हिरासतबाट फरार सबै कैदी भेटिएनन्, प्रहरीमाथि नै आशंका
जनकपुरधाम : इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार ६ जनामध्ये तीनजना थुनुवा पक्राउ परेका छन् । हातहतियार तथा खरखजाना मुद्दाका आरोपित २८ वर्षीय रोशन महतो सोमबार नै पक्राउ परेका थिए। प्रहरीले रोशनलाई फरार भएको १२ घण्टा नपुग्दै पक्राउ गरेको थियो । त्यसअघि अर्का अमित मण्डललाई आइतबार उनको घरबाटै पक्राउ गरिएको हो ।
क्षिरेश्वरनाथ नगरपालिका २ बस्ने २५ वर्षीय मण्डलमाथि शान्तिविरूद्धको अपराधमा मुद्दा चलाइएको छ । यसैगरी मंगलबार राति नै मिथिला नगरपालिका ९ बाट हरिदिप सिंह पक्राउ परेका छन् ।
आइतबार राति महतोसहित विभिन्न अभियोग लागेका ६ जना थुनुवा घरको पर्खाल फोडेर फरार भएका थिए । धनुषाको मिथिला नगरपालिका–५ घर भएका रोशन यही माघ १२ गते नक्टाझिजबाट पेस्तोलसहित पक्राउ परेका थिए ।
उनी चार दिन थुनामा बसेका थिए । उनलाई प्रहरीले हतियार खरिद बिक्री गर्ने गरेको आरोपमा पक्राउ गरेको थियो । यही मुद्दामा फरार भएका उनका साथी शंकर महतो भने अझै फरार छन् ।
शंकर रोशनकै बयानपछि पक्राउ परेका थिए । दुवैजनालाई प्रहरीले गत शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए । त्यसको भोलिपल्ट आइतबार उनीहरूमाथि पाँच दिन म्याद थपी प्रहरीले अनुसन्धान थालेको थियो ।
यस्तै,अभद्र व्यवहार मुद्दामा यही माघ १० गते पक्राउ परेका मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह पनि फरार छन् । उनीमाथि सात दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको थियो । हरदिप पाँच दिन थुनामा बसेर उनीहरूसँगै फरार छन् ।
लागूऔषध मुद्दामा पुस २८ गते पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका–५ का ३० वर्षीय विनोद कुमार शर्मा पनि फरार छन् । उनी १८ दिनदेखि थुनामा थिए । उनीबारे अनुसन्धानका लागि दुईपटक म्याद थप भएको थियो । तर,प्रहरीको अनुसन्धान पूरा नभएकाले उनलाई थुनामै राखिएको थियो ।
राष्ट्र सेवामा बाधा विरोध गर्दा पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र रोशन यादव पनि फरार छन् । यी दुवैजना १२ दिनदेखि थुनामा थिए । उनीहरु थुनुवा कक्षको भित्ता फुटाएर आइतबार राति सवा ३ बजेतिर फरार भएका थिए । घटनामा प्रहरीमाथि पनि शंका गरिएको छ । इलाका प्रहरी कार्यालयको नेतृत्व गरिरहेको प्रहरी निरीक्षक बेचन यादवमाथि छानबिन गर्न दुईवटा समिति गठन भएको छ ।
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मनोज यादवको नेतृत्वमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको हो । यस्तै,जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीप बहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको छ । दुवै समितिले सुक्ष्म अनुसन्धान गरिररहेको बताएको छ ।