अनि लुकेकै ठाउँबाट समातिए सांसद चौधरी

अनि लुकेकै ठाउँबाट समातिए सांसद चौधरी

नेपालगन्ज/टीकापुर : १३ वर्षअघिको आगजनी प्रकरणमा गत शुक्रबार कैलालीको साबिक कोटा तुल्सीपुर गाविस–१ का वीरबहादुर चौधरीलाई प्रहरीले पक्राउ गर्‍यो। उनले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ बमोजिम नगद दाखिला गरी कैदमुक्त गरिदिन अदालतमा निवेदन दिए। तर, उक्त निवेदन अस्वीकृत गर्दै अदालतले ६ महिना कैद भुक्तान गर्नै आदेश दियो। 

त्यसपछि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पनि उक्त घटनाको फरार सूचीमा रहेको खुल्यो। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी बिहीबार बाँकेको वैजनाथ गाउँपालिका–१ गाभरस्थित एक होमस्टेबाट पक्राउ नै परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले प्रहरीको स्पेसल टास्क फोर्सले बाँके प्रहरीको सहयोगमा चौधरीलाई बिहीबार दिउँसो १ बजेतिर नियन्त्रणमा लिएको बताए। 

उनी मंगलबार राति कैलाली जान पत्नीसहित सुर्खेतबाट त्यहाँ आएर लुकेका थिए। उनले होमस्टेमा प्रवेश गर्दा सुर्खेतबाट आएको जानकारी दिएका थिए। सांसद चौधरी बाँके प्रवेश गरेको सूचना प्रहरीले बुधबार नै पाएको थियो। त्यसपछि उनी लुक्न सक्ने सम्भावित सबै क्षेत्रमा निगरानी बढाएर खोजी गरिएको प्रहरीले जनाएको छ। उनलाई विमानबाट साँझ ५:५० बजे काठमाडौं लगिएको थियो। सडक मार्गबाट लैजाँदा अवरोध आउने भन्दै नेपालगन्जबाट उडानमार्फत काठमाडौं लगिएको हो। काठमाडौंबाट फेरि धनगढी पठाइने प्रहरीले जनाएको छ।

उनीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई कैलालीका जिल्ला न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले २०७० वैशाख ९ गते जनही ६ महिना कैद र ८ लाख १८ हजार ४ सय २३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। तीनै जनाका नाममा म्याद जारी हुँदा अदालतमा हाजिर हुन नआई कसुर अपराधलाई स्वीकार गरी बसेको फैसलामा उल्लेख छ। 

के थियो घटना ?

कैलालीको तत्कालीन बलिया गाविस (हाल लम्की चुहा नगरपालिका)का महादेव बजगाईंको लु २ त २११ नम्बरको ट्र्याक्टर नदीजन्य पदार्थ लिएर २०६६ भदौ ३ गते फर्किरहेको थियो। थरुहट थारुवान आन्दोलनका क्रममा अरुण चौधरीसहित ८–१० जनाले पेट्रोल छर्केर आगजनी गर्दा ट्र्याक्टरमा क्षति भयो। बजगाईंले अरुण, वीरबहादुर र परशुराम चौधरीविरुद्ध २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए। आगलागीबाट ८ लाख १९ हजार ४ सय २३ रुपैयाँको नोक्सानी भएको भन्दै उनले प्रतिवादीलाई मुलुकी ऐन आगो लगाउनेको महलको १ र ४ नम्बरको कसुरमा ४ नम्बरबमोजिम सजाय मागदाबी गरेका थिए। त्यसको केही वर्षपछि अदालतले तीनै जनालाई जनही ६ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएको फैसलामा उल्लेख छ। 

बजगाईं लम्कीचुहा नगरपालिकामा २०७४ सालमा अरुणलाई नै पराजित गर्दै मेयर पदमा निर्वाचित भए। अरुण तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका थिए। उक्त पार्टी कांग्रेसमा समाहित भएसँगै उनी प्रदेशसभा सदस्य उम्मेदवारसमेत बने। उनी यसपटक भने कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेर विजयी भएका थिए।

अरुण पक्राउ परेपछि नागरिक उन्मुक्ति पार्टी विरोधमा उत्रिएको छ। सरकार र तत्कालीन आन्दोनकारी थरुहट–थरुवान पक्षबीच २०६६ भदौ ३ गते समझदारी भइसकेको विषय उठाएर सांसद चौधरीलाई पक्राउ गरेको भन्दै उक्त पार्टीले टीकापुरमा पत्रकार सम्मेलन गरी आपत्ति जनाएको छ। 

सांसद चौधरीलाई २४ घण्टाभित्र रिहा नगरे आन्दोलन गर्ने चेतावनी उसले दिएको छ। पार्टी प्रवक्ता दामोदर पण्डितद्वारा जारी विज्ञप्तिमा त्यस अवधिमा सांसद चौधरी रिहा नभए आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन जारी गरेको छ।

‘उनी २०६६ देखि आजसम्म कहीँ कतै फरार नरहेको, यसबीचमा उनी ४ पटक स्थानीय, प्रदेश र संघका सबै निर्वाचन लडिसकेका छन्’, विज्ञप्तिमा लेखिएको छ ‘त्यो बीचमा राज्य तथा निर्वाचन आयोग के हेरेर बसेको थियो ? आज नागरिक उन्मुक्ति पार्टीबाट विजयपश्चात् यो मुद्दा किन उठ्यो र पूर्वाग्रही आँखाले किन हेरियो ?’ 

यो गतिविधि सम्पूर्ण आदिवासी थारुजाति र पहिचानवादीमाथिको विभेद भएको उसको ठहर छ। ‘हामी सरकारलाई र सम्बन्धित निकायलाई २४ घण्टाभित्र रिहा नगरे, त्यसपछिका घटनामा आफैं घट्ने घटनाको परिणामको दोषी सरकार र सम्बन्धित निकाय हुनेछ’, विज्ञप्तिमा लेखिएको छ, ‘यस घटनाले नागरिक उन्मुक्ति पार्टी र पहिचानवादीमा ठूलो आघात परेको महसुस गरेको छ। हामीलाई जबरजस्ती आन्दोलनमा जाने धकेल्ने प्रयास नगरियोस्।’

सरकारलाई दिएको समर्थन के हुन्छ भन्ने अन्नपूर्णकर्मीको प्रश्नमा प्रवक्ता पण्डितले भने, ‘त्यसका लागि समेत २४ घण्टाको समय दिएका छौं। यो मुद्दा ब्यँुताउनुले सरकारलाई दिएको समर्थन गौण भएको छ।’ 

नेपाल सरकार र थारु संघर्ष समितिबीच २०६९ जेठ १० गते थरुहट थारुवान आन्दोलनका सबै मुद्दा फिर्ता लिने सहमति भएको जिकिर प्रवक्ता पण्डितले गरे। भने, ‘सरकारका यस्ता गतिविधिले हामीलाई थप आन्दोलित हुन बाध्य पारेको छ। हामी सरकारलाई दिएको समर्थन फिर्ता लिएरै आन्दोलनमा जान्छौं।’ २४ घण्टाभित्र पक्राउ परेका चौधरीलाई रिहा नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आन्दोलनमा उत्रिने प्रवक्ता पण्डितले बताए। 

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सरकारलाई समर्थन नचाहिने रहेछ भन्दै प्रतिक्रिया दिएकी छन्। सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष चौधरीले लेखेकी छन् ‘अपराधी थारुलाई मात्रै देख्ने सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ।’ अन्य थारू नेताहरूले समेत चौधरीलाई रिहा गर्नुपर्ने माग गर्दै आइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.