको जीर्णोद्वार तथा उत्खनन् गरिएपछि ज्वाला पुनः बल्न थालेको हो। हंस ज्वाला प्रज्वलित भएपछि दर्शनका लागि पुग्ने स्थानीयहरूको संख्या बढ्न थालेको छ। स्थानीय हिमाल जिसीले हंस ज्वाला बल्न थालेपछि दर्शनार्थीको भीड लाग्ने गरेको बताए। उनले पञ्चकोशी तीर्थस्थलमध्येको महत्वपूर्ण स्थलका रुपमा रहेको पादुको संरक्षण र प्रचारप्रचारमा राज्यले ध्यान दिन नसकेको बताए। 

भौतिक संरचनाहरू जीर्ण बन्दै गएको बताउँदै जिसीले संरचनाहरू पुनर्निर्माण तथा रेखदेखका लागि आवश्यक व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर वैराग्यमा त्रिलोक भ्रमण गर्ने क्रममा शरीरका अंग पतन भएको ५२ वटा विभिन्न स्थानहरू शक्ति पिठका रुपमा स्थापित गरेको पादुकास्थान मन्दिरका महन्त जीवननाथ योगीले बताए।  जसमध्ये शिर, छाती, नावी, पाउ र अस्तु खसेको स्थानलाई पाँच थान पञ्चकोशी धामका रुपमा पूजापाठ गरिँदै आएको महन्त योगीले बताए। यी पाँच स्थान दैलेखमै पर्छन्। शास्त्रमा पाँच वटै स्थानमा अग्नि ज्वाला प्रज्वलित भएको भन्ने उल्लेख छ। यसअघि श्रीस्थान र नाविस्थान गरी दुई स्थानमा ज्वाला बल्दै आएको थियो। 

अहिले पादुकास्थानको हंस ज्वाला पनि थपिएको हो। अब पञ्चकोशी क्षेत्र दर्शन तथा अवलोकन गर्न आउने दर्शनार्थी तथा पर्यटनकहरूले तीन स्थानमा ज्वाला बलेको हेर्न पाउनेछन्। दैलेखको पञ्चकोशी तीर्थस्थललाई नेपाल सरकारले एक सय वटा पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.