कोसी लोकमार्ग बाइपास गर्न माग गर्दै स्थानीय आन्दोलित
धरान : मोरङको रानीदेखि सुनसरीको धरान जोड्ने ६ लेन सडकको बाइपासको माग राखेर धरानवासी आन्दोलित भएका छन्।
कोसी लोकमार्ग हुँदै ६ लेन सडक निर्माण गर्दा सयौं सर्वधारण घरबारविहीन हुने भएकाले उनीहरूले सडक बाइपास गर्न माग गरेका हुन्।
धरानको १, २, ६, ८, १२ र १३ नम्बरका बासिन्दाले कोसी लोकमार्गलाई बाइपास गरी सर्वसाधारणको ज्युधनको सुरक्षा गर्न माग गर्दै आइतबार उपमहानगरपालिका घेराउ गरेका छन्।
स्थानीयले विभिन्न प्लेकार्डसहित उपमहानगरपालिकामा धर्ना दिएर विरोध जनाएपश्चात् चतरा लाइनमा यातायातका साधन सञ्चालनमा समस्या भएको थियो।
स्थानीय बासिन्दाको विरोधका कारण प्रहरीले उपमहानगरपालिकामा पहरा दिएर सुरक्षा व्यवस्था कडा बनाएको थियो।
धरान उपमहानगरको तीनकुनेदेखि सारंगासम्म निर्माण गरिएका सयौं सर्वसाधारणको घर भत्किएर सुकुम्वासी बन्ने अवस्था आएकाले सडक बाइपासको माग राखेर आन्दोलन गर्नुपरेको धरानका सुवर्ण श्रेष्ठले बताए।
उनले सडक बाइपास गरेर धरान बजारको सुरन्दरतालाई बचाउन सरकारसँग माग गरेका छन्। तीनकुनेसम्म ६ लेन सडक निर्माण अन्तिम चरणमा पुगेपछि धरानका छवटा वार्डका बासिन्दा संगठित रूपमा सरकार विरुद्ध आन्दोलनमा उत्रिएका हुन्।
धरान १ का निवर्तमान वडाध्यक्ष रोशन अधिकारीले विकासका नाममा सर्वसाधारणको निजी सम्पत्ति मास्न नहुने बताए। लोकमार्गबाट निर्माण गर्ने हो भने चलन चल्तीको मूल्यांकन अनुसार सरकारले घरजग्गा धनीलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
आन्दोलनमा उत्रिएका स्थानीयले उपमहानगरपालिकाले सडक बाइपास गर्न पहल नगरेको धरान-१ का राजन बास्तोलाले बताए। धरानका सयौं घर भत्काउदा यहाँको व्यपार व्यवसाय समेत चौपट हुने र करोडौंको लगानी डुब्ने भएकाले सडक बाइपास गर्नुको विकल्प नरहेको उनको भनाइ छ।
रानीदेखि धरानको तीनकुनेसम्म सडक निर्माणको काम भइरहको छ। इटहरी र दुहबीमा स्थानीयको अवरोधका कारण सडक निर्माणले गति लिन नसकेपछी इटहरी उपमहानगरपालिकाले सडक क्षेत्रमा निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ।
दुहबी बजारमा स्थानीयको अवरोधका कारण सडक निर्माणले गति लिन सकेको छैन्। धरानमा समेत स्थानीयले घर भत्काउन अनुमति नदिए पश्चात तीनकुनेदेखि माथि ६ लेन सडकको काम अगाडि बढाउन नसकिएको रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक योजना प्रमुख इन्जिनियर दानकुमार शाक्यले बताए।
उनले दुहवी र धरानमा सडकको बीच भागदेखि दुवैतर्फ १५/१५ मिटर जग्गा खाली गराउन माग गरी सम्बन्धित नगरपालिकालाई पहल गर्न अनुरोध गरिएको बताए।
धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले धरानमा सडक विस्तारका लागि स्थानीयसँग सहमतिको प्रयास भइरहेको बताए।