सुत्केरी हुन नसकेकी महिलाको हेलिकोप्टरबाट उद्धार
धार्चे गाउँपालिका वडा नम्बर २ रून्चेतकी २२ वर्षीया अनिता गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल काठमाडौं पुर्‍याइएको छ।
गोरखाः सुत्केरी व्यथाले सताएकी गोरखाकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
धार्चे गाउँपालिका वडा नम्बर २ रून्चेतकी २२ वर्षीया अनिता गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल काठमाडौं लगिएको हो।
केरौंजास्थित स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि आफन्तहरुको अनुरोधमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं ल्याएको सो क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईँले जानकारी दिए।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत पछि खर्च व्यवस्थापन गर्ने गरी अहिले आफूले समन्वय गरेर महिलाको उद्धार गरेको उनले बताए।
उनका अनुसार सडक सञ्जालबाट टाढा रहेको र भौगोलिक रुपमा पनि दुर्गममा रहेको उत्तरी गोरखामा सुत्केरी हुन नसकेका महिलालाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने बाध्यता छ।
हेलिकोप्टरबाट उद्धार गर्ने प्रक्रिया झञ्झटिलो हुँदा कहिलेकहीँ महिलाहरुको मृत्यू समेत हुने गरेकाले आफू खटेर उद्धार गर्ने गरेको उनको भनाइ छ।