‘टर्कीलाई सहयोग गर्न नेपाल चुक्नु हुँदैन’

भूकम्पको विनाश

‘टर्कीलाई सहयोग गर्न नेपाल चुक्नु हुँदैन’

भूकम्पले ठूलो मानवीय क्षति पुगेको छ। साथै, मनोवैज्ञानिक रूपमा धेरै असर गरेको छ।

टर्कीमा भूकम्पपछिको अवस्था के छ ? 
यहाँ भूकम्प गएको एक हप्ता भयो। केही दिनसम्म त यहाँ सबै जना रनभुल्लमा थिए। कसरी उद्धार गर्ने ? के गर्ने ? कसो गर्ने ? अन्योलतापूर्ण अवस्था थियो। सरकार पनि अलमलमै पर्‍यो। भूकम्पका कारण ठूलो क्षेत्र प्रभावमा पर्‍यो। ठूल्ठूला भवन भत्किएका छन्। धेरै मानिस भग्नावशेषमा परे। देश नै भूकम्पमा परेकाले यहाँका नेपाली पनि प्रभावित भयौं। भूकम्पपछि दैनिक उपयोग्य वस्तुको अभाव छ। मूल्यवृद्धि भएको छ। धेरै उत्पादन हुने क्षेत्रमै भूकम्प गयो। त्यसकारण पनि गाह्रो भइरहेको छ। व्यक्तिगत र पारिवारिक रूपमा त अरू समस्या छैनन्। 

त्यहाँ पराकम्पनहरू निरन्तर गइरहेका छन् भन्ने समाचार आइरहेका छन् नि ?

हो, पराकम्पन छिन्छिन्मा आइरहेका छन्। यसकारण यहाँ मानसिक रूपमा ठूलो असर परिरहेको छ। कसैलाई त के गरौं ? के भयो ? भन्नेसमेत थाहा छैन। पराकम्पले ‘ट्रमा’ असर पारेको छ। सहयोग संकलन गर्ने केन्द्र नजिकै भए पनि प्रभावित व्यक्ति त्यहाँ पुग्न सकिरहेका छैनन्। विछिप्त भएर घाइतेहरू केन्द्रमा सम्म जान सकेका छैनन्। अर्कोतिर भूकम्पमा परी निधन हुनेको संख्या पनि बढिरहेको छ। कतिपय अझै उद्धारको पखाइमा छन्। उद्धार पनि भइरहेका छन्। 

भूकम्प प्रभावितलाई खान, बस्नको समस्या परेको छ कि ? 
विद्यालयको डेपुटी डाइरेक्टरका अनुसार भूकम्पको केन्द्रविन्दु गाजियान्टेपमको दुई सय किलोमिटर आसपासमा केही पनि संरचना बाँकी छैनन्। होटल, रेस्टुरेन्ट, विद्यालय सबै तहसनहस भएका छन्। खाना खाने र बस्ने काम सामूहिक रूपमा भइरहेको छ। त्यहाँका सबै जना टेन्टमा बस्ने गरेका छन्। खेलमैदानमा टेन्ट राखिएका छन्।

गाउँको भित्र–भित्रमा पुग्न बाँकी छ। अझै पनि जान सकिएको छैन। गाह्रो अवस्था छ। सरकारले, रेडक्रस, दैवी उद्धार प्रकोपले भोलेन्टरमार्फत काम गरिरहेका छन्। सहरमा गाडीभित्रै पनि खान बस्ने सुविधा छ। उद्धारमा दसौं हजार मानिस मोबिलाइजेसन भएका छन्।
 
राहत, उद्धारका काम के कसरी भइरहेका छन् ? 
विभिन्न दातृ निकायको सहयोगमा राहत र उद्धारको काम भइरहेको छ। ठूलो प्रकोप भएकाले समस्या छ। उद्धार गर्न पनि धेरै समय लाग्ने भयो। सरसर्ती हेर्दा उद्धार कार्य ढिलो भएको देखिन्छ। तर, उद्धारका काम नभएको होइन, जतिसक्दो छिटो उद्धारको कार्य भएको भए धेरै मानिस जीवितै उद्धार गर्न सकिने सम्भावना हुन सक्थ्यो। 

उद्धार गरिएकालाई सुरक्षित स्थानतर्फ राख्ने व्यवस्था के कस्तो गरिएको छ ? 
प्रायःजसो अर्को ठाउँमा मुभ भइसकेका छन्। धेरै मानिस सुरक्षित स्थानमा गइसकेका छन्। नेपालीहरू पनि धेरै जना सुरक्षित स्थानमा गइसक्नुभएको छ। केही विद्यार्थी गइसक्नुभएको छ। एक जना विद्यार्थी उद्धार भएर स्तानबुल आइपुग्नु भएको छ। भूकम्प गएकै दिनदेखि व्यावसायिक उडान रोकेर एयरलाइसन्सले पनि सस्तो शुल्कमा उडान गरेका छन्। प्रभावित धेरै भएकाले अन्यत्र लैजान पनि अलमल परिरहेको छ। 

उद्धारका कार्यमा कठिनाइ भइरहेको छ ? 
दक्ष प्राविधिक पर्याप्त उपलब्ध नभएकाले उद्धार कार्य प्रभावित भएको देखिन्छ। दक्ष व्यक्ति उद्धारमा खटिएको अवस्थामा र छिटो उद्धार हुँदा धेरै मानिसको ज्यान जोगाउन सकिन्थ्यो। सरकारले द्रुत गतिमा उद्धार गर्न नसकेको हो कि भन्ने लाग्छ। अन्तर्राष्ट्रिय समुदायहरूले पनि तदारुकताका साथ उद्धार नगरेका हुन् कि भन्ने लागिरहेको छ। उद्धार कार्यमा कठिनाइ भइरहे पनि उद्धार कार्य जारी नै छ। 

भूकम्पले नेपालीहरू कत्तिको प्रभावित भएका छन् ? 

नेपाली ३३ जना सम्पर्कमा आउनुभएको छ। भूकम्पमा कति नेपाली परे भन्ने यकिन छैन। यहाँ कति नेपाली छन् भन्ने पनि वास्तविक तथ्यांक हामीसँग छैन। कतिपय नेपाली सम्पर्कमा आउन चाहन्नन्। सम्पर्कमा आउन नचाहनुमा विभिन्न कारण होलान्। जति सम्पर्कमा हुनुहुन्छ, सबै जना सुरक्षित हुनुहुन्छ। हामीले आर्थिक, खाद्यन्न सहयोग गरेका छौं। कतिपय मानसिक रूपमा विछिप्त हुनुहुन्छ। हामीले डाडस दिइरहको छौं। विद्यार्थीलाई राहत दिइरहेका छौं। सहयोग पठाउन थालेका छौं। १५ जनालाई सोमबार राहत दिने तयारी छ। थप संकलन भयो भने अन्य प्रभावित विद्यार्थी तथा घरेलु कामदारलाई राहत दिने छौं। 

एक हप्ता बितिसक्दा जीवितै उद्धार गर्न सकिने सम्भावना कत्तिको देख्नुहुन्छ ? 

सम्भावना धेरै कम देख्छु। ढलानका घर छन्। भुइँमा बस्दा चिसोले पनि समस्या पार्छ। अन्य प्राविधिक कारणले पनि अब जीवितै उद्धार हुने सम्भावना खासै देखिँदैन। तर, १ सय २८ घण्टापछि पनि जीवितै उद्धार भएको देखियो। अझै ढिलाइ गर्दा पर्खाइमा रहेकाहरूले अकारण मृत्युवरण गर्नुपर्ने स्थिति हुन सक्छ। लाखौं मानिस प्रभावित भएकाले उद्धारमा ढिलाइ भएको हुन सक्छ। 

राहत र उद्धारका लागि तपाईंहरू के गर्दैं हुनुहुन्छ ? 
गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय समितिमध्ये हामी सबैभन्दा कान्छो संस्था हौं। टर्कीको एनआरएन कान्छो भएकाले पनि बलियो छैनौं। यहाँ नेपालीहरू प्रायः ट्रान्जिटका लागि आउँछन्।  अन्यत्र काम गर्न जानका लागि यहाँ ट्रान्जिट मात्र हुने हो।

  • भूकम्पले ठूलो मानवीय क्षति पुगेको छ। साथै, मनोवैज्ञानिक रूपमा धेरै असर गरेको छ। त्यसबाट बाहिर ल्याउन विशेष अभियान चाल्नुपर्ने देखिन्छ।
  • नेपालीहरू पनि धेरै जना सुरक्षित स्थानमा गइसक्नुभएको छ। केही विद्यार्थी गइसक्नुभएको छ। एक जना विद्यार्थी उद्घार भएर स्तानबुल आइपुग्नु भएको छ। 
  • विश्व स्वास्थ्य संगठनअनुसार भूकम्पमा परी ५० हजार मानिसको निधन हुने आँकलन गरिएको छ। आइतबारसम्म ३० हजार जनाको निधन भइसकेको छ। 

हामीले अन्तर्राष्ट्यि समन्वय समितिसँग सहकार्य गरिरहेका छौं। एनआरएनाएका धेरै पदाधिकारी साथीहरू राहत र उद्धार कार्यका लागि फिल्डमै खटिनुभएको छ। राहत सामग्री बाँड्न सहयोग गरिरहनुभएको छ। भोलिसम्म म पनि प्रभावित क्षेत्रमा पुग्दैछु। तत्कालका लागि संस्थामार्फत ३ सय ५० बल्यांकेट, सिल्पिङ ब्याग, मेसिन तयार पारेका छौं।

एउटा टिम आइतबार गइसकेको छ। त्यहाँ पुगेर राहत बाँडेर फर्किहाल्ने भन्दा पनि लामो समय बसेर भावानात्मक र नैतिकताका आधारमा सहयोग गर्ने आत्मबल बढाउने काम गर्दै छौं। गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय समितिले पनि टर्कीका लागि राहतका सामग्री पठाउने घोषणा गरेको छ। युरोप, अमेरिकाका साथीहरूले पनि सहयोग गर्ने तयारी गरिहेका छन्। 

अन्तर्राष्ट्रिय समुदायले भूकम्पपछि उद्धार र राहतमा कत्तिको ध्यान दिएको पाउनु भएको छ ? 
एक वर्षअघि रसिया र युक्रेनको द्धन्द्ध भएको थियो। टर्कीले रसिया र युक्रेनलाई मिलाउन धेरैपटक समन्वयकर्ताको भूमिका खेलेको छ। दुवै देशका प्रतिनिधिलाई बोलाएर द्धन्द्धबाट पछि हट्न आह्वान गरेको थियो। यस बेला टर्कीले १० लाख रसियनलाई आश्रय दियो। रेडक्रस, स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघले सहयोगको आह्वान गरेका छन्। ती निकाय आफैं पनि खटिएका छन्। ६५ वटा देशले सहयोग गर्ने घोषणा गरेका छन्।

अहिले यहाँ मेडिकल सहयोग अपरिहार्य भएको छ। यहाँ आवश्यक पर्ने सम्पूर्ण कुरा संयुक्त राष्ट्र संघले समन्वय गरिरहेको छ। संयुक्त राष्ट्र संघले सार्वजनिक रूपमा आह्वान गरे पनि उसको आलोचना भइरहेको छ। आफ्नो फेभरमा हुनेलाई सहयोग गर्ने, नहुनेलाई वास्ता नगर्ने गरेको हामीले पनि देखेका छौं। हालसम्म ३० हजार जनाको मृत्यु भएको छ। यसको असर धेरै वर्षसम्म पर्न सक्छ। अन्तर्राष्ट्रिय निकायले धेरै वर्षसम्म सहयोग गर्नुपर्ने हुन्छ। मानवीय नाताले पनि यतिखेर टर्कीलाई दिल खोलेर सबैले सहयोग गर्नुपर्छ। 

एक हप्ता बितिसक्दा पनि अझै मर्नेको संख्या बढ्दै गएको देखिन्छ, उद्धारको काम कहिलेसम्म हुने देख्नुहुन्छ ? 
विश्व स्वास्थ्य संगठनअनुसार भूकम्पमा परी ५० हजार मानिसको निधन हुने आँकलन गरिएको छ। आइतबारसम्म ३० हजार जनाको निधन भइसकेको छ। उद्धार कार्य अझै भइरहेकाले मृतकको संख्या बढ्ने देखिन्छ। संगठनको आँकलन आसपासमै मृतकको संख्या पुग्ने अनुमान भइरहेका छन्। यहाँका सहर, विद्यालय, सार्वजनिक सम्पदालगायत तहसनहस भएका छन्। भूकम्प बिहानीपख सुतेकै बेला गएकाले अपुरणाीय क्षति पुगेको हो। 

टर्की सरकारले भूकम्पको व्यवस्थापनमा कत्तिको सक्रियता देखाएको पाउनुभएको छ ? 
अहिले विशेषगरी विभिन्न देशले सहयोग गरेको पनि टर्कीले फिर्ता गरेको सुन्नमा पाएका छौं। टर्कीले यस्तो गर्न हुँदैनथ्यो। छिमेकी देशसँग वैमनस्यता छ भने यस्तो बेला सम्बन्ध सुधार गर्नुपर्छ। मानवीय नाताले सहयोग लिने, दिने गर्नुपर्छ। आफैं समस्यामा परेको टर्कीले वैमनस्य राखी सहयोग अस्वीकार गर्नु शोभनीय कुरा होइन। एक देश, अर्को देशभन्दा पनि दुवै देशका नागरिकलाई केन्द्रविन्दुमा राखेर सहयोग गर्नुपर्छ। अन्तर्राष्ट्रिय समुदायले दिल खोलेर सहयोग गर्नुपर्छ।

टर्कीले पनि जुनसुकै देशले दिए पनि सहयोग स्वीकार गर्नुपर्छ। यसअघि खराब सम्बन्ध भए पनि पीडाको बेला सम्बन्ध सुधार गर्न टर्की सरकारले वैमनस्यता राख्नु हुन्न। भूकम्पमा फसेका मानिस र उद्धार गरिएका मानिसको व्यवस्थानपन कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण हो। वर्षाैंसम्म पनि मेडिकल, शिक्षा, स्वास्थ्य, आवासमा सहयोग चाहिन सक्छ। भूकम्पपछि पुनर्निर्माण गर्न धेरै वर्ष लाग्ने भएकाले मिलेर नमुना योग्य काम गर्नुपर्छ। नयाँ ढंगबाट समन्वय अनुरोध गर्दैछु। 

नेपालमा पनि २०७२ सालमा उस्तै प्रकृतिको भूकम्प आएको थियो। तर, त्यहाँ मानवीय क्षति बढी हुनुको कारण के देख्नुहुन्छ ? 
नेपाल र यहाँ उस्तै प्रकृृतिको भूकम्प आएको छ। तर, यहाँ बढी नै क्षति भयो। यहाँका संरचनाहरू मापदण्डभित्रका पनि भत्किए। नेपालमा अझै पनि पुनर्निर्माणका काम भइरहेका छन्। नेपालले टर्कीलाई आफ्नो अनुभवका आधारमा पनि सहयोग गर्नुपर्छ। नेपालले तत्काल मेडिकल टिम पठाएर टर्कीको घाउलाई मलम लगाउनुपर्छ। सकेको आर्थिक सहयोग पनि गर्नुपर्छ। २०७२ को नेपालको भूकम्पका बेला टर्कीले पनि अग्रपंक्तीमा रहेर सहयोग गरेकाले नेपाललाई कृतज्ञता जाहेर गर्ने अवसर आएको छ। मानवीय तथा नैतिकता देखाउने अवसरबाट नेपाल चुक्नु हुँदैन। 

शताब्दकीकै ठूलो क्षति भयो, मनोवैज्ञानिक त्रासबाट कसरी उम्किन सकिन्छ ?
भूकम्पले ठूलो मानवीय क्षति पुगेको छ। साथै, मनोवैज्ञानिक रूपमा धेरै असर गरेको छ। त्यसबाट बाहिर ल्याउन विशेष अभियान चाल्नुपर्ने देखिन्छ। त्यहाँबाट बाहिर निकाल्न अन्य सहरका मानिसहरू समन्वय गरेर खट्नुपर्छ। भोलेन्टिर भई गएर आत्मबल बढाउनतर्फ लाग्नुपर्छ।

कतिपय मानिस ‘होपलेस’ भएका छन्। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय समुदायले पनि नैतिक रूपमा सहयोग गर्ने, ढाडस दिने र मनोवैज्ञानिक रूपमा प्रोत्साहन दिन सके मानिस पुरानै अवस्थामा आउन धेरै समय लाग्ने छैन। भूकम्प प्रभावित क्षेत्रका मानिसले सञ्चारमाध्यम हेर्न, सुन्नसमेत पाएका छैनन्। काउन्सिलका अवसर दियो भने राहत महसुस हुने छ।  

-प्रस्तुति : तुलसी सुवेदी 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.