साइबर संसारमा सुरक्षा संकट
इन्टरनेटको प्रयोगले समाजमा पारिरहेको असरलाई विश्लेषण र रूपान्तरण गर्न जरुरी छ। बेरोजगार समूह, कम रोजगारी हुनेहरू इन्टरनेटको माध्यमबाट अपरिचितहरूसँग नजिकिने, डिजिटल प्रेममार्फत हनिट्र्यापमा पर्ने, आर्थिक तथा यौनजन्य अपराधहरूमा जोडिने खतराहरू बढेको छ।
गत साता नेपालका सम्पूर्ण इन्टरनेट पहुँच केही घण्टा अस्तव्यस्त भयो। २०७९ माघ १४ गते सर्भरमा समस्या आउँदा सम्पूर्ण इन्टरनेट पहुँच डाउन भयो। त्यसका कारण आन्तरिक तथा बाह्य हवाई उडानहरू, आन्तरिक र बाह्य भुक्तानी गेटवेहरू, सूचना आदानप्रदानका सम्पूर्ण माध्यम बन्द रहे। केही घण्टा इन्टरनेट सर्भिस डाउन हुँदा भएको छटपटी र जीवनचर्या ठप्प हुने अवस्थाले इन्टरनेटले कसरी विश्व कब्जा गरिरहेको छ भन्ने उदाहरण अनुभूत गर्न सकिन्छ। यस्तै घटना २०७८ साउन ७ गते पनि विश्वका अधिकांश देशहरूमा एक्कासी इन्टरनेट सेवा अवरुद्ध भयो। त्यसले अमेजन, ब्रिटिस एयरवेज, प्लेस्टेसन, एयरबीएनबीलगायतका सेवामा प्रभाव पर्यो। यो अवरोधका कारण डीएनएस प्रदायक कम्पनी अकामाईले त क्षमा माग्यो।
सेवा अवरोधका कारण आफ्नै ब्रान्ड र अन्य विभिन्न कानुन र आचारसंहिता लागू गरेका प्रतिष्ठित कम्पनीले करोडौं डलर क्षतिपूर्ति तिर्नु परेको थियो। उनीहरूलाई भएको नोक्सानको विषयमा कुरा उठाउने कुनै कानुनी व्यवस्था छैन। त्यसैले इन्टरनेट र यसका जोखिमसम्बन्धी कानुन निर्माणको विषय अहिले विश्वस्तरको बहसको विषय बनेको छ। नेपाली सन्दर्भबाट हेर्दा इन्टरनेट पहुँच शतप्रतिशतमा पुग्न लागेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक वर्ष २०७८÷०७९ को प्रतिवेदनअनुसार नेपालमा तारसहितको इन्टरनेटको पहुँचमा ३२.८२ प्रतिशत, ताररहित ०.३४ प्रतिशत र मोबाइल इन्टरनेटको पहुँच ९८.४६ प्रतिशत गरी १३१.६२ प्रतिशत पुगेको छ। यसरी पहुँच र प्रयोगका दृष्टिले नेपालमा इन्टरनेट अत्यधिक प्रयोगको अवस्थामा छ। भुक्तानी प्रणाली, प्रशिक्षण केन्द्र, न्युज पोर्टल, अनलाइन मार्केटलगायतका विविध हिसाबले इन्टरनेट बेगर आफ्नो कुनै पनि सेवा वा वस्तुको आदानप्रदान नै नहुनेसम्मको अवस्था बन्नु चिन्ताजनक विषय हो।
इन्टरनेट पहुँच र प्रयोगको यो प्रभाव र परनिर्भरतालाई लिएर अब देशभित्र आन्तरिक र विश्व मञ्चमा नेपालले केही प्रश्नहरूलाई गम्भीर रूपमा उठाउन आवश्यक छ। नेपालको आफ्नो आविष्कार हुन नसके पनि विश्व इन्टरनेटमा भएको एकाधिकार र त्यसको असीमिततालाई अन्तर्राष्ट्रिय कानुन निर्माण गरी नियमन गर्नुपर्छ भन्ने आवाज उठाउन ढिला भइसकेको छ। कम विकसित मुलुकहरूमा हुने साइबर आक्रमण, प्रविधिको प्रयोग गरेर हुने अभिलेख चोरी, भूसूचनाको चोरी तथा आर्थिक चोरीका विषयमा आवाज उठाउन ढिला भइसकेको छ। त्यसैले साइबर सुरक्षाको विषयलाई विश्वस्तरीय र आन्तरिक सुरक्षाका पाटोमा केही विषयहरूलाई गम्भीरताका साथ उठान जरुरी छ।
आवश्यकताले नयाँ सिर्जनाको आविष्कार गरेको हुन्छ। अभाव वा आवश्यकताको हुटहुटी र प्रतिस्पर्धाको इगोले आविष्कारका नयाँ खुट्किला थपिए। दोस्रो विश्वयुद्धताका अर्थात् १९३९ देखि १९४५ सम्म विश्व आणविक प्रतिस्पर्धा र पक्षधरतामा विभाजित भयो। संयुक्त राष्ट्रसंघको स्थापना र विश्वयुद्धको समाप्ति भए पनि संसारका आणविक शक्तिशाली भनिएका देशहरूले आफ्नै शैलीले आफ्नै देशभित्र आणविक परीक्षणका नाममा युद्धका धङधङ्गीहरू छोड्ने क्रममै रहे। अमेरिका र सोभियत संघको उच्चतम प्रतिस्पर्धाको त्यस कालखण्डमा सोभियत संघले सन् १९५७ गरेको स्पुतनिक उपग्रहको प्रक्षेपणले अमेरिकालाई झट्का लायो। नयाँ इगो सिर्जना गर्ने क्रममा युद्धमा तैनाथ सैन्य संरचनाको आन्तरिक सूचना सञ्जालीकरणलाई प्रविधिले निर्देशित गर्न १९६६ मा अर्पानेटको नामकरण गरियो। अनुसन्धाताहरूले सञ्चारको साझा भाषाको निर्माण र आदानप्रदानको विधिलाई आन्तरिक नेटवर्किङबाट सार्वजनिक गरी १९९० मा सार्वजनिक रूपमा यस्तो नेटवर्क सञ्चालन गर्न सक्ने गरी अमेरिकाले विश्वलाई इन्टरनेटको निजी ढंगले प्रयोग गर्न सक्ने गरी पहुँच खुल्ला गरी संसारभर नयाँ आविष्कारको सन्देश दियो।
सूचना प्रविधिमा आधारित विश्वलाई साइबर संसार भन्ने गरिन्छ। प्रविधि उत्पादनदेखि नै अमेरिकाले कब्जा गरेको छ साइबर। साइबर संसारको विकास र यसको उपभोक्तावादी नियन्त्रणमा सिंगो विश्व कब्जामा परिसकेको छ। यसलाई नियमन र व्यवस्थित गर्ने कानुनहरू न संयुक्त राष्ट्रसंघको तहबाट भएका छन् न कुनै अन्तर्राष्ट्रिय तहबाट। केवल इन्टरनेटको उपयोगिता विस्तारका लागि बहस र त्यसको प्रयोगले नाफामा वृद्धि गर्ने प्रतिस्पर्धामा पुँजीवादी दुनियाँ व्यस्त छ। अझ विकासोन्मुख र अविकसित देशहरूमा त इन्टरनेट पहुँच बढाउने नाममा भएका अस्वस्थ र अस्वाभाविक परिस्थिति देखिएका छन्। जसले साइवर संसारमार्फत सिंगै विश्व नयाँ साम्राज्यवादको जालोमा फसिरहेको देखिन्छ।
राष्ट्रियता र सार्वभौमसत्ताको सवाल
इन्टरनेटको प्रयोगको असीमितताले हाम्रो जस्तो देशको राष्ट्रियता, सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षामा असर परिरहेको छ। यसबाट जोगिन हामीले अन्तर्राष्ट्रिय न्यायालय, संयुक्त राष्ट्रसंघ र विश्व मञ्चमा आवाज उठाउनुपर्छ। इन्टरनेट प्रविधिको विस्तारसँगै आपराधिक प्रयोजनका लागि नेपालको भूसूचनाको दुरुपयोग, नेपालको नागरिक र सम्पत्तिको अभिलेखको दुरुपयोग हुन सक्ने खतरा छ। नेपालको बैंक तथा वित्तीय संस्थाको भुक्तानी प्रणालीमा डकैती गर्ने र आर्थिक अपराध हुने गरेका घटना आइरहेका छन्।
इन्टरनेटको प्रयोगले समाजमा पारिरहेको असरलाई विश्लेषण र रूपान्तरण गर्न जरुरी छ। बेरोजगार समूह, कम रोजगारी हुनेहरू इन्टरनेटको माध्यमबाट अपरिचितहरूसँग नजिकिने, डिजिटल प्रेममार्फत हनिट्र्यापमा पर्ने, आर्थिक तथा यौनजन्य अपराधहरूमा जोडिने खतराहरू बढेको छ।
व्यक्तिगत सूचना दुरुपयोग हुने क्रम बढिरहेको छ। सामाजिक सञ्जाल तथा अन्य एप्समार्फत नेपाली नागरिकका सूचनाहरू दुरुपयोग गरेर संगठित गिरोहहरूले अनेक ठगी धन्दाहरू चलाइरहेका छन्। यसले नेपाली सार्वभौमसत्ताको अपमान र अवज्ञा भइरहेको छ।
उत्पादन र आर्थिक सुरक्षाको सवाल
राष्ट्रिय उत्पादन अवस्था ऋणात्मक भइरहेको अवस्थामा उत्पादनशील क्षेत्रमा लाग्नुपर्ने श्रमशक्ति सेवा क्षेत्रमा केन्द्रित भइरहेको अवस्था र सेवा क्षेत्रलाई प्रवद्र्धनात्मक पक्षबाट इन्टरनेटले भरथेग गरिरहेको अवस्थामा राष्ट्रिय उत्पादनशक्तिमा ह्रास आइरहेको छ। दूरदराजमा इन्टरनेट पुग्दाको अवस्थामा कम रोजगारी र बेरोजगारी समस्या झेलिरहेकाहरू पूर्ण रूपमा बेरोजगार बन्दै इन्टरनेटमै झुन्डिरहने अवस्थाले पनि श्रमशक्तिमा झन् गिरावट आइरहेको छ। आविष्कारबाहेक इन्टरनेटमा आधारित उद्यमशीलतामप्रतिको आकर्षणले डलरमा रूपान्तरण भएर रकम बाहिरिइरहेको छ।
पाँच सय डलरसम्मका कार्ड जोकसैले पनि पाउने अवस्था हुने र अनलाइनमा आधारित व्यवसायमार्फत रकम बाहिरिनु देशका लागि अर्को आर्थिक तथा सूचना प्रणालीबाट हुने जोखिमको पक्ष हो। यसलाई तत्कालीन रूपमा हेर्दा आर्थिक समस्याका रूपमा देखिए पनि इन्टरनेटको विकासका कारण बढ्ने जोखिम हो।
सामाजिक सवाल
इन्टरनेटको प्रयोगले समाजमा पारिरहेको असरलाई विश्लेषण र रूपान्तरण गर्न जरुरी छ। बेरोजगार समूह, कम रोजगारी हुनेहरू इन्टरनेटको माध्यमबाट अपरिचितहरूसँग नजिकिने, डिजिटल प्रेममार्फत हनिट्र्यापमा पर्ने, आर्थिक तथा यौनजन्य अपराधहरूमा जोडिने खतराहरू बढेको छ। सामाजिक सञ्जालमा जोडिनेहरूको अवस्था हेर्दा यति ठूलो र विकराल रूप लिइसकेको अवस्था छ त्यो गम्भीर छ।
सामाजिक सञ्जालका सम्बन्ध र आपसी निगरानीका होडबाजीले निकट सम्बन्धहरू खुकुला र अस्थिर हुँदै सामाजिक एकताको अवस्थाबाट सामाजिक विघटनतर्फ उन्मुख छ। हरेक व्यक्तिका चासो र टिप्पणीहरूले समाजलाई आक्रोश, पीडा, घृणा र निराशामा केन्द्रित राखेको छ। इन्टरनेटबाट प्रदान गरिने सामाजिक सन्देशहरूले पनि तीव्र विकास र उच्च प्रगतिका महत्त्वाकांक्षा बाँड्ने र तत्कालीन अवस्थाहरू सो अनुरूप हुन नसकेको अवस्थामा महसुस गर्ने पीडाले डिप्रेसन हुँदै आत्महत्यासम्म पुग्ने अवस्था निर्माण भएको छ जुन अत्यन्तै चिन्ताजनक छ। सामाजिक सञ्जालको असामाजिक परिचय बनिसकेको अवस्था छ यो अर्को चिन्ताजनक अवस्था हो।
न्यु मिडिया र मेनिपुलेसन
इन्टरनेट प्रयोगले पत्रकारिता र आमसञ्चारमा अर्को कार्यापलट गरेको छ। विकाससँगै सञ्चार जगत्मा भित्रिएको विकृतिले न्यु मिडिया अत्यन्तै भड्किलो र असीमित अधिकारसहितको जस्तो बनिरहेको छ। युट्युब र ब्लगले परम्परागत सञ्चारमाध्यमलाई विस्थापितजस्तै बनाइसकेको छ। परम्परागत सञ्चार माध्यमको कुराभन्दा युट्युब र ब्लगले लेखेका कुराहरूलाई हेरेर समाज भट्किरहेको छ।
हेडलाइन र थम्नेल इमेजहरूका आधारमा मानिसहरू धारणा बनाइरहेका छन्। यस्ता मिडियाहरूलाई निश्चित समूहहरूले आफ्नो अनुकूलता प्राप्ति र स्वार्थ साधनाका लागि दुरुपयोग गर्ने क्रम बढेको छ। न्यु मिडियाको प्रयोगबाट राज्यसंयन्त्र र कानुनभन्दा चर्चा, लोकप्रियता र भीड माथि हो भन्ने ढंगले भाष्य निर्माण गरिँदैछ। अबको क्रान्ति र परिवर्तन इन्टरनेटलाई नै प्रयोग गरेर गर्ने हो भन्ने ढंगले विषयहरूका उठान र एजेन्डाहरूको पक्षधरता र वर्गभन्दा प्रविधिलाई प्रधान बनाएर सम्पूर्ण क्षेत्रमा दबदबा बढाइएको छ। यो दूरगामी महत्त्वको विषय हो।
मनोवैज्ञानिक सवाल
इन्टरनेटले समाजलाई मनोवैज्ञानिक रूपमा मोडिरहेको छ। अभिप्रेरित गर्ने तौरतरिकाहरू र मनोवैज्ञानिक प्रभाव बनाउने शैलीका होडबाजीले मानिसलाई मानवीय गुणबाट रोबोटिक बनाइरहेको छ। मानवीय संवेगहरूभन्दा निर्जीवजस्तो बनाउँदै लैजाँदा उसमा महसुस हुने एक्लोपना, स्वार्थ र उच्च महत्त्वाकांक्षालगायतका सवालहरूले मानसिक स्वास्थ्यमा आघात पुगिरहेको हुन्छ। मानसिक र मनोवैज्ञानिक समस्याका कारण ठूलो संकटमा मानव समुदाय फसिरहेको छ। यसबाट जोगाउन इन्टरनेट प्रयोगकर्ताले सिक्ने कुराहरूलाई रचनात्मक, गुणस्तरीय र आवश्यकतामा आधारित विश्लेषणबाट पास गर्ने व्यवस्था गर्नुपर्छ। इन्टरनेटबाट प्रवाह हुने सामग्रीहरूलाई नियन्त्रण गर्ने संयन्त्र बनाउन जरुरी छ।
बालबालिका र साइवर सवाल
बालबालिकाहरू साइबर जोखिममा ज्यादा छन्। प्रविधि र त्यसको सुरक्षा प्रोटोकलको जानकारीको अभाव, संकट र त्यसबाट निस्कने उपायहरूको अभाव, जीवन र संघर्षका सीप र संघर्ष संस्कार अभावले उनीहरू बढी जोखिममा छन्। त्यसैले बालबालिकाहरूलाई इन्टरनेटको प्रयोग र त्यसबाट हुने हानि, पोर्नोग्राफी र त्यसबाट बच्नका लागि सही यौन शिक्षाको स्वाभाविक ज्ञानको प्रवाहलगायतमा ध्यान दिन जरुरी छ। उनीहरूलाई साइबर संसार गोप्य स्थान होइन यहाँ प्रयोग गरिएका तस्बिर, मेसेज वा कुनै पनि सामग्रीहरू सधैंका लागि डिलिट हुँदैनन्।
त्यसकारण जतिसुकै सुरक्षित भनिए पनि व्यक्तिगत सन्देश, तस्बिर वा अन्य कुनै पनि कुराहरू यो माध्यमबाट आदानप्रदान वा स्टोर गर्ने काम सुरक्षित होइन भन्ने सन्देश दिन जरुरी छ। यदि यस्ता कुनै कमजोरीले केही असर परेको अवस्थामा कानुनी उपचार, धैर्य र संघर्षको बाटो पनि छ भन्ने सन्देश दिन जरुरी छ। यसैले साइबर सुरक्षा सबै वर्ग, क्षेत्र, समुदाय, उमेरसमूह, शैक्षिक तहकाहरूलाई जरुरी छ।
यसरी विकासका नाममा भित्रिएको प्रविधिमा रहेको परनिर्भरता र स्वतन्त्रका नाममा छाडिएको असीमिततालाई माध्यम बनाएर आफ्नो प्रभाव फैलाइरहेको इन्टरनेटको दुरुपयोगबाट बच्नेतर्फ ध्यान दिन जरुरी छ। आत्मसचेतना, प्रविधि शिक्षा र घरेलु तथा विश्वव्यापी कानुनी व्यवस्था र संघर्षलाई निरन्तरता दिन नसक्ने हो भने विकासको नाममा अर्को ठूलो दलदलमा नजानिँदो गरी फस्नेमा द्विविधा छैन।