जग्गा विवादले विद्यालय बन्द

जग्गा विवादले विद्यालय बन्द

राजविराज : सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ कटैया फत्तेपुरस्थित जनता माध्यमिक विद्यालय अनिश्चितकालका लागि बन्द भएपछि विद्यार्थीको पढाइ, सिकाइ ठप्प छ। एक महिनादेखि बन्द विद्यालय खुल्ने कुनै टुंगो छैन। विद्यालय अगाडि केही बालबालिकाहरू क्रिकेट खेल्दै छन्। अभिभावकहरू कोही झोक्राएर त कोही आवेशमा देखिन्छन्। विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू तनावमा छन्। जग्गा विवादले सबथोक बर्बाद गरेको बताउँछन्, कक्षा ९ मा अध्ययनरत लक्ष्मण राम। ‘यो गाउँका ठूला मानिसहरूको आपसी खिंचातानीले हाम्रो भविष्य नै बिगार्ला जस्तो छ’, उनले चिन्तत हुँदै भने्, ‘यसले हाम्रो भविष्य अन्धकार बनाउने भयो। साह्रै दुःख लागेको छ।’ 

विद्यालय प्रवेश गर्ने मूल बाटो देवनारायण यादवको निर्देशनमा उनका भतिजा कमलेश यादवले मंसिर १४ गते बन्द गरिदिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश यादव बताउँछन्। एक महिनासम्म फूलबारी बगैंचाबाट आवतजावत हुँदै आएकोमा सो पनि पुस १४ गते घेरेबार भएपछि बाध्य भई विद्यालय बन्द गर्नु परेको उनले बताए। वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन र मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदान केन्द्र थियो सो विद्यालय। संविधानसभा सदस्य ताराकान्त चौधरी र मधेस प्रदेशसभाका निवर्तमान सदस्य विदेश्वर यादवसमेत पढेको र मतदान गरेको विद्यालय हो। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि पठनपाठन सुरु हुन थालेपछि विवाद बढेर एक महिनादेखि विद्यालय पूर्णः बन्द छ। वडाध्यक्षमा आफन्त पराजित भएको आक्रोशमा बाटो बन्द गरिएको स्थानीयको भनाइ छ। 

साढे दुई दशकदेखि प्रयोग हुँदै आएको बाटोमा कमलेशले नरिवलका विरुवा रोपी घेरबेर गरेको ऋिषिकेश यादवले बताए। चार दशकदेखि काठमाडौं बसोवास गर्दै आएका देवनारायण यादवले साविकको बाटो वर्षायाममा हिलो हुने भएकाले आफ्नो निजी जग्गा भएर जान आउन साढे चार फिट चाक्लो बाटो प्रयोग गर्न दिएको बताए। हाल कृषिजन्य वस्तु उत्पादनका लागि आफ्नो जग्गा प्रयोग गर्न घेरबेर गरेको बताउँदै उनले बन्द भएको साविकको अर्को बाटो खुलाए आफूले थप ३ धुर जग्गा दिने बताए।

विद्यालयका शिक्षक तथा दाता परिवारका सदस्य मोहनप्रसाद साहले २०५३ सालमा माध्यमिक विद्यालय बन्दा ११ जनाले जग्गा दिएर बाटो सुचारु गरिएको बताए। पोखरीको डिलमा एक कट्ठा जग्गा दिएर २०२२ सालमा उनकै बुवा मौजेलालले स्थापना गरेको विद्यालयमा हरिप्रसाद यादवले साढे १७ धुर जग्गा दिएका छन्। उच्च माविसम्म अध्ययन हुने विद्यालयको ऐलानीसमेत साढे ९ कट्ठामा भवन रहेको र १२ बिघा खेतजमिन रहेको छ। आसपासका १२ गाउँका विद्यार्थी पढ्दै आएको सो विद्यालयमा २६३ छात्र र ३१५ छात्र पढछन्। जसमा ९० प्रतिशत दलित विद्यार्थी रहेको रामवृक्ष मण्डल बताउँछन्। तीन छोराछोरी पढिरहेको बताउँदै मण्डलले भने, ‘हामी गरिब, दलितले बाहिर सहरमा पढाउने क्षमता छैन। गाउँको विद्यालयको पठनपाठन अनिश्चितकालिन बन्द छ।’ दुई महिनापछि आउने एसईई र उच्च माविको परीक्षाले गर्दा उनी झनै चिन्तित छन्। 

विद्यालय आवतजावत गर्ने बाटो नै बन्द भएपछि विद्यालय नै बन्द गर्नुपरेको प्रधानाध्याक बिन्देश्वरप्रसाद रायले बताए। उनले भने्, ‘बाटो नै नभएपछि विद्यालयले सूचना गरी बन्द गर्नुपरेको छ।’ विवाद छिट्टै अन्त होला भनेको लम्बिदै गएको र विद्यालय बन्द हुँदासमेत सरोकारवालाले निकास दिन नसकेको उनले बताए। सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत राजु रामलाई आउने परीक्षामा के लेख्ने भन्ने चिन्ता छ। नबुझिएको पाठका जिज्ञासा समाधान गर्न नसकेपछि उनी पनि दिक्क लागेर साथीहरूसँग क्रिकेट खेलेर दिन बिताउँछन्। रामकिशोर रामलाई पढाइमा रुची छ, खेल्नभन्दा पढ्न मनपर्छ। तर, गृहकार्य नभएको र गणित विषयका पाठहरू समाधान हुन नसकेपछि उनी पनि खेलेरै समय बिताउँछन्। उनी भन्छन् ‘मलाई खेल्न जत्तिकै पढ्न रमाइलो लाग्छ। तर, शिक्षकबिना पढाइ नहुने रहेछ।’ यस विषयमा नगरपालिका, प्रहरी, प्रशासन र शिक्षा विकास तथा समन्वय इकाइलाई जानकारी गराइए पनि बाटो नखुलेकोमा पूरै गाउँले चिन्तित छन्। 

‘शिक्षाले मानिसलाई बाटो देखाउँछ। तर, शिक्षाका लागि जाने विद्यालयको बाटो नै बन्द छ’, बन्द विद्यालयको अनुगमनमा पुगेका इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले भने, ‘विद्यार्थीहरूको पढ्न र सिक्न पाउने हक सुनिश्चित हुनुपर्छ।’ विद्यार्थीहरूको पढाइको सहज वातावरण बनाउन सम्बन्धित निकायहरूमा लिखित माग गरेको र आवश्यक पहल गरिरहेको पासवानले बताए। कानुनतः माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापकीय अधिकार स्थानीय तहलाई दिइएको हुन्छ। नगरपालिकाका प्रमुख रामलखन मुखियाले संवादको माध्यमबाट छलफल गरेर टुग्याउँने प्रयास विफल भएको बताए। नगर प्रमुख मुखिया र उपप्रमुख यादवसहितको टोलीले पुस ७ गते काठमाडौं महानगरपालिका–३१ स्थित देवनारायण यादवको घरमै गएर बाटो खोल्न आग्रह गरे। लामो समयदेखि प्रयोग हुँदै आएको सार्वजनिक बाटो एकाएक बन्द गर्न नमिल्ने मुखियाको धारणा छ। गाउँलेहरू घेरबेर तोडेर बाटो सुचारु गर्न तयार छन्। प्रहरी, प्रशासनले सहयोग नगरे झडप हुन सक्ने सम्भावना भएकोले कानुनी बाटोबाट समाधान खोज्ने प्रक्रियाले ढिलाइ भइरहेको मुखियाले बताए। 

मंगलबारसमेत नगर प्रमुख मुखियासहितको टोलीले प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई भेटेर समस्या समाधानका लागि सहयोग मागेको छ। आफै मात्र पढ्दा नबुझ्ने हुनाले पढ्न मन नलाग्ने बताउँछन्, विद्यार्थी।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.