यो आर्थिक वर्षको बजेटबाट २ खर्ब ४४ अर्ब खर्च हुन सक्दैन: अर्थमन्त्री
अर्थमन्त्री विष्णु पौडेलका अनुसार विनियोजनमध्ये २ खर्ब ४४ अर्ब खर्च हुन सक्दैन। ८६ प्रतिशतमात्र बजेट खर्च हुने।
काठमाडौंः उपप्रधान तथा अर्थमन्त्री विष्णू पौडेलले चालु आवको विनियोजित बजेट लक्ष्य अनुसार खर्च नहुने बताएका छन्। बजेटको मध्यावधि मूल्यांकन गर्दै मन्त्री पौडेलले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेटमध्ये १५ खर्ब ४९ अर्ब ९९ करोड मात्र खर्च गर्न सकिने बताएका हुन्।
‘चालु आवमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको सरकारी खर्च हुने अनुमान गरिएकामा १५ खर्ब ४९ अर्ब ९९ करोड मात्र खर्च हुने संशोधित अनुमान छ,’ पौडेलले भने ।
पौडेलका अनुसार विनियोजनमध्ये २ खर्ब ४४ अर्ब खर्च हुन सक्दैन ।
यस्तै चालुतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड विनियोजन भएकामा १० खर्ब २१ अर्ब ९२ करोडमात्र हुने पौडेलको अनुमान छ । पुँजीगततर्फ जेठ १५ मा ३ खर्ब ८० अर्ब ३८ करोड सुरु विनियोजन भएकामा ३ खर्ब १३ अर्ब ८५ करोड हुने संशोधित अनुमान छ । वित्तीय व्यवस्थामा २ खर्ब ३० २१ करोड रुपैयाँ छुट्याइएकोमा २ खर्ब १४ करोड मात्र खर्च हुने संशोधित अनुमान छ ।
पौडेलले राजस्व संकलनको अनुमान पनि घटाएका छन् । सरकारले १४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ संकलनको लक्ष्य राखेकामा वर्षभर १२ खर्ब ४४ अर्ब ७५ करोड संकलन हुने अनुमान छ ।