सडकमै पार्किङ दिइनुपर्ने भन्दै विराटनगरका व्यवसायीले गरे सटर डाउन
विराटनगर : विराटनगरको मुख्य बजार क्षेत्रमा पार्किङ निषेध गरिएपछि स्थानीय व्यवसायीहरूले सटर डाउन गर्दै आन्दोलन थालेका छन्।
शनिमन्दिरदेखि हस्पिटल चौक र ट्राफिक चौकदेखि जलजला चौकसम्मको क्षेत्रमा महानगरपालिकाले पार्किङ निषेध गरेको छ। सो क्षेत्रमा पार्किङ निषेध गरेसँगै व्यापार व्यवसाय ठुलो असर पुगेको भन्दै स्थानीय व्यवसायीले विरोध थालेका हुन्।
सोमबार बिहानैदेखि पसलको सटर डाउन गर्दै आन्दोलन थालेका उनीहरूले मार्किङ गरेर सडकमै पार्किङ गर्न दिइनुपर्ने माग गरेका छन्। बजार क्षेत्रमा पार्किङ निषेध गरेपछि पसलमा ग्राहकको फ्लो घटेको उनीहरूले बताएका छन्। पहुँचयोग्य पार्किङस्थलको व्यवस्था नहुँदा यसले स्थानीय व्यवसायी र आम सर्वसाधारण दुवैलाई दुःख भएको स्थानीय व्यवसायी सन्तोष अर्याल बताउँछन।
‘मार्किङ गरेर सडकको कुनै एक भागमा पार्किङ गर्न दिइनुपर्ने हाम्रो माग हो,’ उनले भने, ‘हामी शुल्क तिर्न तयार छौं। तर पार्किङमा असुविधा हुनुभएन। यसले हाम्रो व्यापारमा प्रत्यक्ष असर परेको छ।’
पार्किङ व्यवस्थापनको उद्देश्यसहित हनुमानदास रोड र रंगेली रोडलाई महानगरले माघ ५ गतेदेखि नो-पार्किङ जोन बनाएको थियो। कोशी राजमार्गसँग जोडिएको शनिमन्दिरदेखि जलजला चौकसम्मको हनुमानदास रोड र जलजला चौकदेखि हस्पिटल चौकसम्मको रंगेली रोडमा माघ ६ देखि सबै प्रकारका सवारीसाधनको पार्किङ निषेध गरिएको छ।
ट्राफिक चौकदेखि जलजला चौकसम्मको क्षेत्रमा दुई वर्षअघिदेखि नै सडकको दुवै भागमा पार्किङ निषेध गरिएको छ। महानगरले पार्किङको वैकल्पिक व्यवस्थापन समेत गरेको छ। मेनरोडको व्यापारी तथा सर्वसाधारणका लागि हनुमान मन्दिर छेउको बी प्लटमा पार्किङ गर्ने व्यवस्थापन मिलाइएको महानगरले जनाएको छ।
महानगरका अनुसार हुनमानदास रोड र रंगेली रोडका लागि भने कुल ४ स्थानमा निःशूल्क पार्किङको प्रबन्ध गरिएको छ।
हनुमानदास रोडका लागि पुरानो गुद्री भएको इ-प्लट र बिजुली बजार अगाडिको ४ कठ्ठा जग्गालाई पार्किङ स्थल तोकिएको छ। रंगेली रोडका लागि भने ग्रीनक्रस हस्पिटल पछाडि र सञ्चेती चिया अगाडिको जग्गामा पार्किङ गर्ने व्यवस्था मिलाइएको बताइएको छ।