आयात निर्यात सहज बनाउन उपप्रधानमन्त्री लिङ्देनको ध्यानाकर्षण
झापा: आयात निर्यात सहज बनाउन झापाका व्यवसायीले उपप्रधान एवम् उर्जा, जलस्रोत तथा सिचाईमन्त्री राजेन्द्र लिङ्देनको ध्यानाकर्षण गराएका छन्।
मेची नदीमा पुल निर्माण भएसँगै नेपालतर्फको सीमा बजारको व्यापार व्यवसाय खस्किँदै गएको विवरण सुनाउँदै भद्रपुरका उद्योगी व्यवसायीले उपप्रधानमन्त्री लिङ्देनको ध्यानाकर्षण गराएका हुन्।
उद्योगी व्यवसायीले उपप्रधानमन्त्री लिङ्देनलाई भेटेर सीमा नाकामा उत्पन्न समस्या र चिया निकासीमा भारत सरकारले लिएको नीतिका बारेमा जानकारी गराएको नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीले जानकारी दिए।
मेची पुलको भद्रपुर–गलगलिया नाका भएर आयात निर्यात सहज गर्न तथा नेपाली चियालाई यसै नाकाबाट भारत लैजान व्यवस्था कार्यान्वयनमा ल्याउन उपप्रधानमन्त्री लिङ्देनसमक्ष उद्योगी व्यवसायीले आग्रह गरेको रेग्मीले बताए।
झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित लिङ्देन उपप्रधानमन्त्री बनेकोले सोही क्षेत्रका उद्योगी व्यवसायीले कृषि, सिचाइको विद्युतमा अनुदान प्रदान गर्न पनि माग राखेका छन्।
उपप्रधानमन्त्री लिङ्देनले उद्योगी व्यवसायीले उठाएको मागप्रति आफू सकारात्मक रहेको र भद्रपुर नाकाको स्तरोन्नतिको लागि पहल गर्ने बताएका छन्। उपप्रधानमन्त्री लिङ्देनलाई चिया उद्योगी चण्डीप्रसाद पराजुली, राजेन्द्र सिंह राजवंशी, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ता लगायतको टोलीले भेटेको थियो।
मेची पुलको उद्घाटन २०७५ साल माघ १७ गतेका दिन पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्षका केपी शर्मा ओलीले गरेका थिए । पुल सञ्चालनमा आएको चार बर्ष बित्न लाग्दा समेत भद्रपुर भन्सार कार्यालयको पूर्वाधार निर्माणसँगै स्तोरन्नती काम सुस्त छ । अहिले यो नाकाबाट सानो मात्रामा सरसामान आयात भइरहेको छ, भने निर्यात हुन सकेको छैन ।