वडामै योजना सम्झौता
दैलेख : डुंगेश्वर गाउँपालिकाले वडामा सञ्चालन हुने योजनाको सम्झौता सम्बन्धित वडा कार्यालयमै गर्न सकिने व्यवस्था मिलाएको छ। यो प्रावधानसँगै सम्झौता गर्न उपभोक्ता समितिले गाउँपालिका केन्द्र धाउनुपर्ने बाध्यता हटेको छ।
गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा ‘वडास्तरीय योजनाहरूको सम्झौतासम्बन्धी शिविर’ नै चलाएको छ। गाउँपालिका अध्यक्ष सुन्दरकुमार केसीले चालू आर्थिक वर्षमा कार्यान्वयन हुने विकास योजना वडामै गएर सम्झौता गर्ने लक्ष्यअनुरूप शिविर सञ्चालन गरिएको बताए।
गत बिहीबार शिविर सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डीसीले बताए। वडा नम्बर १ मा सञ्चालन हुने आठभन्दा बढी योजना सम्झौता गरिएको उनको भनाइ छ। चालू आर्थिक वर्षमा ६ वटा वडामा सञ्चालन हुने साना र ठूला गरि १ सय ८ भन्दा बढी योजना छन्। अब बाँकी पाँच वडामा पनि शिविरमार्फत सम्बन्धित वडाको योजना वडा कार्यालयमै सम्झौता गरिने डीसीले बताए।
गाउँपालिकाले चालू आवको अर्धवार्षिक अवधिमा सञ्चालित वार्षिक विकास कार्यक्रम र सेवाप्रवाहको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइमा योजना सम्झौता वडा कार्यालयमै गरिने प्रतिबद्धता घोषणा गरेको थियो। सबै वडामा सहज यातायातका साधनको पहुँच नहुँदा उपभोक्ता दुईदेखि तीन घण्टा हिँडेरै गाउँपालिकासम्म पुगेर योजना सम्झौता गर्नुपर्ने बाध्यतामा थिए। डिसीले ससाना योजना सम्झौताका लागि उपभोक्तालाई गाउँपालिका केन्द्र पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने उदेश्यसहित यो कार्य थालिएको बताए।