कांग्रेसलाई अवसर
भ्रातृ एवं शुभेच्छुक संगठनलाई निष्क्रिय बनाएर कांग्रेस जीवन्त बन्नै सक्दैन। जनतासँग पार्टीलाई जोडनतिर केन्द्रित हुनुपर्छ ।
पछिल्ला तीन वटा आमनिर्वाचन (स्थानीय तह, प्रदेशसभा र संघीय) को नतिजापछि नेपाली कांग्रेस सत्ताको नेतृत्व लिन मानसिक रूपमा तयार थियो। प्रदेश र संघमा उल्लेख्य उपस्थिति रहेको कांग्रेसको सत्तामा सहभागिता अरूहरूका लागि पनि आश्चर्यको विषय थिएन। तत्कालीन पाँचदलीय चुनावी गठबन्धनले स्पष्ट बहुमत नल्याए पनि सहजै सरकार गठनको बिन्दुमा थियो। त्यसमा पनि ठूलो दलको हैसियतले सरकारको नेतृत्व दाबी गर्नु कांग्रेसका लागि प्राकृतिक न्यायको सिद्धान्त अनुरूप नै थियो। भलै, दलहरूबीच आन्तरिक वा गोप्य कोठामा अरू कुनै समझदारी भएको भए पनि।
संसद्को ठूलो दलको हैसियतले प्रदेशदेखि केन्द्र सरकारसम्म बलियो उपस्थिति राख्ने कांग्रेस सत्ताबाहिर रहनुपर्ने परिस्थिति सिर्जना भयो, जुन स्वयं कांग्रेसका लागि अकल्पनीय विषय थियो। जनमतले ठूलो पार्टी बनेको कांग्रेस सरकार निर्माणमा कमजोर देखिँदा त्यसको निराशा कांग्रेसका पार्टी पंक्तिमा मात्रै नभई मतदातासम्मै पुगेको प्रस्टै देखिन्थ्यो, जुन अहिले पनि देखिन्छ।
देशमा १५ वर्ष गठबन्धन गर्ने वाचा गरेका कांग्रेस र माओवादी केन्द्र अलग भए सरकार निर्माणमा। संसद्मा तेस्रो शक्ति रहेको माओवादी सत्ता बाहिर रहेको एमालेसँगको सहकार्यमा सरकारको नेतृत्वमा पुग्यो। नेपाली राजनीतिका चतुर खेलाडी मानिने प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्न सफल भए। कम्युनिस्टहरू एक हुनै सक्दैनन् भन्ने नेकपा विभाजनका बेला स्थापित भाष्यलाई फेरि एकपटक नेपाली राजनीतिमा गलत सावित भयो। नेपाली राजनीतिका दुई किनारा भइसकेका प्रचण्ड र ओलीले बालकोटको बार्दलीबाट हात हल्लाएर फेरि एक ठाउँमा उभिएको सन्देश दिए। भलै, यो एकता कति लामो जान्छ, आफैंमा संशयपूर्ण छ। २०७४ सालको निर्वाचनमा कम्युनिस्ट एकता हुँदा कांग्रेस कमजोर बनेको थियो। कम्युनिस्टहरूलाई मिल्न दिनु हुँदैन भन्ने कांग्रेस रणनीति पनि सफल भएन, यसपटक।
कम्युनिस्टहरू विभाजित भएका बेला पाँचदलीय मोर्चा बनाएर चुनावी मैदानमा उत्रिएको कांग्रेसका लागि अहिले प्राप्त मत परिणाम भने अपेक्षित थिएन। प्रत्यक्ष र समानुपातिकतर्फ कांग्रेसले पाएको मत निकै कम भएको कांग्रेसको स्वीकारोक्ति छ। त्यसो हुनुमा नयाँ दलहरूको उदयलाई एउटा कारणको रूपमा लिन सकिन्छ। २०७४ सालमा पाएको मतको संख्या जोगाउनु त परको कुरा, समानुपातिकतर्फ झन्डै सात लाख बढी मत कांग्रेसको घटेको छ। जबकि यसपटक नयाँ मतदाताको संख्या नै बढेको थियो। चुनावको संघारमा स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षसहित २० सिट जित्नु, त्यस्तै राप्रपाले १४ सिट, तराई मधेसमा जनमत पार्टी र उन्मुक्ति पार्टीको उदयले परम्परागत दलहरूलाई एकपटक गम्भीर भएर आत्मसमीक्षा गर्न दबाब दिएको छ।
नेपालमा जहानियाँ राणाशासन ढाल्नेदेखि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका सबै आन्दोलन र शक्तिहरूको नेतृत्व गरेको नेपाली कांग्रेस किन मतदाताको रोजाइ बन्न सकेको छैन भन्ने विषयमा पनि दलभित्र व्यापक बहस र छलफलको खाँचो देखिन्छ। त्यसैले मतदाता संख्या लाखौंमा बढ्दा सोही हाराहारीमा कांग्रेसको मत घट्नु आफैंमा चिन्ताको विषय हो। कांग्रेस एउटा पार्टी मात्रै होइन, यो त नेपाली क्रान्तिको एउटा विश्वविद्यालय हो। जहाँ जनताका पक्षमा भएका हरेक आन्दोलनको अगुवाइ गरेको गर्विलो इतिहास पढ्न पाइन्छ। समकालीन राजनीतिज्ञमध्ये विश्वमै कहलिएको बीपी कोइराला पढ्न पाइन्छ अनि नेपाली माटोमै स्थापित प्रजातान्त्रिक समाजवाद पढ्न सकिन्छ। त्यस्तो कांग्रेस हो, जहाँ सशस्त्र आन्दोलन भएको इतिहास छ अनि शान्तिपूर्ण रूपमा सत्याग्रहको आन्दोलन पढ्न पाइन्छ। कांग्रेसले नेपालभित्र मात्रै होइन, विश्वभर लोकतान्त्रिक पार्टीका रूपमा पहिचान बोकेको छ। कांग्रेस भनेकै लोकतन्त्र, लोकतन्त्र भनेकै कांग्रेस भन्ने भाष्य स्थापित छ। यो कुरालाई मनन् गरेर कांग्रेस र नेताहरूले चिन्तन र समीक्षा गर्नु जरुरी छ।
यतिबेला कांग्रेस प्रदेश र केन्द्र सरकारमा सहभागी छैन। तर त्यसको अर्थ कांग्रेस सबै गुमाएको भन्ने अर्थमा बुझ्नुहुन्न। सातवटै प्रदेशसभा र संघीय संसद्मा कांग्रेसको उपस्थिति बलियो छ। सरकारमा नभए पनि सदनबाट कांग्रेसले जनताका मुद्दाहरू सशक्त रूपमा उठाउन सक्छ। सरकारलाई गलत नगर्न झक्झक्याउन सक्छ। त्यसैले सत्ता गुमाएको कांग्रेससँग अहिले जनताको शक्ति छ। देश र जनताका मुद्दाका सवालमा सदन र सडकबाट दबाब दिने सामथ्र्य र शक्ति कांग्रेस छ भने जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय तहमा कांग्रेसको उपस्थिति बलियो छ। घरदैलोको सरकारका रूपमा चिनिने स्थानीय तहमा कांग्रेसले नमुना काम गरेर जनताको मन जित्न सक्छ। जनप्रतिनिधि भनेका कांग्रेस जस्ता हुनुपर्छ भन्ने उदाहरण बन्न सकिन्छ। त्यसका लागि पार्टीले नै स्थानीय तहका जनप्रतिनिधिको कामकारबाहीलाई प्रभावकारी र सेवा प्रवाहलाई चुस्त बनाउन निरन्तर अनुगमन गर्नुपर्छ। कांग्रेसलाई सशक्त बनाउने बलियो सेतु बन्न सक्छ स्थानीय तह।
त्यस्तै, पार्टी संरचनालाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने समय आएको छ। कांग्रेसमा भ्रातृ एवं शुभेच्छुक गरी ३० जति संगठन छन्। तर सबैको अवस्थामा कोमामा पुगेको बिरामीजस्तै छ। भ्रातृ एवं शुभेच्छुक संगठनलाई निष्क्रिय बनाएर पार्टी जीवन्त बन्नै सक्दैन। त्यसैले सम्पूर्ण भ्रातृ एवं शुभेच्छुक संगठनलाई पुनर्संरचना गरेर यिनीहरूको प्रभावकारी परिचालन गर्नैपर्छ। यसले गर्दा पार्टीमा सबैले जिम्मेवारी पाउने र संगठन पनि चलायमान हुन्छ।
भ्रातृ तथाा शुभेच्छुक संगठन जस्तै अस्तव्यस्त अवस्था छ, पार्टीका विभागहरूको। पार्टी विभाग आफू निकट नेता कार्यकर्ताहरूलाई भर्ती केन्द्र बनाउनेभन्दा पनि उनीहरूको क्षमता र दक्षताअनुसार जिम्मेवारी दिने निकायका रूपमा स्थापित गर्नुपर्छ। विभागलाई समयमै गठन गर्न सके हजारौं नेता कार्यकर्ताहरूले पार्टीमा अवसर पाउँछन्, जसले गर्दा पनि पार्टी संगठनलाई चलायमान बनाउन नै टेवा पुग्छ।
यतिबेला नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति डेढ सयभन्दा बढी छ। विगतमा सानो केन्द्रीय समितिमै नेताहरूले जिम्मेवारी नपाएको गुनासो गर्दै आएका बेला अहिलेको जम्बो केन्द्रीय समितिको औचित्यतामाथि नै कांग्रेसकै जिम्मेवार नेताहरूले प्रश्न उठाइरहेका छन्। पदाधिकारी वा कार्यसम्पादन समितिले गरेका निर्णयहरू पारित गर्ने थलोका रूपमा मात्रै केन्द्रीय समिति सीमित बन्ने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ। केन्द्रीय समिति बैठक बस्ने मुस्किल हुने अवस्था पछिल्लो एक वर्षबाटै प्रस्ट देखिन्छ। यस्तो अवस्थामा पार्टीले केन्द्रीय सदस्यहरूलाई संगठन निर्माण र विस्तारमा
परिचालन गर्नुपर्छ।
स्थानीय जनप्रतिनिधिमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउनु त छँदैछ, पार्टीका स्थानीय कमिटी पनि उत्तिकै प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेतर्फ कांग्रेसले ध्यान दिन जरुरी छ। जनतासँग जोडिने कांग्रेस बनाउन पनि स्थानीय कमिटीहरूको प्रभावकारिता महत्त्ववपूर्ण हुन्छ। वडा कमिटी, पालिका कमिटी, प्रदशसभा र प्रतिनिधिसभा क्षेत्रीय समिति, जिल्ला र प्रदेश समितिलाई परिचालन गर्नुपर्छ। यी कमिटीहरू आफ्ना मान्छेहरूलाई पद दिने ठाउँका रूपमा विकसित गर्नेभन्दा पनि जनतासँग पार्टीलाई जोड्ने बलियो कडीका रूपमा पार्टीले परिचालन गर्नुपर्छ।
त्यतिमात्रै होइन, यतिबेला लाखौं नेपालीहरू विभिन्न देशमा छन्। कोही श्रम गर्न त, कोही विभिन्न पेसा व्यवसायमा देशबाहिर छन्। देश बाहिर रहेका नेपालीहरूले नेपालभित्रको चुनावी परिणामलाई नै प्रभावित गरिदिएको उदाहरण हुन्, सहरमा स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको विजय र आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय। त्यसैले पनि प्रवासमा रहेका नेपालीहरूलाई कांग्रेससँग जोड्न र उनीहरूमार्फत कांग्रेसका पक्षमा सकारात्मक माहोल बनाउन जनसम्पर्क समितिलाई प्रभावकारी परिचालन गर्नैपर्छ। यसमा पार्टीले नजरअन्दाज गर्न मिल्दैन। त्यसका लागि जनसम्पर्क समितिले पनि विदेशमा रहेका नेपालीहरूका हकहितका मुद्दाहरूलाई प्रभावकारी रूपमै उठाउने र त्यसको समाधानका लागि सरकारसँग समन्वय गर्ने काम गर्नुपर्छ।
अन्तिममा, कांग्रेसले जनताको बलियो साथ पाउँदा पनि प्राविधिक रूपमा सत्ता बाहिर बस्नु परेको यथार्थका बीचमा अब प्रतिपक्षमा रहेर जनताका आवाजहरूलाई सशक्त रूपमा उठाउनुपर्छ। लामो इतिहास भएको, राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा पत्याइएको पार्टी र लोकतन्त्रका पक्षमा सधैं अडिग नेपाली कांग्रेसका अगाडि फेरि चुनौती आएको छ। यसलाई जनताका बीचमा जाने र पार्टी संगठनलाई सशक्त बनाउने अवसरका रूपमा प्रयोग गर्न सके कांग्रेसका लागि आगामी दिनहरू सुखद नै रहनेछन्।
- उपाध्याय, नेपाली कांग्रेसका महासमिति सदस्य तथा जनसम्पर्क समिति क्यानडा उपसभापति हुन् ।