मधेस : मुख्य न्यायाधिवक्तामा ठाकुरद्वारा शपथ ग्रहण
जनकपुरधाम : मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता विरेन्द्र ठाकुरलाई नियुक्त गरेका छन्।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख मिश्रले ठाकुरलाई संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो।
नवनियुक्त मुख्य न्यायाधिवक्ता ठाकुरलाई उच्च अदालत जनकपुरधामका कामु मुख्य न्यायाधीश गुणराज लुइँटेलले पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्।
शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख हरिशंकर मिश्र, मधेस प्रदेशका प्रमुख सचिव कृष्ण बहादुर राउत सहितका उच्च अधिकारीहरू उपस्थित रहेका थिए।
करिब २० वर्षदेखि सर्वोच्च अदालतमा रहेर वकालत गर्दै आएका ठाकुरले शपथ ग्रहणपश्चात् पत्रकारहरूसँग कुरा गर्दै प्रदेश सरकारलाई आवश्यक पर्ने कानूनको निर्माणमा अहोरात्र काम गर्ने बताए। ठाकुर सिरहाका स्थायी बासिन्दा हुन्।
यसअघि मधेसका मुख्य न्यायधिवक्तामा दिपेन्द्र झा थिए। झा कानूनको आडमा मन्त्रालयलाई थर्काउने र योजना चलाउने गरेको मन्त्रीहरूको आरोप थियो।
उनी निर्वाचनको मुखमा मुख्यन्यायधिवक्ताको पद परित्याग गरेर जनता समाजवादी पार्टीबाट निर्वाचनमा होमिएका थिए।
महोत्तरीको क्षेत्र नं. ३ (ख) बाट निर्वाचन लडेका झा लोकतान्त्रिक समाजवादी पार्टीको निवर्तमान मन्त्री अभिराम शर्मासंग पराजित भएका थिए।