विष्णु र प्रिन्स सेमिफाइनलमा
विराटनगर : नेपाल पुलिस क्लबका विष्णु कटुवाल र प्रिन्स दाहाल विराटनगरमा जारी लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्।
विष्णु एपिएफका देवराज रानालाई २४-२२ र २१-१० पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन्। प्रिन्सले भने पुलिसकै सुनिल जोशीलाई २१-११ र २१-८ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन्।
खेलाडीहरू त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जन पनि सेमिफाइनलमा प्रवेश गरेका छन्। प्रफुलले कास्कीका विधान अधिकारीलाई २१-१४, २१-१२ र रुकेशले एपिएफका क्षितीज खनाललाई २२-२०, २१-१३ ले पराजित गरेका छन्। फाइनलको यात्रा तय गर्न विष्णुले प्रफुल र प्रिन्सले रुकेशको सामना गर्नुपर्ने छ।
खेलको शुक्रबार भएको प्रतियोगितामा शीर्ष १२ वरियता बाहेकको महिला एकलतर्फ राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले एपिएफकी सुनयना मुखियालाई २१-१६, २१-१३ ले पराजित गरेकी छिन्।
मुखियालाई पराजित गर्दै महर्जनले सेमिफाइनलमा एपिएफकी जेशिका गुरुङसँगको भेट पक्का गरेकी छिन्। इटहरीमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा पनि दुईबीच सेमिफाइनल प्रतिस्पर्धा भएको थियो। जसमा जेशिकाले जित हात पारेकी थिइन्।
यस्तै, अर्को प्रतिस्पर्धामा आर्मीकी अनुमाया राईले पुलिसकी नीता लम्साललाई २१-१६, २१-१५ ले पराजित गरी सेमिफाइनलको यात्रा तय गरेकी छिन्। अब हुने खेलमा उनले आर्मीकै प्राथना देउवासँग प्रतिस्पर्धा गर्नुपर्ने छ।
पुरुष एकल शीर्ष वरियता १६ देखि बाहेकतर्फ आर्मीका हिमाल चन्दले एपिएफका अमन महर्जनलाई २१-१८, २२-२० ले तथा आर्मीका पविन लिनथेपले एपिएफका अरुण अधिकारीलाई २१-१८, २१-८ ले पराजित गर्दै सेमिफाइनलको भेट पक्का गरेका छन्।
अर्को खेलमा एपिएफका प्रनिश सिंह ठकुरीले मोरङका बिवेक चौधरीलाई २१-८, २१-१८ ले तथा एपिएफका सुजन थापाले उदयपुरका विनय चौधरीलाई २१-१४, २०-२२, २१-५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका छन्।
पुरुष यु १७ तर्फको खेलमा एपिएफका रोशन साउद, ललितपुरका लक्ष्मण राना, दाङका सनौला रैनी र आर्मीका अनिल मल्ल सेमिफाइनलमा प्रवेश गरेका छन्।
साउदले आर्मीका अभय महरालाई २१-१४, २१-९, रानाले आर्मीका कविर केसीलाई १६-२१, २१-१८, २१-१३, रैनीले मोरङका सुप्रिम पन्तलाई २१-१७, २१-११ र मल्लले उदयपुरका विनय चौधरीलाई २६-२४, २१-१८ ले पराजित गरेका छन्।
यस्तै महिलातर्फ आर्मीर्की रिहाना शेरचनले मोरङकी भावना गुरुङबाट वाकओभर प्राप्त गर्दै सेमिफाइनलमा स्थान बनाएकी छिन्।
कास्कीकी निभा राईले पिएसबिसीकी आयुषा नेपाललाई २१-१८, २३-२१, आर्मीकी टिशा रानी शाक्यले बेलटार ब्याडमिन्टन एकेडेमीकी नितिशा रेयका मगरलाई २१-१७, २१-१० र ताप्लेजुङकी नुमा लिम्बुले एपिएफकी रन्जु रानालाई ११-२१, २२-२०, २१-१९ ले पराजित गर्दै संघर्षपूर्ण जित निकालेकी छिन्।
५५ वर्ष माथिको युगलतर्फ भने सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङ, कास्कीका रमेश भट्टचन र खोटाङका दीपक राई, पाँचथरका रामराज आङदम्बे र संजय भक्तराज तथा बीबीसीका केशव कार्की र आरके सिंहले पनि सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेका छन्।