विमानस्थल बन्यो, उडानको छैन टुंगो
वीरेन्द्रनगर : कालीकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित सुनथराली विमानस्थल ३७ वर्ष लगाएर निर्माण सकिए पनि जहाज उडान-अवतरणको टुंगो छैन। विमानस्थल निर्माण आयोजनाले धावनमार्गमा कालोपत्रे गरी रंगरोगनको काम पनि सम्पन्न भएको छ। यसअघि नै परीक्षण उडान सफल भएको यो विमानस्थलमा हालसम्म नियमित उडान हुन सकेको छैन। निर्माणको सबै काम सम्पन्न भए पनि यो विमानस्थलमा कहिलेबाट नियमित उडान हुने भन्ने टुंगो नहुँदा सर्वसाधारण निराश छन्।
निर्माण सुरु भएको ३३ वर्षपछि २०७३ माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पालामा परीक्षण उडान सफल भएको थियो। त्यसपछि फेरि त्यो विमानस्थलमा जहाज अवतरण भएको छैन। २०७५ साउनमा विमानस्थल कालोपत्रे गर्नका लागि श्याम एन्ड शंकर जेभीले ठेक्का लिएको थियो। पटक–पटक म्याद थपेर गत पुसमा काम सम्पन्न गरेको हो। निर्माण कम्पनीसँग २०७७ असार मसान्तसम्म कालोपत्रे गर्नुपर्ने सम्झौता थियो। विमानस्थल निर्माणमा झन्डै ४२ करोड बजेट खर्च भएको निर्माण आयोजनाले जनाएको छ।
२०७५ साउनमा कालोपत्रे गर्न श्याम एन्ड शंकर जेभीले ठेक्का लिएको १५ करोड र त्यसअघि पटक–पटक भएका ठेक्काहरूमा २७ करोड गरी ४२ करोड बढी बजेट खर्च भएको हो। विमानस्थलको स्थलगत अनुगमन गरी निर्माण कार्य पूरा भएको प्रतिवेदन दिएपछि नियमित उडान हुने आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले बताए। ‘विमानस्थल निर्माणको काम सकिएको छ’ उनले भने, ‘तत्कालै नियमित उडान गर्नका लागि हाम्रो तयारी छ।’ उनका अनुसार विमानस्थलको धानवमार्गको लम्बाइ ६ सय ४० मिटर र चौडाइ २० मिटर छ।
भौगोलिक रूपमा पनि जहाज उडानका लागि निकै उपयुक्त विमानस्थल रहेको श्रेष्ठले बताए। उनका अनुसार विमानस्थलमा भौतिक संरचना निर्माणको काम पूरा भइसकेको छ। नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर विष्टले पटक–पटकको ताकेतापछि विमानस्थल निर्माणको काम सकिएको बताए। ‘जहाज आएन भने विमानस्थल बनेको पनि केही काम छैन’ उनले भने, ‘नियमित उडानका लागि हामी लागिरहेका छौं।’ विमानस्थलमा आउने सडकको पनि स्तरोन्नति गर्ने योजना रहेको उनले बताए।
विमानस्थलको नियमित उडान भएमा यहाँका पर्यटकीय स्थलहरू रामारोशन, बाजुरा र कालीकोटको सिमानामा रहेको त्रिवेणी पाटन, बडिमालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने स्थानीय दीपेन्द्र बुढाले बताए। यो विमानस्थल निर्माणकै क्रममा ३५ जनाले ज्यान गुमाएका थिए। माओवादीले थालेको युद्धको बेला २०५८ मा धादिङ जोगीमाराका १७ जनासहित ३५ जना मजदुरहरूलाई नेपाली सेनाले हत्या गरेको थियो। १८ जना कोटबाडाकै स्थानीय मजदुर थिए। उनीहरू सबैको चिहान त्यही विमानस्थलभित्र छ। ती मजदुरका परिवारहरूले विमानस्थलमा जहाज चढ्न पाए आफ्ना आफन्तहरू गुमाएको घाउमा मल्हम लाग्ने बताउँछन्।