बागमती प्रदेशमा मन्त्रालयको संख्या ११ कायम हुने
हेटौंडा : बागमती प्रदेशमा मन्त्रालयको संख्या ११ कायम हुने भएको छ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका मुख्य सचिव मुकुन्द निरौला नेतृत्वको समितिले दिएको सुझाव प्रतिवेदन बुझ्दै मन्त्रालयको संख्या ११ कायम हुने बताएका हुन्।
मुख्य सचिव निरौला नेतृत्वको समितिले आज मुख्यमन्त्री जम्कट्टेललाई ९ वा ११ मन्त्रालयको संख्या काम गर्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन बुझाएका थिए। हाल मन्त्रालयको संख्या १४ रहेको छ।
मन्त्रालयको संख्या ११ हुँदा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहनेछ।
साविकको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गाभिने भएको हो।
आजै बस्ने मन्त्रिपरिषद् बैठकले समितिको सुझावका आधारमा आवश्यक निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाउने मुख्यमन्त्री जम्कट्टेलले बताए।
मन्त्रालयको संख्या टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने उनले जानकारी दिए।