माघ १० गतेदेखि हिसान स्पोर्टस मिट
विराटनगर : राष्ट्रियस्तरका खेलाडीहरू उत्पादन गर्ने उद्देश्यका साथ मोरङको विराटनगरमा ११ औं संस्करणको हिसान स्पोर्टस मिट हुने भएको छ।
आउँदो माघ १० गतेदेखि १६ गतेसम्म विराटनगरमा स्पोर्टस मिट हुने भएको हो। विराटनगरमा आइतबार पत्रकार सम्मेलन गर्दै आयोजकले खेल प्रतियोगिताबारे जानकारी दिएको छ।
आयोजकका अनुसार कुल ७ दिनसम्म चल्ने स्पोर्टस मिटमा कक्षा ११ र १२ का विद्यार्थीहरूले प्रतिस्पर्धा गर्नेछन्। स्पोर्टस मिटमा फुटबल, क्रिकेट, भलिबल, बास्केटबल, टेबल टेनिस र एथलेटिक्स गरी कुल ६ प्रकृतिका खेलहरू खेलाइने छ।
विराटनगरस्थित सहिद रंगशालामा प्रतियोगिताको तयारी भइरहेको हिसान मोरङका अध्यक्ष अमित ढकालले बताए। उनले प्रतियोगितामा ११ र १२ का कुल २२ वटा टिमहरूको सहभागिता रहने जानकारी दिए।
यही मंगलबारदेखि हुन लागेको स्पोर्टस मिटमा मोरङबाट प्लट टु अध्ययन अध्यापन हुने ३५ वटा कलेजहरूले सहभागिता जनाएका छन्। हिसानले बिक्रम सम्वत् २०६५ सालदेखि नियमित रूपमा स्पोर्टस मिटको आयोजना गर्दै आएको छ।