समाजमा स्थापित एचआईभी संक्रमित महिला
अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ की पार्वती (नाम परिवर्तन) उमेरले ६० वर्ष पुगिन्। यो उमेरमा पनि उनीमा जोस, जाँगर र आत्मविश्वास कुनै युवाको भन्दा कम छैन। गाउँपालिकामा उनी स्वयंसेवकको रूपमा काम गर्छिन्। पार्वती एचआईभी संक्रमित एकल महिला हुन्। उनी गाउँपालिका भरीका ३६ जना एचआईभी संक्रमितको हेरविचार गर्ने काम गर्छिन्। उनीहरूलाई परेको आवश्यकताका विषयहरू पालिका प्रमुख समक्ष राख्ने गर्छिन्। पालिकाबाट एचआईभी संक्रमितहरूले पाउने खाद्यान्न, आर्थिक सहयोगलगायत अन्य सेवासुविधाहरूका बारेमा समेत उनी जानकारी गराउँछिन्। लुकेर बसेकाहरूलाई बाहिर आउन र खुलेर एचआईभीविरुद्ध डट्न हौसला बाँड्ने काम गरिन्। पहिलेभन्दा अहिले संक्रमित महिलाहरू अहिले खुलेर बाँच्न सक्ने वातावरणको सिर्जना हँुदै गएको उनी बताउँछिन्। समाजमा स्थापित हुन एचआईभी संक्रमितहरूले ठूलो संघर्ष गर्नुपर्छ। त्यसमाथि झन् महिलाहरूलाई त समाजले बाँच्नै दिँदैन उनी भन्छिन्। २५ वर्ष पहिले यसरी सहजै एचआईभी लागेका महिलाहरूले हिँड्न सक्ने वातावरण नै थिएन। उनले भनिन्, एचआर्ईभी संक्रमितलाई आफन्तले नै सुटुक्क मर्ने सल्लाह दिन्थे त्यो बेला।
अछाममा २०५४÷०५५ तिर एचआईभीको भयावह स्थिति थियो। तत्कालीन समयमा सरकारले पनि एचआईभी संक्रमणलाई प्राणघातक रोगमा सूचीकृत गरेको थियो। रोग लाग्यो कि मान्छे खत्तम ! मर्नुको विकल्पै थिएन। एचआईभीका कारण पार्वतीको श्रीमान्को २०५५ सालमा भारतमा मृत्यु भयो। श्रीमान्को काजकिरिया सकिएपछि उनले पनि आफ्नो रगत परीक्षण गराइन्। श्रीमान्लाई देखा परेको रोग आफूलाई पनि देखिन्छ भन्नेमा ढुक्क थिइन् उनी। रिपोर्ट पोजेटिभ आएपछि उनी कत्ति पनि विचलित नभएको बताउँछिन्। उनले भनिन्, ‘मलाई पनि पक्का देखिन्छ भन्ने थाहा पाइसकेकी थिए। कत्ति पनि हरेस खाइनँ। चार छोराछोरीको रिपोर्ट भने नेगेटिभ आयो। त्यसैमा खुसी भए। जसोतसो दुई छोरा र दुई छोरीलाई हुर्काए। अहिले त छोराछोरीबाट नाति, नातिनी देखिसकें। दुवै छोरा आ–आफ्नो व्यवसाय गरेर खान्छन्।’
एचआईभीलाई त्यतिबेला ‘नौलो रोग’ भन्थे। एचआईभीले ज्यान गुमाएका मान्छेलाई कसैले छुँदैनथे। गाउँघरमा फलानाको मृत्यु भयो भनेर भनिँदैनथ्यो। मानिसको मृत्युलाई कुकुर, बिरालो र अरू जनावरको मृत्युसँग जोडिन्थ्यो। पार्वतीले १२ वर्षसम्म एचआईभीको क्षेत्रमा त्यतिबेला क्रियाशील संस्था गंगोत्री ग्रामीण विकास मञ्चमा काम गरिन्। संस्थामार्फत पनि उनले गाउँगाउँमा गएर जनचेतना जगाउने काम गरिन्। ‘त्यतिबेला समाज बिगार्न आई भनेर थुप्रैले गाली गरे। लखेट्नसमेत आए तर म आफ्नो कामबाट कहिल्यै पछाडि हटिनँ’, उनले संघर्षपूर्ण विगत सम्झिन्।
कमलबजार नगरपालिका–५ कुइँकाकी मनकला (नाम परिवर्तन)को गाउँमै सानो खुद्रा पसल छ। पसलबाट उनको घरखर्च राम्रैसँग चलेकै छ। उनी अन्य सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन्। उनको श्रीमान्को निधन भएको १८ वर्ष भयो। श्रीमान्को मृत्युपश्चात उनले समाजमा स्थापित हुन निकै संघर्ष गर्नुप¥यो। भारतमा नोकरी गर्दैै आएका उनको मृत्यु भएको थियो। मृत्युको कारण थियो, एचआर्ईभी। कल्पनासमेत नगरेको रोगबाट श्रीमान्को मृत्यु भएको थाहा भएपछि मनकलाको खुट्टा तलबाट जमिन भाँसिए झैं भयो। आफू बर्बाद भएको महसुस भयो। समाजसँगको लडाइँ र एक्लो सन्तान छोरी हुर्काउनु पर्ने जिम्मेवारी पनि थपियो। उनले श्रीमान् बितेको २ वर्षपछि धनगढी गएर आफ्नो र छोरीको रगत परीक्षण गरिन्। उनको पोजेटिभ र छोरीको नेगेटिभ रिपोर्ट आयो। छोरीको रिपोर्ट नेगेटिभ आएकोमा निकै खुसी भइन्। ‘भगवान्सँग एउटै प्रार्थना थियो। छोरीलाई यो रोग नलागेको होस्। म दुःखीको पुकार भगवान्ले सुनेछन्। आफ्नै समाजमा बस्नको लागि कति दुःख पाए। आफन्तले गर्ने व्यहारले दिनदिनै मरे जस्तै हुन्थे तर पनि हिम्मत हारिनँ’, उनले विगत कोट्याइनँ, ‘छोरीलाई हुर्काएँ, बढाएँ, पढाएँ। अहिले २५ वर्षकी छोरीको राम्रैसँग बिहे गरेर पठाएँ। छोरीलाई राम्रै छ। केटा पक्षको परिवारलाई सबै कुरा भनेर नै छोरीको बिहे गराइदिएँ।’
उनले जिल्ला अस्पतालबाट एआरटी खाइरहेकी छिन्। ४४ वर्षीया उनी एचआईभी लाग्यो भन्दैमा सर्वस्व नै नसकिने अनुभव सुनाउँछिन्, ‘एआरटी सेवन र आत्मविश्वास बलियो भएपछि सामान्य जीवन जिउन सकिने रहेछ। यही आत्मविश्वास र संघर्षका कारण उनले गैरसरकारी संस्थामा काम गर्ने अवसर पाइन्। उनले केही वर्ष गंगोत्री ग्रामीण विकास मञ्च र एक वर्ष जति वाक नेपालमा एचआईभीको क्षेत्रमा काम गर्ने मौका पाइन्। त्यसपछि झन् उनको आत्मबल बढ्दै गयो। आफूजस्ता थुप्रै महिलाहरूलाई हौसला दिने काममा उनी सक्रिय भइन्। पहिले उनले छोएको नखाने समाज अहिले उनकै पसलबाट सामान किनेर लैजान्छन्। सामाजिक कार्यमा पनि उनलाई बोलाउने गर्छन्।
मेल्लेख गाउँपालिका–४ कुस्कोटकी माया (नाम परिवर्तन)ले पनि श्रीमान्ले गरेको गल्तीको सजाय भोग्न प¥यो। समाज र आफन्तको घृणित व्यवहारको सामना गरिन्। अछामी समाजमा दलित महिला, एकल, त्यसमाथि झन् एचआईभी संक्रमित समाजमा बाँच्नका कहाँ सजिलो थियो र ! भारतमा कमाउँदै आएका श्रीमान्को दुई वर्ष पहिले एचआर्ईभीका कारण मृत्यु भयो। श्रीमान्कै कारण उनी पनि संक्रमित भइन्। चार सन्तानको पूरै जिम्मेवारी उनको काँधमा आइप¥यो। ‘समाजले छोराछोरीलाई गर्ने हेलोहोचो। पानी पँधेरामा जाँदा, बाटो हिडँ्दा सुनाउने वाण झैं तिखा वचन, उनले लामो सास फेर्दैै भनिन्, ‘पाएको दुःख भनिसाध्य छैन। सन्तानको मायाले मर्न सकिनँ।’ उनले हार मानिन्। संघर्ष गरिन्। पहिलेभन्दा अहिले समाजको हेर्ने नजर धेरै परिवर्तन भइसकेको उनले बताइन्। अहिले उनी बाख्रापालन गरेर घरव्यवहार चलाएकी छिन्। वाक नेपाल संस्थाले बाख्रा सहयोग गरेको थियो। त्यही बाख्रापालनबाट तीन छोराहरूको लालनपालन गरिरहेकी छन्। १६ वर्षको जेठो छोरो नोकरी गर्न भारत गएको छ। ‘दुःख त मान्छेका कहिले पनि सकिँदैन। घर पुरानो भएकाले चर्केको छ। बस्न मिल्दैन। जेनतेन बसेका छौं। समाजका लागि केही गरेर मात्र मर्छु जस्तो लाग्छ’, उनी आशावादी बनिन्।
अछाममा २०६२ सालदेखि एचआईभीको परीक्षण गर्न सुरु गरिएको हो। त्यतिबेला अछाममा एचआईभीको कहालीलाग्दो अवस्था थियो। परिवार पाल्ने र कमाउने एक मात्र ठाउँ भारत थियो। भारतबाट आएका मानिसदेखि डराउँथे। एचआर्ईभी भित्रिने स्रोत पनि त्यही भारत थियो। भारतबाट आएका श्रीमान्बाट श्रीमतीलाई एचआईभी उपहार हुन्थ्यो। रोग लागेको थाहा पाए पनि घरमा श्रीमतीलाई जानकारी गराउदैनथे। त्यति बेला एचआईभी संक्रमितलाई गरिने व्यवहार लेखिसाध्य छैन। पछिल्लो समय विभिन्न सरकारी निकाय र सामाजिक संघसंस्थाको जनचेतना कार्यक्रमले एचआईभी परीक्षण गर्ने र संक्रमितहरू खुल्न थालेका छन्। एचआईभी संक्रमित भएकै कारण घरपरिवार र समाजले घृणा र तिरस्कारबाट अपहेलित जीवन बिताउन बाध्य एकल महिलाको गंगोत्री ग्रामीण विकास मञ्च अभिभावक बनेको थियो। संक्रमितहरूलाई खुलेर बाँच्न सिकाएको थियो। संस्थाले संक्रमित महिलालाई रोजगारको अवसर दिएर सशक्त बनाएको थियो। त्यही ऊर्जामा काम गरेका पार्वती, मनकला र माया अहिले संक्रमितका लागि प्रेरणा बनेका छन्। गंगोत्री ग्रामीण विकास मञ्च २०७० सालयता निष्क्रिय छ।
‘एचआर्ईभी संक्रमितहरूलाई ढाटैबाट हेर्नसमेत डराउँथे। केही कतै झुक्किएर नजर परिहाल्यो भने पनि सरिहाल्यो भनेर डराउँथे’, गंगोत्रीका तत्कालीन फिल्ड संयोजक अछामका टक्कर ताम्राकारले कहालिलाग्दो विगत सम्झे, ‘संस्थाले संक्रमितहरूको हेरविचार, उपचार गर्दा गर्दै आर्थिक रूपमा कमजोर भएका घरपरिवारका बालबालिकालाई पढाउने काम ग¥यो। गाउँगाउँमा शोभा समूह गठन गरे जनचेतना जगाउने काम ग¥यो। त्यसैको परिणाम अहिले केही संक्रमित एकल महिला समाजमा उदाहरणीय बनेका छन्। उनीहरूलाई नै देखेर अन्य संक्रमितहरू खुलेर बाँच्न थालेका छन्।’
स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार जिल्लामा हाल १ हजार ५ सय ७६ एचआईभी संक्रमित छन्। ३ सय ७८ महिला र २ सय ३५ पुरुष संक्रमितहरूले नियमित एआरटी सेवन गरिरहेका छन्। २०६५ सालदेखि २०७९ पुस मसान्तसम्म २ सय ५ जना संक्रमितको मृत्यु भइसकेको छ। उनले भने, ‘अहिले अधिकांश संक्रमित खुलेका छन्। कोही भने एआरटी काउन्सिलरसँग मात्र खुल्ने गरेका छन्। एचआईभीका विषयमा अहिले सबै सचेत छन्।’
विगतमा घरपरिवार र समाजको घृणा र तिरस्कारबाट अपहेलित जीवन बिताउन बाध्य एचआईभी संक्रमित एकल महिला अहिले खुलेर बाँच्न सकेका छन्।