कुरा मात्रै काटेर हुन्छ ?

हामीमा आजभोलि कुरौटे बानीको व्यापक विस्तार भएको छ। काममा सिन्को नभाँच्नेहरूले समेत कुरा ठूला गर्छांै । समय, आवश्यकता र मौसमअनुसार श्रीगणेश हुन्छ कुराको। चिया पसल, चौतारी, दोबाटो मात्र होइन–प्रविधिमैत्री वातावरणका हरेक सोसल मिडियाका भित्ताहरू समेत अनावश्यक कुराले रङंगिन्छन्। यति धेरै कुरौटे बन्न कसले भन्यो हामीलाई ? काम गर्ने कुनै सीप, जाँगर नहुनेहरूलाई समेत कुरा काट्ने शक्ति कताबाट आउँछ ? चौबिसैघण्टा कुरा मात्र काटेर हाम्रो प्रगति होला र ? हाम्रो उन्नति होला र ? कुरा काट्न थालेपछि आफू ठीक अनि अरू सबै बेठिक भन्ने सोच, विचार र मानसिकता कताबाट आउँछ हामीमा ?
समाजमा कुरौटे संस्कृतिले नराम्रोसँग जरा गाडेको छ। केही वर्ष पहिलासम्म पानी बोक्नलाई पँधेंरा, कुवामा जानु पर्दथ्यो। मेलापात–अर्मपर्मको जमाना थियो। त्यो समयमा काम गर्दै एकआपसमा सुखदुःखका कुराहरू साटासाट गर्दथे। जसले जति समय कुरा गरे पनि एकआपसमा काम भइरहन्थ्यो। काम समाप्त गर्नलाई सहयोग गर्दथ्यो कुरा गर्ने बानीले। अहिले त हामीमा काम गर्ने बानी हरायो। गाउँघरका खेतीयोग्य जमिन सबै बाँझो भएको छ। बजार बस्तीका करेसाबारीसमेत सबै प्रयोगविहीन भएका छन्। फोहोर थुपार्ने डम्पिङ साइडमा रूपान्तरण भएका छन् सानासाना आवादी योग्य जमिनसमेत।
हामी हरेक दिन अल्छी बन्दै गइरहेका छौं। करेसाबारीमा तरकारी, फलपूmल फलाउनभन्दा पसलमा किन्न सजिलो लाग्छ। खेतबारीमा काम गर्नै हुन्न, काम गरे सानो भइन्छ जस्तो खराब सोच, विचार र मानसिकता विस्तार भएको छ। श्रमको सम्मान गर्न जान्दैनौं हामी। श्रम, काम कुनै पनि सानो हुँदैन भन्ने हामीले बुझ्न सकेनौं। आफ्नो काम आफैं गर्न लाज लाग्छ हामीलाई। घरमा जम्मा गरेको फोहोर कसैले नदेख्ने गरी दोबाटोमा मिल्काएर, सडकको कुनामा फ्याँकेर आफ्नो घरलाई सफा भएको महसुस गर्छांै। त्यही फोहोरको नराम्रो गन्ध आउँदा घरको छतमा बसेर नाक थुन्छौं। अनि सरकारले केही गरेन, फल्नाले केही गरेन भन्दै अविरल कुरा काटिरहन्छौं। कुरा काट्न पाएपछि–अन्य सबै कामहरू बिर्सन्छौं हामी। सरकारदेखि लिएर– सर्वसाधारण नागरिकसम्म सबैले सजिलै गर्ने काम भएको छ कुरा। चौबिसैघण्टा कुरा काट्ने काममा व्यस्त छौं हामी, मस्त छौं हामी।
कृषि प्रधान देशका नागरिक हौं। बाबा–आमाको पालामा नेपालबाट भारतमा खाद्यान्न निर्यात गरिन्थ्यो। अहिले छोटो समयको अन्तरालमा नै ए हो र ? भन्नुपर्ने अवस्था सिर्जना भएको छ। ६० प्रतिशतभन्दा बढी नागरिक कृषिमा संलग्न मुलुकमा खुर्सानी मात्रै पाँचभन्दा बढी मुलुकबाट आयात गरिन्छ एकातिर भने अर्कोतिर आफ्ना बिघौं–बिघा जमिन बाँझो राखेका छौं। घरको छतमा गमलामा तरकारी फलाउँदा निकै मेहनती सम्झन्छौं हामी आफूलाई।
छतमा, घरको कौसीमा कौसीखेती गर्नु निकै राम्रो काम हो तर बाँझो जमिन पनि उपयोग गर्नु आवश्यक छ। सकेको आफूले उपभोग गरौं। नसकेको जमिन अन्य किसानलाई उत्पादन गर्नको लागि लिनेदिने परिपाटीको विकास गरौं। कौसीमा–गमलामा फलाएको कृषि उपजलाई सोसल मिडियाको भित्तामा राखेको फोटोले प्राप्त गरेको लाइक र बधाईमा मक्ख पर्ने हाम्रो आधुनिक बानीको अन्त्य गर्न जरुरी छ। अझभन्दा यसले त झन् हाम्रो कुरा काट्ने बानीलाई हौसला दिन्छ। मस्तसँग आयातीत खाना खाएर पुष्ट भएको शरीर र दिमागले दिनभर सबैखाले सोसल मिडियाका कुनाकाप्चामा चाहार्दा–चाहार्दै बित्छ हाम्रो दिन।
फल्नो दल यस्तो, फल्नो यस्तो, फल्नी यस्ती भन्न मनपर्छ हामीलाई। नचाहिने कामकुरामा अरूको निधिखोजी गर्नु, चासो राख्नु अनि कुरा काट्नु हाम्रो दैनिकी जस्तै बनेको छ। अलिकति कुरा काट्न पाइएन भने, इमान्दार असल बनेर प्रगति गर्नेहरूको अलिकति खुट्टा नतानेसम्म हामीलाई खाएको पनि पच्दैन। प्रतिपक्ष दलले सरकारको कुरा काट्ने, सरकारले प्रतिपक्षको कुरा काट्ने संस्कार बनिसकेको छ। जनप्रतिनिधिले कर्मचारीको, कर्मचारीले जनप्रतिनिधिको कुरा नकाटेसम्म, खेदो नखनेसम्म आ–आफ्नो कर्तव्य नै पूरा नभएजस्तो लाग्छ। हामी समग्र नेपाली दिनप्रतिदिन कुरौटे बन्दै गइरहेका छौं। जबसम्म कुरा ठूला गर्ने– काम केही नगर्ने बानी रहन्छ तबसम्म हाम्रो प्रगति हुन सक्दैन। उन्नति हुन सक्दैन। प्रगतिको लागि, उन्नतिको लागि त कुरा होइन काम गर्नु पर्दछ। जब ठूला–ठूला कुरा गर्न छाडेर साना–साना काम गर्न थाल्छौं, तब मात्र हुन्छ प्रगति। अहिले सरकार, दल, कर्मचारी, व्यापारीलगायत सबैको काम भनेको नै आफूले काम नगर्ने, आफूले आफ्नो कमजोरी नदेख्ने–मात्र अरूको अनावश्यक चियोचर्चो गर्ने, अरूले गरेको राम्रो कामको पनि विरोध गर्ने जस्ता निकै निक्रिष्ट नकारात्मक सोच, विचार र मानसिकता निर्माण भएको छ।
अरूका कुरा काटेर अनावश्यक काम कुरामा अरूको चासो राखेर हामीले तलब पाउने भएको भए कति धेरै खर्च हुन्थ्यो होला तलबभत्तामा ? कति ध्यान दिएर काटिन्थ्यो होला है कुरा। केही पाउँदैनांै कुरा काटेर। बरु उल्टै हाम्रो अमूल्य समयको बर्बाद हुन्छ। दिनप्रतिदिन आफ्ना काम गर्ने बानी हराएर जान्छ। दिमागमा नकारात्मक सोच, विचार र चिन्तनले घर बनाउँदछ। हरेक कुरा सम्भव छ। यसको लागि दृढ इच्छाशक्ति र निरन्तर परि श्रमको जरुरी देखिन्छ। परिवर्तन अरूलाई गराउने होइन–आफू हुने हो। राम्रो कामको सुरुवात गर्ने अवसर अरूलाई दिने होइन, आफूबाट गर्ने हो। कुनै पनि काम सानो हुँदैन। श्रमको सम्मान गर्न आफू सिकौं र अरूलाई सिकाऔैं। आफ्नो गल्ती नदेख्ने– अरूलाई दोष दिने खराब सोच, विचार, चिन्तन र शैलीलाई बदलौं। यहाँ हरेक आफू सच्चिन जरुरी देखिन्छ। जब प्रत्येक आफूले, आफूसँग जस्तो सीप छ, क्षमता छ त्यसलाई उपलब्ध हुने काम कुरामा प्रयोग गर्नु पर्दछ। जहाँ जे काम प्राप्त हुन्छ त्यो राम्रोसँग गर्नु आवश्यक छ।
विश्वका समृद्ध मुलुक कुरा गरेर होइन, काम गरेर समृद्ध भएका हुन्। जब कुरा काट्ने बानीको अन्त्य हुन्छ तब मात्र हामीमा जुनसुकै काम गर्ने बानीको विकास हुन्छ। श्रम गर्ने संस्कारको निर्माण हुन्छ। सबैले उपलब्ध भएका सानासाना काम गर्ने हो भने यसबाट दीर्घकालीन समयमा ठूलाठूला उपलब्धि हासिल गर्न सकिन्छ। भर्याङ चढ्दा हरेक खुडकलोमा पाइला राख्दै चढेजस्तै प्रगतिको सिँढी, उन्नतिको सिँढी पनि सानासाना उपलब्धिहरूमा रमाउँदै, खुसी हुँदै चढ्न सकिन्छ। निरन्तर अभ्यास र श्रमशक्तिको प्रयोगबाट विकास व्यवस्थापन गर्नु आजको आवश्यकता हो।
प्रतिक्रिया दिनुहोस !
