बगेडीको अवैध कारोबार
चिनियाँ विज्ञान प्रतिष्ठानबाट यसै विषयमा पीएचडी गरेका हेमबहादुर कटुवालले तराईमा बगेडीको अवैध कारोबार भइरहेको बताउँछन्।
काठमाडौं : बगेडी चरा अतिसंकटापन्न प्रजातिमा पर्छ। हरेक जाडो मौसममा लाखौं बगेडी मारिन्छन्। राजमार्गका होटलमा अवैध रूपमा यसको मासु बिक्री गरिन्छ। एक अध्ययनअनुसार डिसेम्बरदेखि फेब्रुअरी (तीन महिना) को अवधिमा तराईमा झन्डै डेढ लाख बगेडीको अवैध कारोबार हुँदै आएको छ। चिनियाँ विज्ञान प्रतिष्ठानबाट यसै विषयमा पीएचडी गरेका हेमबहादुर कटुवालले तराईमा बगेडीको अवैध कारोबार भइरहेको बताउँछन्।
कटुवालका अनुसार धनुषा, जनकपुर, सर्लाही, महोत्तरीलगायत मधेस प्रदेशमा अत्यधिक कारोबार हुन्छ। धनुषामा सबैभन्दा धेरै ७० प्रतिशतसम्म व्यापार गरेर हटस्पट बनेको छ। बगेडी खेतबारीमा पाइने चरा हो। प्राकृतिक बासस्थान ठानेर उनीहरू उखुबारीमा बस्न आउँछन्। मधेसमा उखु खेती धेरै हुने भएकाले त्यहाँ धेरै अवैध कारोबार हुँदै आएको कटुवालले जनाए। उनका अनुसार बगेडीलाई दुई तरिकाले बुझ्नुपर्छ। रैथाने र बसाइ सरेर आउने। बगेडीको नाममा साना प्रजातिका करिब २५ थरीका चरा तराईका होटलहरूले बेच्दै आएको उनले बताए। करिब ४० वर्षदेखि तराईमा बगेडीको अवैध कारोबार भइरहेको छ। ‘बगाले बगेडी (एल्लो ब्रेस्टेड बन्टिङ) विश्वमा अति खतराको सूचीमा परेको छ’, उनले भने, ‘नेपालमा पहिला हजारौंको बथानमा आउँथे। आजकल सयको नम्बरमा मात्रै देखिन्छ।’ बसाइ सरेर आउने क्रममा ती चराहरू चीन मंगोलियातिर मार्ने भएकाले संख्यामा गिरावट आएको हो।
जाडो मौसमका तीन महिनामा तराईका होटलहरूमा ७४ लाख ८८ हजार (७,४८८,०००) देखि ८४ लाख २४ हजार(८,४२४,०००) सम्म बगेडी चराको कारोबार गर्ने गरेको देखिएको छ। तर, वन्यजन्तुको सिकार, पासोमा पार्नु, मारेर व्यापार गर्नु गैरकानुनी मानिन्छ। राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन १९७३ ले वन्यजन्तुलाई पासोमा पार्ने काम गैरकानुनी र दण्डनीय हुने कडा व्यवस्था कानुनले गरेको छ। अध्ययनले बगेडीको गैरकानुनी बेचबिखन निकै ब्यापक रूपमा जकडिसकेको र गम्भीर अवस्थामा पुगेको निष्कर्ष निकालेको छ। अति संकटापन्न प्रजातिका वन्यजन्तु संरक्षणको लागि निकै ठूलो जोखिम देखिएको छ। यस्ता गतिविधिले वन्यजन्तुको संख्यामा अत्यधिक गिरावट आएको अध्ययनहरूको निष्कर्ष छ।
विगत दश वर्षको तुलनामा हाल नेपालमा बगेडीको ब्यापार बढेको अध्ययनले जनाएको छ। तर, यस्ता गतिविधिले कुनै प्रजातिको अस्तित्व नै मेटाउन सक्नेसमेत अध्ययनहरूले देखाएको छ। वन्यजन्तुको संख्यामा कमी आउनुको मुख्य कारण अवैध व्यापार तथा चोरी सिकारी रहेको छ। एक जना सिकारीले जाडो सिजनमा प्रत्येक दिन १ हजार २८० देखि १ हजार ४४० वटासम्म बगेडी मारेको रेकर्ड देखिएको कटुवालले बताए। अन्य सिजनमा एक जनाले दैनिक ४० देखि ६० वटा चरा मार्छन्। तर, व्यावसायिक सिकारीले सयदेखि १३० वटा सम्म मारेको भेटिएको छ। उनले भने, ‘तराईका ८० प्रतिशत सिकार अक्टोबर नोभेम्बरदेखि फेब्रुअरीसम्म हुन्छ। सिकारीहरू वर्षभरी नै सिकारमा लागे पनि यतिबेला अझ व्यस्त रहन्छन्।’
नेपालमा सन् १९८१ देखि नै होटलले बगेडीको मासु बेचेका छन्। सिकारीहरूले ३० देखि ३५ रुपैयाँमा किनेर मध्यस्थकर्ताहरूले ४० रुपैयाँसम्म होटललाई बेचेको अध्ययनमा देखिन्छ। एउटा मध्यस्थकर्ताले एउटा सिजनमा अढाइ लाखसम्म नाफा कमाउँछन्। प्रतिप्लेट (आठ वटा टुक्रा मासुको) तीन सयदेखि आठ सय लिन्छन्। तीन महिना मुख्य सिजनमा प्रतिदिन १६० देखि १८० प्लेटसम्म होटलमा बगेडीको मासु बिक्री भएको छ।
चराविद् डा. हेमसागर बरालका अनुसार काठमाडौंका होटलले पनि बगेडीको मासु धेरै खुवाउँथ्यो। आजकल घटेको छ। तर, राजमार्गका होटलमा अझै प्रशस्त बेचिन्छ। उनले भने ‘अन्धविश्वासले खान्छन्। स्मरण बढ्छ। बगेडीको मासु खाँदा शरीर न्यानो र कामोत्तेजना बढ्छ भन्ने विश्वास गरिएको पाइन्छ। तर, वैज्ञानिक रूपमा प्रमाणित भएको छैन।’
तराईमा सानो चरालाई बगेडी भनेर चिनाइन्छ। ठूलो चरा मारेर पनि ठूलो बगेडी भनेर मासु बेचेको भेटेको पाइएको बरालले बताए। बगेडीहरू जहाँ चरे पनि सुरक्षित ठाउँ खोज्दै उखुबारीमा सुत्न पुग्छन्। प्राकृतिक बासस्थान भनेर झुक्किन्छन्। त्यहाँ ठूलो संख्यामा मारिन्छन्। ‘पहिला पाँच हजारभन्दा बढीको हुलमा बगाले बगेडी आउँथे। अहिले दुर्लभ भयो। अस्तित्व संकटमा छ। मुस्किलले सय, डेढ सयको बथान देखिन्छन् आजकल’, बरालले भने, ‘एक ठाउँमा खाएर अर्को ठाउँमा प्राकृतिक रूपमा बीउ छर्ने काम यी चराहरूले गर्छन्। बीउ छरेर गुन लगाउँछन्। किसानको साथीको रूपमा समेत यी चरा परिचित छन्। चीनमा खाएर नेपालमा बीउ ल्याउने सबैभन्दा ठूलो माध्यम यिनै चराहरू हुन्।’ नीति, नियम, दिशानिर्देश हुँदाहुँदै पनि कार्यान्वयनमा पाटो कमजोर हुँदा अवैध कारोबार नरोकिएको बरालले गुनासो गरे।
ठूलो प्रजातिमा केन्द्रित रहेको सरकार साना चराहरूको अवैध धन्दालाई बेवास्ता गरिरहेको छ। तर, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका प्रवतmा अजय कार्कीले आझ्नो कार्यक्षेत्रमा यस्ता क्रियाकलाप नभएको बताए। कार्कीले भने, ‘संरक्षित क्षेत्रभित्र विभागले हेर्छ। त्योभन्दा बाहिरको वन कार्यालयले हेर्छ। हाम्रो कार्यक्षेत्रमा यस्तो क्रियाकलाप हुँदैन।’ तर, वर्षौंदेखि कारोबार भइरहे पनि जनचेतनाको कमीले पनि यस्ता कार्य नरोकिएको उनले जनाए। उनका अनुसार यसैगरी कारोबार नरोकिए खाद्य शृंखला र पारिस्थितिक प्रणालीमा नै प्रभाव पार्छ।
अध्ययनकर्ता कटुवालका अनुसार सचेतनाको कमी र बेवास्ताले नै समस्या निम्त्याएको हो। अध्ययनका क्रममा भेटिएका करिब ७० प्रतिशत मानिसहरूले बगेडी पासोमा पर्नु, मार्नु तथा व्यापार गर्नु गैरकानुनी रहेको जानकारी नभएको बताए। त्यसैगरी, ५० प्रतिशत सिकारी, ९२ प्रतिशत मध्यस्थकर्ता, ५६ प्रतिशत होटल र ५४ प्रतिशत ग्राहकहरूले यसप्रकारका गतिविधि रोक्न नहुने प्रतिक्रिया दिएका छन्।