मिर्गौला प्रत्यारोपण गर्ने डिस्चार्ज
वीरेन्द्रनगर : कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने पहिलो बिरामी मोतीबहादुर थापा डिस्चार्ज भएका छन्। थापालाई उनकी आमा यमकला थापाले मिर्गौला दान गरेकी थिइन्। बुवा तुलबहादुर थापासहित कर्णालीमै पहिलो पटक प्रदेश अस्पतालमा मिगौला प्रत्यारोपण सेवा लिन आएका उनी निको भएर घर फर्किएका हुन्।
अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा लिन आएका थापा परिवार र सेवा सुरुवात गर्न आउने सहिद धर्मभक्त मिगौला प्रत्यारोपण केन्द्रका चिकित्सकलाई प्रदेश अस्पतालले बिदाइ गरेको छ। अस्पतालका निर्देशक प्राडा. डम्बर खड्का, अस्पताल विकास समितिका अध्यक्ष प्रेमबहादुर घलेले उनीहरूलाई मायाको चिनो र पुष्पगुच्छा प्रदान गरेका थिए।
पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा दिएका मोतीबहादुर थापाको परिवारले प्रदेश अस्पतालको सेवा निकै राम्रो लागेको बताए। ‘अस्पताल निकै सुविधा सम्पन्न रहेछ, यहाँको वातावरण, सेवा दिने तरिका, सरसफाई र बिरामीलाई गर्ने हेरचाह निकै राम्रो लाग्यो,’ मोतिबहादुरले भने ‘अब मिर्गौला पीडितले यहाँ आएर ढुक्कले सेवा लिन सक्छन्।’
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र प्रदेश अस्पतालका निर्देशक प्रा डा. डम्बर खड्कासहित चिकित्सकको टोलीले कर्णालीमा पहिलोपटक प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको थियो। उक्त प्रत्यारोपण सफल भएको छ।
अस्पतालका निर्देशक प्राडा खड्काले अब नियमित रूपमा मिर्गौला प्रत्यारोपण सेवा दिने बताए। ‘पहिलो पटक मिर्गौला प्रत्यारोपण सेवा सुरुवात गर्न सफल भएका छौं, अब यो सेवालाई नियमितता दिन अस्पताल सबै तयारीमा जुटिरहेको छ,’ उनले भने।