शान्त सिद्धिडाँडा

शान्त सिद्धिडाँडा
सुन्नुहोस्

ताप्लेजुङ : होहल्ला र कामको तनावबाट केही समय शान्त ठाउँमा रमाउन कसलाई मन नलाग्ला र ? अझै सहरी क्षेत्र नजिकै यस्तो ठाउँ भए महत्त्व कम हुँदैन। यस्तै शान्त ठाउँ खोज्नेहरूका लागि उपयुक्त गन्तव्यमा पर्छ ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नजिकै रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र सिद्धिडाँडा। फुङ्लिङदेखि करिब डेढ किलोमिटरको दूरीमा रहेको सिद्धिडाँडा त्यहाँ रहेको पोखरी झैँ शान्त र सितल छ। 

पोखरीबाट अटुट रूपमा खसिरहने पाँच वटा धाराहरू, सँगै रहेको शिव मन्दिर, गुम्बा र वरिपरिको सुन्दर अलैंची बगान यसक्षेत्रका प्रमुख विषेशता हुन्। सदरमुकाम फुङ्लिङबाट आधा घण्टाको पैदल र १०-१५ मिनेटको सडकयात्राबाट पुग्न सकिने यस ठाउँ पुग्दा साँच्चिकै नौलो अनुभूति सँगाल्न सकिन्छ।

बिहानै मर्नीङ वाकमा पुग्दा सुनिने चराचुरुङ्गीको आवाजले दिनलाई नै शुभ तुल्याईदिन्छ। अलैंची पाक्ने सिजनमा बाटो छेऊका बोटबाट अलैंची टिपेर स्वाद लिनुको मज्जा झनै बेग्लै छ। नेपालमा उत्पादन हुने अलैंचीको करिब ६० प्रतिशत हिस्सा ओगटेको छ ताप्लेजुङले। अलैंचीको बगानमा गोडमेलमा व्यस्त रहेका युवादेखि वृद्ववृद्वाको मिठो मुस्कानसहितको प्रतिक्रियाले यहाँको सुन्दरतालाई अझै सुन्दर बनाएको छ। 

‘बजार नजिकैको गाउँले परिवेश, स्वच्छ हावापानी एवं प्राकृतिक सुन्दरता यहाँका आकर्षण रहेछन्’, झापाबाट पाथीभरा दर्शनका लागि आएका सरोज तिवारीले भने ‘सहर नजिकै पनि यति शान्त होला भन्ने कल्पना नै गर्न सकिँदैन।’ बिहानीको समयमा महाबौद्ध ठिसुङ गुम्बा र चण्डेश्वर महादेवधामको दर्शन गर्न पाउँदा पाथिभरा चढेर फर्कंदाको थकाईलाई नै मेटाएको उनी बताउँछन्। प्रसिद्ध तिर्थस्थल पाथीभरा दर्शनका लागि आउने पर्यटकलाई एकदिन फुङ्लिङमा नै बसेर सिद्धिडाँडा घुमेर मात्र फर्कन सुझाव दिन्छन् तिवारी। 

बौद्ध धर्मवालम्बीको महाबौद्ध ठिसुङ गुम्बा र चण्डेश्वर महादेवधाम एकै ठाउँमा रहनु र सवै धर्मका मानिसको उत्तिकै उपस्थिती रहनु धार्मिक सहिष्णुताको अर्को गतिलो उदाहरण पनि हो सिद्धिडाँडा। 

पोखरीबाट निकास निस्किएको धारासँगै बनेको प्रवेशद्वार। त्यहाँबाट भित्र छिरेसँगै दायाँबायाँ पोखरी छन्। पोखरीको बीचमा हिमाल आकारको ठूलो ढुंगा छ। ढुंगामाथिबाट पानी निस्कन्छ। नजिकै रहेको नागथानमा हिन्दु धर्मवालम्बीले पूजाआजा गर्ने गर्छन्। त्यहाँबाट ५० मिटर उकालो हिँडेपछि मन्दिर र गुम्बा गुगिन्छ। त्यहाँ पनि तीनवटा स–साना पोखरी छन्। त्यहिँको मूहानबाट निस्कने सफा पानीमा रहेका माछालाई देख्दा लाग्छ मानिस पनि यसरी स्वच्छन्द हुन पाए...।  

छेउछेउमा फूलको बगैंचा। रङ्गबिरङ्गी फूलहरू। यो गुरुङ समुदायको बाक्लो बस्तीसमेत रहेको ठाउँ हो। यो फुङ्लिङ नगरपालिका ९ हाङ्देवामा अवस्थित छ। शिव मन्दिर भएका कारण महिलाहरूको प्रीय महिना साउन र सोमबार मन्दिरमा दर्शन गर्नेहरूको घुईंचो नै लाग्छ। प्राकृतिक सुन्दरताले भरिएको सिद्धिडाँडा पर्यटकका लागि नयाँ गन्तव्य हो। 

पछिल्लो समय सिद्धिडाँडा आन्तरिक पर्यटकहरूको आकर्षक गन्तव्य बनेको छ। बिदाको समय कटाउन र त्यहाँका स्थानीय रहनसहनको अनुभव गर्न पुग्ने आन्तरिक पर्यटकहरू बढेपनि बाह्य पर्यटकलाई भने अझैपनि सिद्धिडाँडाको बारेमा त्यति धेरै थाहा छैन। 

‘आन्तरिक पर्यटकहरू त धेरै नै आउनुहुन्छ तर बाह्य पर्यटकको संख्या भने उल्लेखनीय छैन।’, स्थानीय छत्र गुरुङले भने, ‘पाथीभरा र कञ्चनजंघा घुम्नका लागि ताप्लेजुङ आउने पर्यटकलाई एकदिन भएपनि सदरमुकाम फुङ्लिङ आसपासका पर्यटकीय क्षेत्रहरूमा घुमाउन पाए अझै राम्रो हुने थियो।’ धार्मिक र ऐतिहासिक रूपले महत्वपूर्ण मानिएको यहाँको सुन्दरतामा रमाउन चाहने हजारौं छन्। 

सिद्धिडाँडाको विकासमा काम नभएका पनि होइनन्। तर, पर्याप्त भने छैन। स्थानीयले मन्दिर र पोखरी वरिपरी तारबार लगाएका छन्। पर्यटकलाई हिँड्न सहज बनाउनको लागि पदमार्गसमेत निर्माण गरिएको छ। तर, सिद्धिडाँडामा गर्नुपर्ने अझै धेरै रहेको उनले सुनाए। 

हिउँदको समयमा त ठिकै हुने सडक वर्षायाममा सवारीसाधन पु¥याउन निकै गाह्रो हुन्छ। पहिरो छिचोल्दै कच्ची सडक पुगेको छ। तर, पहिरो बगिरहने हुँदा नियमित गाडी कुद्न सक्दैनन्। सवारीसाधनको नियमित पहुँच र पर्याप्त प्रचार प्रसार नहुँदा सम्भावना बोकेर पनि सिद्धिडाँडा ओझेलेमा परेको गुरुङ बताउँछन्। 

सिद्धिडाँडामा भौतिक संरचनाको विकास, प्रचार प्रसारसँगै स्थानीयले समेत पर्यटकमैत्री बन्न सिक्नुपर्ने पाथिभरा बहुमुखी क्याम्पसका प्राध्यापक सजन पौडेल बनाउँछन्। ‘सिद्धिडाँडामा थप वाह्य पर्यटकलाई भित्र्याउनका लागि सडकको स्तरोन्नती पहिलो आवश्यकता हो त्यसका साथै स्थानीयलाईसमेत पर्यटकमैत्री बनाउन तालिमलगायतको व्यवस्था गर्नु आवश्यक छ।’ प्राध्यापक पौडेलले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.