हात्तीका लागि थापेको विद्युतीय धरापमा परी एक जनाको मृत्यु
झापा : झापामा हात्ती रोकथामका लागि घरमा थापेको विद्युतीय धरापमा परी एक जनाको मृत्यु भएको छ। बिजुलीको करेन्ट लागेर मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ७ स्थित बाह्रघरे निवासी ४९ वर्षीय खेम श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार श्रेष्ठले जङ्गली हात्तीबाट जोगिन घर वरिपरि बिजुलीको करेन्ट लगाएका थिए। शुक्रबार राती पिसाब गर्न घर बाहिर निस्किँदा उनी त्यही विद्युतीय धरापमा परेर गम्भीर घाइते भएका थिए।
घाइते भएका उनलाई अस्पताल ल्याउना साथ मृत्यु भएको थियो। हात्ती प्रभावित क्षेत्रका मानिसहरूले आफू र अन्नबाली जोगाउन विद्युतीय धराप थापेर जोखिमपूर्ण उपाय अपनाउँदै आएका छन्।