ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य परीक्षण साथमा न्यानो कपडा
धनकुटा : बढ्दो उमेर र शारीरिक अशक्तताका कारण स्वास्थ्य संस्थासम्म पहुँच नभएका ज्येष्ठ नागरिकहरूलाई साँगुरीगढी गाउँपालिकाले घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै न्यानो कपडा वितरण गरेको छ।
९० वर्षभन्दा माथिका ४१ जना ज्येष्ठ नागरिकको घर-घरमा पुगेर स्वास्थ्य परीक्षणसँगै एक थान फाइबर सिरक, एक थान थर्मस र एक किलो हर्लिस प्रदान गरेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए।
गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राई सहितको स्वास्थ्यकर्मीको टोली ज्येष्ठ नागरिकको घरघरमा पुगेको थियो।
घरमै स्वास्थ्य परीक्षण तथा चिसोमा न्यानो कपडा पाउँदा दंग देखिन्थे। जाडोको बेला न्यानो कपडा पाउँदा खुसी लागेको साँगुरीगढी गाउँपालिका-४ फाक्सिवका ९१ वर्षीय मित्रलाल पोखरेलले बताए।
साँगुरीगढी गाउँपालिकाको अधिकांश भूभाग विकट छ। अधिकांश स्वास्थ्य संस्थाको पहुँचबाहिर छन्। त्यसैमाथि ज्येष्ठ नागरिकको शारीरिक अवस्थाले साथ नदिने भएका कारण घरमै उपचार गर्न पुगेको अध्यक्ष जितेन्द्र राईले बताए।
घरमा आइपुगेका टोलीलाई ज्येष्ठ नागरिकले आफूले विगतमा भोगेका दुःख र सामाजिक क्षेत्रमा गरेको योगदान समेत सुनाएका थिए।
कार्यक्रमलाई व्यवस्थित बनाउन आगामी दिनमा निरन्तरता दिने उपाध्यक्ष मुना राईले बताइन्। न्यानो कपडा वितरण गर्न जाँदा ज्येष्ठ नागरिकहरूको अनुहारमा खुसी देखिएको उनले बताइन्।
जनप्रतिनिधिसँगै पुगेको स्वाथ्यकर्मीको टोलीले ज्येष्ठ नागरिकको प्रेसर, सुगरसँगै अक्सिजनको मात्राको परीक्षण गरेका थिए।
अधिकांश ज्येष्ठ नागरिकको अवस्था सामान्य रहेको स्वास्थ्यकर्मी सुरेन्द्र राईले बताए।उनका अनुसार कतिपय ज्येष्ठ नागरिकलाई नजिकको स्वास्थ्य संस्थामा गएर परीक्षण गर्न सुझाव दिइएको थियो।