जोगबनीमा हुने किनमेलमा कडाई
विराटनगर: स्वदेशी बजार प्रर्वद्धन र भन्सार चुहावट नियन्त्रण गर्न विराटनगरस्थित रानी नाकामा कडाई गर्न थालिएको छ।
खुद्रा सामान खरिदका लागि भारतीय बजार जोगबनी जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न विराटनगर भन्सार कार्यालयले नाकामा कडाई गर्न थालेको हो। कार्यालयले सय रुपैयाँभन्दा बढीको सामान ल्याए १३ प्रतिशत भन्सार तिर्नुपर्ने व्यवस्था गरेको हो।
चोरी, तस्करी र भन्सार चुहावटका घटनाहरु बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्ने उद्देश्यका साथ नाकामा कडाई गर्न थालिएको विराटनगर भन्सार कार्यालयका सुचना अधिकारी रामचन्द्र ढुङ्गानाले बताए। कडाई गर्न थालिएपछि पछिल्लो दुईदिनमा मात्रै भन्सारको राजश्वमा उल्लेख्य सुधार आएको उनले जानकारी दिए।
भारतीय बजार जोगबनी लत्ताकपडा र दैनिक उपभोग्य वस्तु खरिदबिक्रीका लागि प्रख्यात छ। दैनिक ठुलो संख्यामा विराटनगरसँगै इटहरी, धरान, इनरुवा, बेलबारी, उर्लाबारी र दमकसम्मका नेपाली उपभोक्ताहरु किनमेलका लागि जोगबनी आउने गरेका छन्। तर, यसले भन्सार चुहावट बढनुका साथै नेपाली व्यापार व्यावसायमा समेत नकारात्मक असर परिरहेको छ। बजारलाई निर्वाध खुला छोडिदिँदा नेपाली बजार र व्यापारमा पर्ने असर कम गर्न नसकिएकोले भन्सारलाई व्यवस्थित गर्ने प्रयास गरिएको सुचना अधिकारी ढुङ्गानाको भनाई छ।
जोगबनी–रानी प्रवेशद्वारबाटै उपभोक्ता र भारतबाट आउने यात्रुहरुको चेकजाँचमा कडाई गर्न थालिएसँगै खुद्रा वस्तुहरुको आयातका लागि भन्सारसँग अनुमति लिने क्रम पनि बढेको छ। यसअघि भन्सार छलेर आयात भईरहेको माछाका लागि समेत अनुमति माग्न थालिएको छ। सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरुले पनि चोरी तस्करी र अनौपचारिक आयातमाथि निगरानी बढाउँदै लगेपछि थुप्रै सामानहरु भन्सारमार्फत आयात हुन थालेका छन्।
भन्सार कार्यालका सुचना अधिकारी ढुङ्गानाले भने, ‘भन्सार महशुल महङ्गो पर्ने धेरै खुद्रा वस्तुहरु आयात गर्न हामीबाट अनुमति लिन थालिएको छ। यसलाई हामीले सकारात्मक सुधार र उपलब्धिको रुपमा लिएका छौं।’
विराटनगर भन्सार कार्यालयले महिना दिनयता भारतबाट ल्याउने सामानमा कडाई गर्न थालेको हो। कार्यालयले अहिले १ सय रुपैयाँभन्दा बढी मुल्यको सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था गरेको छ। जोगबनीबाट चामल, पिठो, तेल र चिनी जस्ता खाद्यवस्तुको आयातमा पूरै कडाई गरिएको छ। किनेर ल्याईएका खाद्यवस्तु पुनः उतै फिर्ता पठाउने गरिएको छ। घरायसी प्रयोजनका निम्त्ति खाद्यवस्तु ल्याउनु परेमा गुणस्तर कार्यालयको सिफारिस अनिवार्य गरिएको भन्सार कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार भाँडाकुडा र लत्ताकपडा लगायतका सामाग्री ल्याए रानी नाकामा रहेको यात्रुकक्षमै भन्सार महशुल बुझाउनुपर्ने व्यवस्था गरिएको छ। भन्सार नबुझाई मालसामान ओसारपसार गरे जुनसुकै बेला कारबाहीमा पर्न सकिने चेतावनी समेत भन्सार कार्यालयले दिएको छ।
‘हामीले अवैध रुपमा हुने चोरी तस्करी नियन्त्रणका निम्त्ति सूचना दिन पनि आग्रह गरेका छौं। त्यस्तो सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गरेका छौं,’ कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुङ्गानाले भने, ‘भन्सारको टेलिफोन नम्बर ०२१–४४४००५ मा सिधै सम्पर्क गरेर सूचना दिन सकिन्छ।’
विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा ६० अर्ब रुपैयाँ भन्सार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। हालसम्म कार्यालयको लक्ष्य प्रगति भने ५८ प्रतिशत रहेको छ।
भारतीय बजार जोगबनीबाट खरिद गरी ल्याएको सामान चेकजाँच गर्दै सशस्त्र प्रहरी। तस्बिर: निरोज मल्ल